‘कोरोनाले गरिबलाई झन गरिब बनायो’
स्काई न्यूज /चैत १७, सुर्खेत ।
कर्णालीका श्रमिक तथा श्रमिकका बालबालिका माथि कोभिड–१९ ले पारेको प्रभाव बारे वीरेन्द्रनगरमा छलफल गरिएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय काठमाडौंले मंगलबार वीरेन्द्रनगरमा आयोजना गरेको अभिमुखिकरण कार्यक्रममा औद्योगिक करिडोरमा रहेका श्रमिकसँगै श्रमिकका बालिबालिकालाई कोभिड–१९ को प्रभाव तुलनात्मकरुपले बढी परेको सरोकारवालाले बताएका छन् । कोरोना महामारी नियन्त्रणका लागि सरकारले लागु गरेको लकडाउनको प्रभाव सकारात्मक भएपनि दैनिक ज्यालादारी गरिखाने वर्ग प्रत्यक्ष प्रभावित हुँदा विभिन्न समस्याहरु देखा परेको उनीहरुको भनाइ छ । कर्णालीमा असंगठित श्रमिकको बाहुल्यतासँगै भारत प्रवासमा रहेका प्रवासी श्रमिक स्वदेश फर्केपछि उनका आश्रित बालबालिका शिक्षा दिक्षा एवं पोषणमा समेत समस्या देखिएको सरोकारवाले बताएका छन् ।
कोरोनाले प्रभाव पारेका श्रमिक तथा उनका बालबालिकाका लागि सरकारले प्याकेजमै सहुलियतपूर्ण कार्यक्रम ल्याउन आवश्यक रहेको उनीहरुको भनाइ छ । सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले कोरोनाले आम नागरिकको दैनिकीसँगै राष्ट्रिय अर्थतन्त्रमै प्रभाव पारिरहेकाले अझै सचेत र सतर्क हुन आवश्यक रहेको औल्याए । उनले जिल्लामा कोरोना रोकथाम तथा नियन्त्रणका लागि नाकामा चेकजाँच, स्वास्थ्य सतर्कता, स्थानीय तथा प्रदेश सरकारसँग समन्वय तथा रक्षात्मक रणनीति तयार पारेर अघि बढिएको जानकारी दिए । ‘अझै कोरोनाको संन्त्रास कायमै रहेकाले अझै ढुक्कसँग बस्न सक्ने स्थिति छैन् । आ–आफ्नो तर्फबाट हरेक नागरिकले कोरोनाबाट बच्न स्वास्थ्य सतर्कत तथा आवश्यक सुरक्षा अपनाउँदै कोरोना रोकथाम तथा नियन्त्रणमा जुट्नु पर्छ,’ उनले भने, ‘भारत प्रवासबाट स्वदेश फर्किने नागरिक कोरोनाको उच्च जोखिममा रहेकाले उच्च सतर्कता अनाउँदै दिनचर्या सम्पादन गर्नु पर्दछ । अझै जोखिम रहेकाले श्रमिक तथा श्रमिकका बालबालिकालाई यसको प्रभाव प्रत्यक्ष पढ्ने भएकाले पूर्व सावधानी अपनाउन आवश्यक छ ।’ उनले कोरोनाले श्रमिक तथा श्रमिकका बालबालिकामा परेको प्रभावलाई न्यूनिकरण गर्न स्थानीय, प्रदेश तथा संघीय सरकारबाट विशेष योजनासहितका दिर्घकालिन कार्यक्रम सञ्चालन गरिनुपर्नेमा जोड दिए ।
कार्यक्रममा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव पुरुषोत्तम अधिकारीले कर्णालीमा कोरोनाले श्रमिक तथा श्रमिकका बालबालिकामा पारेको प्रभाव, स्वास्थ्य मापदण्ड व्यवस्थापन, परिचालन एवं मानविय सुरक्षा सम्बन्धि गरिएका कार्यको अध्ययन गरि योजनबद्ध निवारण कार्यक्रम अघि बढाउन लागिएको जानकारी दिए । उनले कर्णालीका श्रमिक तथा श्रमिकका बालबालिकामा कोरोनाले पारेको प्रभाव न्यूनिकरणसँगै दिर्घकालिन सुरक्षाका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दातृ निकायको सहयोगबाट तत्कालै प्रभावकारी कार्यक्रम सञ्चालन गरिने बताए । ‘अहिले पनि कोरोनाको कोरोनाको उच्च जोखिम कायमै रहेकाले जनस्वास्थ मापदण्ड अपनाउँदै प्रभावित समुदायका लागि विशेष योजना अघि बढाउन मन्त्रालय जुटेको छ,’ उनले भने, ‘स्वास्थ्यका मापदण्ड कार्यान्वयन गर्दै श्रमिक तथा श्रमिकका बालबालिका लागि दिर्घकालिन परिणाम देखिने गरि कर्णालीमा प्रभावकारी कार्यक्रम सञ्चालन गरिने छ ।’ उनले कोभिडबाट प्रभावित श्रमिक तथा श्रमिकका बालबालिकाको उत्थानका लागि रकम समेत जोहो भईसकेको जानकारी दिए । उनका अनुसार आउँदो बैशाख भित्रै श्रमिक तथा श्रमिकका बालबालिकाको उत्थानका निम्ति कम्तिका दुई वटा कार्यक्रम सुर्खेतमै सञ्चालन गरिने छन् । कार्यक्रममा श्रम रोजगार कार्यालय सुर्खेतका प्रमुख सुनिता दर्लामीले कर्णालीमा सामाजिक सुरक्षाको अवस्था, कोभिडले श्रम बजारमा पारेको असर र श्रमिक तथा रोजगारदाताको अवस्थाका बारेका कार्यपत्र प्रस्तुत गरेकी थिईन् । त्यस्तै जन स्वास्थ्य कार्यालय सुर्खेतका डाक्टर विद्वता भट्टराईले कोभिडबाट बारे बच्ने तरिका, हाल कोभिडको अस्थावसँगै भावि रणनीतिका बारेमा जानकारी गराईन् । कार्यक्रममा टे«डयूनियनसँग सम्बन्धित संघ संस्थाले श्रम तथा रोजगार कार्यालयले बजेट अभावका कारण पर्याप्त प्रचारप्रसार तथा सेवाको बारेका जानकारी गराउन नसकेको गुनासो राखें । उनीहरुले कोरोना रोकथामका लागि सरकारले ल्याएका प्रयासहरु सकारात्मक भएपनि जीवनयापनका लागि कष्टदायी भएको बताए । कोरोनाले गरिबलाई झनै गरिव बनाएको उनीहरुको भनाइ थियो ।