सल्यानमा पहिलो पटक व्यवसायिक कालिज पालन

दीपक शर्मा / बैशाख ४, सल्यान ।
सल्यानमा पहिलो पटक व्यवसायिक कालिज पालन सुरु गरिएको छ । जिल्लाको त्रिवेणी गाउँपालिका–१ गैरी कटेरीमा पहिलो पटक कालिजको व्यावसायिक पालन सुरु भएको हो । कालिजको स्वादको पारखी बढ्न थालेपछि गैरी कटेरीका कमानसिहं केसीले झण्डै १० लाख लगानी गरेर ‘रिङग नेक’ जातको कालिज पालन सुरु गरेका छन् । २०७६ फागुनमा महाभारत कालिज फर्म नै दर्ता गरेर कालिज पालन सुरु गरेको केसीको भनाई छ । जंगलमा पाइने कालिज नेपालमा संरक्षित पन्क्षी भएकाले मार्न प्रतिबन्ध छ तर अहिले विभिन्न प्रजातिका कालिज व्यवसायिक रुपमा पाल्न थालेपछि हरेकका भान्साको रोजाई बन्दै गएको छ ।

पछिल्लो समय कालिजको माग अत्याधिक बढ्न थालेपछि व्यवसायमा लागेको उनको भनाई छ । उनले भने ‘सरकारले ल्याएको नयाँ कानुनसँगै बेल्जियमबाट आएको ‘रिङग नेक’ जातको कालिज व्यवसायिक उत्पादनमा लागिएको छु ।’ ३७ वटा कालिजबाट व्यवसाय सुरु गरेका केसीले यस वर्ष भित्रै २०० कालिज बढाउने लक्ष्य राखिएको उनको भनाई छ । उनले भने ‘कालिजले अण्डा दिन थालि सकेका छन् । ह्याचरीको माध्यमबाट चल्ला उत्पादनमा लागेका छौं । यस वर्षभित्रै २०० कालिज पाल्ने र बाँकी बिक्री गर्ने योजना बनाएको छु ।’ करिब ६ महिना पालेपछि मात्र कालिजको मासु खान योग्य हुने उनको भनाई छ । एक दिने चल्लालाई प्रति गोटा ४ हजार रुपैयाँमा पोखराबाट ल्याएको कालिज बजारसम्म पुग्दा ३ हजारदेखि ४ हजारसम्ममा बिक्री गर्न सकिने उनले बताए ।  कालिज उत्पादन नहुँदै बजार र गाउँबाट अत्याधिक माग आउने गरेको केसीले बताए । तीन वर्षसम्म स्काभेटर (डोजर) चलाएर आफ्नै गाउँमा अहिले कालिज पालनमा लागेको उनको भनाई छ । ( रेडियो नेपाल )

Translate »