आयुर्वेद औषधिलाई व्यवस्थि गर्न व्यवसायीको माग

समृद्धिका लागि कर्णालीको जडीबुटी


स्काई न्यूज / चैत १४, सुर्खेत ।
विकासका धेरै सम्भावना भएको प्रदेश कर्णाली नै हो । कृषि, ऊर्जा, उद्योग, पर्यटन आदि सबै क्षेत्रको विकासको लागि यहाँ धेरै सम्भावना छन् । विगतमा सत्तामा गएपछि विभिन्न राजनीतिक पार्टीका नेताहरुले कर्णालीलाई स्विट्जरल्यान्ड वा सिंगापुर बनाउने कुरा गरे । त्यो सोचाइ काल्पनिक पनि थिएन । कर्णाली जलसम्पदामा धनी भएकाले बिजुलीको विकासले कृषि, उद्योग, यातायात र अरु सबै क्षेत्रमा विकास हुन सक्ने सजिलैसित अन्दाज गर्न सकिन्छ । जडिबुटीका दृष्टिकोणले समेत धनी भएकाले तिनीहरुको आधुनिकीकरण गरेर औषधीको उच्च स्तरमा उत्पादन गर्न सकिन्छ र त्यो राष्ट्रिय आम्दानीको ठूलो स्रोत बन्न सक्छ,’ शनिबार सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न आयुर्वेद औषधि व्यवसायी संघ कर्णाली प्रदेशको प्रथम साधारण सभा तथा वार्षिक समिक्षा कार्यक्रमका सहभागिहरुले यस्तो बताएका हुन् ।’ कार्यक्रममा कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय आयुर्वेद स्वास्थ्य शाखा प्रमुख लक्ष्मी नारायण तिवारीले कर्णालीका आयुर्वेद औषधि तथा उपचारमा सर्वसाधारणको आकर्षण बढेसँगै यसको बजार क्षेत्र समेत बढेको बताए । उनले कोरोना कालमा सामाजिक विकास मन्त्रालय अन्तर्गत करिब अढाई करोड बढीको आयुर्वेद औषधि उपभोग गरिएको जनाए । ‘आयुर्वेद औषधिको माग बढ्दो क्रममा रहेकाले आयुर्वेद औषधि व्यवसायीले यसको बजारका बारेमा अध्ययन गरेर लगानी बढाउन सक्नु पर्छ,’ उनले भने, ‘कर्णालीकै जडिबुटी बाहिर प्रशोधित भएर औषधि बनेर आउँदा यहाँका जडिबुटी व्यवसायीले ३० प्रतिशत र बाँकी  ७० प्रतिशत मुनाफा बाहिरका व्यापारीले पाईरहेका छन् ।’ उनले कर्णालीमा आयुर्वेद औषधिको बजार विस्तार भईरहेकाले व्यवसायीले दिर्घकालिन सोचका साथ अघि बढ्न सुझाव दिए । कार्यक्रममा प्रदेश आयुर्वेद औषधालयका प्रमुख डाक्टर शंकरप्रसाद रिजालले कर्णालीमा जडिबुटी संकलन तथा प्रशोधन केन्द्र नहुँदा आयुर्वेद औषधि बाहिरबाट मगाउनु पर्ने बाध्यता रहेको बताए । उनले पछिल्लो समय आयुर्वेदको बजार क्षेत्र विस्तार भएपनि कर्णालीबाटै गएका जडिबुटीको लाभ अन्य प्रदेश र भारतीयले लिईरहेको जिकिर गरे । ‘कर्णालीमा ७० प्रतिशत जडिबुटीको भण्डारण भएपनि संकलन तथा प्रशोधन केन्द्र नहुँदा यसको लाभ बाहिरका व्यापारीले पाईरहेका छन्,’ उनले भने, ‘अब सरकारी तथा नीजि क्षेत्रले जडिबुटी संकलन तथा प्रशोधन केन्द्र सञ्चालन गरेर बाहिरबाट औषधि ल्याउने होइन, की आफ्नै प्रदेशबाट निर्यात गर्ने वातावरपण बनाउनु पर्छ ।’ उनले कर्णालीका जडिबुटीबाट बनेका औषधि पुनः प्रशोधित भएर कर्णालीमै आउने गरेको जानकारी दिए । उनका अनुसार अहिले अधिकांस आयुर्वेद औषधि कर्णालीकै जडिबुटीबाट बनेपनि त्यो सबै बाहिरबाटै आउने गरेको छ ।

उनले कर्णालीको जडिबुटी कौडीको भाउमा बेचेर महँगोमा किन्नु पर्ने बाध्यता रहेको बताए । यता सुर्खेत उद्योग वाणिज्य संघका महासचिव लक्ष्मण कँडेलले नीजि क्षेत्र कर्णालीको जडिबुटी संकलन तथा प्रशोधन गर्न तयार भएपनि सरकार नै बाधक रहेको बताए । उनले विभिन्न बहाना बनाउँदै सरकारले विगत ५ वर्षदेखि निर्माधिन अबस्थामा रहेको वीरेन्द्रनगरस्थित ८ कट्टा क्षेत्रफलमा फैलिएको जडिबुटी संकलन तथा प्रशोधन केन्द्र अधुरै रहेको जनाए । ‘सरकारले कर्णालीका जडिबुटी संकलन तथा प्रशोधन केन्द्रका लागि अनुदान दिन नसके सहुलियत व्याज दर उपलब्ध गराई दिएमा व्यवसायी आफ्नै लगानीमा सञ्चालन गर्न सक्छन्,’ उनले भने, ‘सरकारले अनुदान र सहुलियत ऋण उपलब्ध गराउन नसक्दा कर्णालीको जडिबुटी कौडीको भाउमा विक्री गर्नुपर्ने बाध्यता रहेको छ ।’ उनले कर्णालीमा पाईने नौ सय प्रजातिका जडिबुटीको संकलन तथा प्रशोधन यहाँ गर्न नसक्दा कौडीको भाउमा भारतीय व्यापारीलाई विक्री गर्नु परिरहेको जनाए । उनका अनुसार अहिलेपनि जडिबुटीको विक्री वितरणमा सरकारले नै कानूनी अड्चन खडा गराई दिएर समस्या बनाई दिएको छ । कतिपय जडिबुटी कानूनी अड्चनकै कारणले कर्णालीमै कुहिएर जाने गरेको उनको भनाइ छ । नेपाल औषधि व्यवसायी संघ कर्णाली प्रदेश अध्यक्ष कविराज कँडेलले एलोपेथिक र आयुर्वेद औषधि व्यवसायी एक आपसमा मिलेर सामुहिक हक, हित र अधिकारका लागि अगाडि बढ्न आवश्यक रहेको औल्याए । नेपाल आयुर्वेद औषधि व्यवसायी संघका केन्द्रिय प्रतिनिधि कविन्द्रप्रसाद अधिकारीले आयुर्वेद औषधि विक्री वितरणमा गैर आयुर्वेद व्यवसायीको प्रवेशले व्यवसायीलाई बद्नाम गरिरहेकाले कानूनको परिधि भित्र रहेर व्यापार व्यवसाय गर्न सुझाव दिए । उनले नागरिकस्तरबाट माग बढ्दो क्रममा रहेपनि राज्यबाटै आयुर्वेद औषधिलाई दोस्रो दर्जाको रुपमा हेरिने भएकाले विभिन्न समस्याहरु सृजित भईरहेकाले अब व्यवसायी सचेत हुन आग्रह गरे । उनका अनुसार विभिन्न बहानामा यत्रतत्र फैलिएको आयुर्वेद औषधि व्यवसायलाई राज्यले नै व्यवस्थि गरिदिएर आम नागरिकलाई गुणस्तरीय वस्तुको प्रयोग गर्न पाउनु पर्ने अधिकारलाई सुरक्षित गरि दिनु पर्छ । कार्यक्रममा नेपाल आयुर्वेद व्यवसायी संघ कर्णाली प्रदेश अध्यक्ष पूर्णप्रसाद आचार्यले सबैको सहयोग तथा समन्वयमा आयुर्वेद औषधिका नयाँ मूल्य मान्यता स्थापित गरेर नागरिकको भरपर्दो औषधि तथा उपचारका रुपमा विकास गर्न आफुहरु प्रतिबद्ध रहेको बताए । उनले आयुर्वेद औषधि व्यवसायलाई मर्यादित तथा सम्मानपूर्ण तरिकाले स्थापित गराएर देश र जनताको हितमा उपयोग गरिने जिकिर गरे ।

Translate »