तरकारीको मूल्यमा व्यापारीको मनपरी

सुर्खेतमा मूल्यवृद्धि चुलियो


स्काई न्यूज /चैत ७, सुर्खेत ।
बजारमूल्य हस्तक्षेप तथा नियन्त्रण गर्न सरकारले हरेक वर्ष बजेट विनियोजन गरे पनि महँगी नियन्त्रणमा आउन सकेको छैन । यसको सट्टा बजारमूल्य वर्षेनी बढेको बढ्यै छ । सुर्खेत जिल्लाका प्रमुख व्यापारी केन्द्रहरुमा पछिल्लो समय तरकारीको मूल्य एकाएक वृद्धि भएको छ । दैनिक भान्सामा प्रयोग हुने तरकारीको मूल्य बढेपछि उपभोक्ता आक्रोशित बन्दै गएका छन् । व्यापारीले तरकारीमा मनपरी मूल्य कायम गरेको भन्दै यसलाई नियन्त्रण गर्नुपर्ने उपभोक्ताको माग छ । विगत एक महिनादेखि सुर्खेत हरियो तरकारीको मूल्य अस्वभाविक रुपमा बढेको उपभोक्ताको गुनासो छ । तरकारीको मूल्य बढेपछि यहाँका होटल तथा स्थानीय उपभोक्ता बढी मारमा परेको राष्ट्रिय उपभोक्ता मञ्च कर्णाली प्रदेश महिला विभाग प्रमुख कुमारी भुसालले बताईन् । उनले भनिन्, ‘उपभोक्ताको मागअनुसार तरकारी आउन छोड्यो, व्यापारीले मनपरी मूल्य काम गरे नियन्त्रण गर्ने कसले ? ।’ यसैगरी तरकारीसँगै फलफूलको मूल्यमा समेत वृद्धि भएको बताइएको छ । फलफूलहरुमा स्याउ, अनार, सुन्तलालगायतका मूल्य बढेको उपभोक्ताको गुनासो छ । स्थानीय उपभोक्ता राजु केसीका अनुसार यहाँका तरकारी बजारमा सबैभन्दा बढि गोलभेँडाको भाउ बढेर प्रतिकिलो १ सय तथा प्याजको मूल्य पनि रु १ सय पुगेको छ । केही दिन पहिले प्रतिकिलो रु ६० मा पाउने गरेको गोलभेँडा एकाएक दुई गुणाले वृद्धि भएको अर्का उपभोक्त हरिकला विकले बताईन् । उनले भनिन्, ‘सबैभन्दा बढी प्रयोग हुने प्याज र गोलभेंडा हो, त्यसैको भाउ बढेपछि कसरी घर खर्च चलाउने ।’ पर्याप्त मात्रामा पानी नहुँदा यहाँका कृषकले बेमौसमी तरकारी खेती निकै कम गर्दै आएका कारण तराईबाट तरकारीलगायत अन्य सामग्री आयात गर्नुपरेकाले मूल्यवृद्धि भएको ओली स्टोर्सका व्यापारी सृजना ओलीले बताईन् । । उनले भनिन्, ‘अहिले गाउँबाट तरकारी खासै आउँदैन, तराईबाट तरकारी आयात गर्नुपरेका कारण मूल्य वृद्धि भएको हो, तराईमै मूल्य बढेका कारण यहाँ पनि मूल्य बढेको हो ।’ छिमेकी जिल्ला बर्दिया, बाँके, र भारतको रुपैडियाबाट यहाँ वर्षेनी तरकारी आयात गरिँदै आएको छ । त्यस्तै बजारमा अहिले आलु प्रतिकिलो ५०, लौका प्रतिकिलो ७०, हरियो खुर्सानी प्रतिकिलो १५०, स्मिला प्रतिकिलो ८० रहेको तरकारी व्यापारी बताउँछन् । यति मात्र नभई यहाँको बजारमा तरकारीको मूल्य एकरुपता नभएका कारण व्यापारीले पसलैपिच्छे तरकारीको मूल्य अलग–अलग लिने गरेको उपभोक्ताको गुनासो छ । वीरेन्द्रनगरका स्थानीयवासी डिलबहादुर खत्रीका अनुसार यहाँका तरकारी पसलमा पसलैपिच्छे अलग–अलग मूल्य लिइँदै गरेको छ । मूल्यमा एकरुपता ल्याउनका लागि सम्बन्धित निकायले कुनै चासो देखाएको छैन् । मूल्यवृद्धि भएका वस्तुमध्ये यी त केही उदाहरण मात्र हुन् । राजनीतिक अस्थिरतासँगै बजारमूल्यमा चलखेल बढ्दो छ । मूल्य बढ्नुका खास कारण नभए पनि व्यवसायीले आफूखुसी मूल्य तोकेका छन् । बजारमा तरकारी, तेल र खाद्यन्नको मूल्य वृद्धि अनियन्त्रित भए पनि यो साता यससँग सम्बन्धित बजार अनुगमन भने कुनै निकायबाट हुन सकेको छैन । तरकारी, खाने तेल र खाद्यन्नको मूल्यले उपभोक्ताको ढाड सेकिएको बेला जिल्लास्थित बजार अनुगमन समितिले अनुगमनलाई प्रभावकारी बनाउन नसकिएको उपभोक्ताको गुनासो छ । ‘मूल्य बढ्नुको एउटै कारण राजतीनि नै हो’, स्थानीय उपभोक्ता वीरबहादुर बयकले भने, ‘त्यसैको मौकामा ठगी गर्ने व्यवसायी थप सलबलाएका छन् । जिल्ला बजार अनुगमन टोलीको तथ्यांकले बजारमा कालोबजारी, कृत्रिम अभाव, मिसावट, नापतौलमा ठगी, म्याद नाघेका सामान खुलेआम बिक्री हुँदा उपभोक्ता अधिकार सुरक्षित हुन नसकेको देखाउँछ । खाद्यान्न, स्वास्थ्य, शिक्षा, खानेपानी, इन्धनलगायतका क्षेत्रमा दिनप्रतिदिन उपभोक्ता ठगिने क्रम रोकिएको छैन । कोरोना भाइरस (कोभिड–१९) पश्चात समेत व्यवसायीले अधिकांश वस्तुमा अस्वाभाविक मूल्य बढाउँदा त्यसको प्रत्यक्ष प्रभाव उपभोक्तामा पर्न गएको हो । बजारमा खाने तेल, चामल, दाल, चिनी, निर्माण सामग्री लगायतका दैनिक उपभोग्य वस्तुमा मूल्य बढेको छ । पछिल्लो समय बजारमा खाने तेलको मूल्य सबैभन्दा धेरै बढेको छ । पछिल्लो समयमा सबैभन्दा धेरै खाने तेलको मूल्य प्रतिलिटरमा ५० देखि ६० रुपैयाँ बढेको छ । भारत सरकारले पाम आयल आयातमा प्रतिबन्ध लगाएसँगै बजारमा तेलको मूल्य बढ्न थालेको हो । अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य बढेर आएको खाने तेलको मूल्य बढ्न गएको व्यवसायीको भनाइ छ । बजार अनुगमन र नियमन गर्ने जिम्मेवारी पाएको जिल्ला बजार अनुगमन समितिले प्रभावकारी रूपमा बजारमा अनुगमन नगर्दा बजार व्यवस्थित हुन नसकेको उपभोक्ता अधिकारकर्मीको भनाइ छ । ‘बजारमा खाने तेल चिनी, खाद्यान्न लगायतका वस्तुमा व्यवसायीले अस्वाभाविक मूल्य बढाउँदा पनि अनुगमन समितिले मूल्य नियन्त्रण गर्न सकेको छैन,’ उपभोक्ता अधिकारकर्मी नवराज देवकोटाले भने, ‘हरेक क्षेत्रमा उपभोक्ताको अधिकार हनन हुनुका साथै ठगिने क्रम रोकिएको छैन् ।’ उनले पछिल्लो ६ महिनाको अवधिमा बजारमा सबैभन्दा धेरै खाने तेल, मासको दाल, रहर दाल, मसुरोको दालको मूल्य बढेको बताए ।

Translate »