उद्यमी बन्दै ग्रामीण महिला

सागर परियार / चैत ३१,जुम्ला ।
विगतमा घरधन्दा र मेलापातमा मात्रै सीमित हुने जुम्लाका ग्रामीण महिला पछिल्लो समय आर्थिक आम्दानीका क्षेत्रमा सक्रिय हुन थालेका छन् । समूह सहकारी तथा स्थानीय तहले सञ्चालन गरेका सशक्तीकरणका कार्यक्रमपछि यहाँका महिला व्यापार व्यवसाय,उद्यमशीलता लगायत आर्थिक आम्दानीका गतिविधिमा सक्रिय हुन थालेका हुन् । पातारासी गाउँपालिका ५ की राजकली रावत लगायत अन्य महिला आजभोली होमस्टे सञ्चालन गरिरहेको अवस्थामा भेटिन्छन् । पहिले दैनिक मेलापात र घरधन्दामै सीमित हुने उनीहरु अहिले होमस्टेमा पाहुनालाई स्वागत गर्नमै व्यवस्थ छन् । हातेमालो नेपालको सहयोगमा पातारासी गाउँपालिका ५ स्थित मुगु राराताल जाने बाटोमा पटमारा होमस्टे सञ्चालित छ । जसको नेतृत्व पातारासीका ६ जना ग्रामीण महिलाले गरिरहेका छन् । पटमारा होमस्टेको अध्यक्ष समेत रहेकी रावतले भने,“महिलाले केही गर्न सक्दैनन् भन्ने सोँच अझै विद्यमान छ । तर हामी गाउँका महिला धेरै सचेत भइसकेका छौ ।’ उनले भने, ‘आर्थिकरुपमा सक्षम बन्न महिला आफै अघि बढ्नुपर्छ भनेर हामीले होमस्टे सञ्चालन गरेका हौ । यो कामलाई निरन्तरता दिन्छौ ।” जुम्ला,उर्थहुँदै मुगु रारा जाने छोटो पर्यटकीय मार्ग पनि भएकोले पटमारा होमस्टेमा आन्तरिक पर्यटक धेरै आउने गरेको रावतले बताए। स्थानीय महिला कविता बुढा, जकली थापा, हस्तना थापा,जनदेवी थापा लगायतका ६ जना महिला नियमित होमस्टेको काममा जुटिरहेको अवस्थामा भेटिन्छन् । औपचारिक पढाई लेखाई नभएपनि सङ्घसंस्था,समूह सहकारी र स्थानीय सरकारको चेतनाले गर्दा ग्रामीण महिला आर्थिक आम्दानीमा अग्रसर भएको स्थानीय महिला जनदेवी थापाले बताए ।


परम्परागत पहिरनको प्रचार,अर्गानिक कृषि वस्तुको व्यापार तथा आर्थिक आम्दानी पनि राम्रो हुने भएकोले ग्रामीण महिलालाई होमस्टेमा आकर्षित भएको थापाको भनाई छ । रावतको समूह जस्तै पातारासीकै १० जना महिलाको अर्को समूह सफल उद्यमी बन्ने लक्ष्यका साथ ढाका बुनाइको तालिम लिइरहेका छन् । ३ महिना तालिम लिएर सिकेको सिपले गाउँमै उद्यमशीलता गर्ने सोचाइमा उनीहरू छन् । अहिले उनीहरूले ढाकाका दोसल्ला,टोपी, पछ्यौरी,चोले बुनिरहेका छन् । यता तातोपानी गाउँपालिका २ की बेलु चनाराले पनि एक महिने हातेहोजियारी तालिम लिएकी छन् । उनी व्यवसायीक रुपमा हातेहोजियारीको कामलाई अघि बढाउने तयारीमा छन् । पहिला बजारबाट जुराप,टोपी स्वीईटर किन्ने चनारा अहिले आफैले घरमै यी वस्तु बुन्नेमात्र भएकी छैनन् अरूका लागि बेच्नका लागि उत्पादन गर्न सक्षम बनिसकेको सुनाउँछिन् । चन्दननाथ नगरपालिकाकी हस्तना न्यौपानेले डेरी उद्योबाटै मनग्य आम्दानी गर्दै आएकी छन् । सानो लगानीमा सञ्चालन गरिएको उद्योगले अहिले रोजीरोटी जुटेको उहाँको भनाई छ । पातारासी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेक बहादुर बुढ्थापाले उद्यमी महिलाले उत्पादन गरेका ढाकाका विभिन्न सामाग्रीको बजारीकरणमा स्थानीय सरकारले समन्वय गर्ने बताए। उनले भने,“तालिमपछि प्रविधि पनि हस्तान्तरण गर्ने छौ । आयातित दोसल्ला प्रतिबन्ध लगाउने र ढाकाका दोसल्लालाई बढवा दिने नीति लिएका छौ । नमुना व्यवसायीलाई अनुदानको समेत व्यवस्था गरिएको छ ।” हातेमालो नेपालका कार्यकारी निर्देशक टेक रावतले पर्यापर्यटनको संरक्षणका लागि होमस्टे सञ्चालनमा सहयोग गरेको बताए । होमस्टे सञ्चालनका लागि आवश्यक पर्ने करिब २ लाख ७० हजार बराबरको सामाग्री तथा तालिम दिइएको उनले बताए । परम्परागत घरलाई सिँगार्ने,शौचालय बाथरुम बनाउन समेत सहयोग गरिएको उनले बताए ।

Translate »