२०८३ असोज १३ , मंगलबार
Sky News Nepal
September 30, 2026

पाँच जिल्लामा व्यवसायिक उत्पादन तयारी

कर्णालीमा कफी खेती


स्काई न्यूज / चैत २७,सुर्खेत ।
कर्णालीमा कफी खेती उपयुक्त देखिएको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार प्रदेशमा व्यावसायिक रुपले कफी उत्पादन नभएपनि सुर्खेतलगायत केही जिल्लाका किसानले व्यक्तिगत प्रयोजनका लागि उत्पादन गरेको कफी खेतीबाट उपयुक्त देखिएको हो । बोर्डले प्रदेशका सुर्खेत, दैलेख, जाजरकोट, सल्यान र रुकुम जिल्लामा कफी खेती गर्न उपयुक्त रहेको बताएको छ । बोर्डका कार्यकारी निर्देशक विष्णुप्रसाद भट्टराईले कफी उत्पादन गर्नका लागि हाल सुर्खेत, जाजरकोट र सल्यानमा डेढ लाख कफीका वेर्ना बोर्डले उत्पादन गरिरहेको बताए । उनले पहिलो चरणमा ती जिल्लामा डेढ लाख कफीका बेर्ना उत्पादन गरी विस्तृत परीक्षण गर्ने बोर्डको तयारी गरेको जनाए । उनका अनुसार बोर्डले आगामी वर्षसम्म कर्णालीमै कार्यालय स्थापना गरी चक्लाबन्दीको अवधारणाअनुसार व्यावसायिक कफी खेतीमा आकर्षित गर्ने योजना अघि सारेको हो । ‘समुद्री सतहबाट ८ सयदेखि १६ सय मिटरसम्म फल्ने अरबी जातको कफी फलाउने योजना बनाएका छौं । अहिले विश्वमै सबैभन्दा महँगो कफीको रुपमा यो बिक्री भइरहेको छ,’ निर्देशक भट्टराईले भने, ‘बोर्डले पनि कर्णालीमा तीनै तहको सरकारको समन्वयमा व्यावसायिक कफी खेतीको पहल थालेको छ ।’ उनले कफी खेतीको लागि पचास रोपनी भन्दा बढी जमीनमा खेती गरेमा लागतको ५० प्रतिशत अनुदान समेत बोर्डले दिने गरेको बताए । उनले कफी खेती गर्न अन्य बालीजस्तो धेरै दुःख पनि गर्नु नपर्ने भएकाले तीन महिनाभित्र बेर्ना तयार भएपछि तीन वर्षपछि फल्न शुरु गरिहाल्ने जानकारी दिए । उनका अनुसार बजार भाउ पनि बर्सेनि बढिरहेको छ  । उनले कफी खेतीका लागि किसानलाई आवश्यक प्रशिक्षणको तयारी समेत बोर्ड गरिहेको बताए । ‘किसानलाई आवासीय तालिम पनि दिन्छौं । बजारीकरणको व्यवस्था पनि गछौं,’ उनले भने, ‘कफीको प्रशोधन समेत बोर्डले गरि दिने योजना बनाएको छ ।’ कर्णालीका जंगलमा कफी खेती गरेको खण्डमा यहाँका युवाहरु विदेश जान नपर्ने उनको भनाइ छ । उनले कफी खेती कसरी गर्ने भन्नेबारे किताब समेत प्रकाशन गर्न लागिएको जनाए । यता कफी खेती बारेमा प्राविधिक ज्ञान नपाउँदा किसानले भने समस्या परेको बताएका छन् ।

‘कफीका बिरुवामा लेपन गर्न नजान्दा सबै बिरुवा खेर गए,’ ६ वर्षअघि कर्णालीमा कफी खेतीको अभ्यास गरेको जनअपेक्षा सहकारीका कार्यालय प्रमुख छविलाल आचार्यले भने, ‘प्राविधिक ज्ञान र किसानको आकर्षण नहुँदा पूरै लगानी खेर गयो ।’ उनले कफी खेतीका लागि आवश्यक जग्गा र अनुकुलन वातावरण भएपनि प्राविधिक ज्ञानसँगै बजार नपाउँदा समस्या भएको जनाए । ‘६ वर्षअघि लेकबेंसी नगरपालिका–९ स्थित सहकारीले २ लाख ८० हजार रुपैयाँ लगानीमा तीन रोपनी जग्गामा करिब १ हजार ६ सय कफीका बिरुवा रोप्यो,’ उनले भने, ‘तर कफी उत्पादन कसरी गर्ने भन्नेबारे प्राविधिक ज्ञान नहुँदा उक्त बिरुवासँगै लगानी पनि खेर गयो ।’ उनका अनुसार कर्णालीका प्रायः किसानलाई कफी खेतीबारे ज्ञान नहुँदा उत्पादनमा खासै चासो दिएको पाइँदैन । ‘कफी खेतीबारे तालिम नलिएको हुँदा कसरी प्रशोधन हुन्छ भन्ने जानकारी भएन । यहाँ कफी पर्याप्त फल्दो रहेछ । यसलाई बजारमा बिक्री गर्न पाए त कमाई हुनथ्यो,’ लेकबेंसी–९ का स्थानीय भविसरा पाण्डेले भनिन्, ‘तर अरुका कुरा सुनेर कफी खेती गरेपनि सोचेजति लाभ लिन सकिएन् । मनग्य आम्दानी हुने ठानेर कफी खेतीतिर लागेपनि प्राविधिक ज्ञानसँगै बजार अभावले सोचेजति प्रगति हुन सकेन ।’ उनले कफी कति उचाईमा फल्छ, कसरी खेती गरिन्छ भन्ने बारे किसान अनविज्ञ रहेको बताईन् । गाउँमा अहिले कफीका बिरुवाले फल दिन थालेका छन् । तर ती फलहरु कसरी प्रयोग गर्ने भन्ने चिन्ता उनीमा छ । ‘फलेका कफीका दानालाई के गर्नु ? न भुटेर खान मिल्छ न कुटेर, त्यस्सै खेर गइरहेको छ,’ भविसराले भनिन्, ‘कफीबाट मनग्य आम्दानी गरौंला भन्ने सपना मात्र भयो ।’ व्यावसायिक कफी खेतीका लागि विशेष प्याकेज ल्याउनुपर्ने उनको जोड छ । अन्य खेतीमा जस्तै कर्णालीका किसानलाई कफी खेतीतर्फ आकर्षित गर्न सरकारले अनुदानका कार्यक्रम ल्याउनुपर्ने उनको माग छ ।

प्रकाशित मिति : २०७७ चैत २७ गते शुक्रबार
Translate »