मदन भण्डारी राजमार्ग अन्तर्गत: धुलियाविट–भेडावारी–बोटेचौरखण्ड स्तरोन्नती हुँदै

करिब एक अर्ब ५१ करोडको बोलपत्र आव्हान


स्काई न्यूज /बैशाख ५, सुर्खेत ।
वर्षातमा हिलाम्य र सुख्खायाममा धुलाम्य हुनु ग्रामीण सडकको समस्या हो । जिल्लाका अधिकांश ग्रामीण बस्ती सडक सञ्जालमा जोडिएका छन् । तर, जिल्ला सदरमुकामदेखि गाउँसम्मका लागि खोलिएका ग्रामीण सडकको स्तरोन्नती समयमा गर्न नसक्दा चालक, यात्रु र स्थानीयले कष्ट भोग्नु परिरहेको छ । पूर्वी तथा उत्तरी सुर्खेतका साटाखानी, गर्पन, कल्यान, रानीवास, नेटा, डाडाखाली, बजेडीचौर लगायत थुप्रै गाउँलाई कर्णाली प्रदेशको राजधानीसँग जोड्ने धुलियाविट–भेडावारी–बोटेचौर सडकखण्डको स्तरोन्नती हुने पक्का भएको छ । मर्मत सम्भारको अभावमा खतरनाक बन्दै गईरहेको धुलियाविट–भेडावारी–बोटेचौर सडकलाई पूर्व–पश्चिम जोड्ने मदन भण्डारी राजमार्गका रुपमा विकास गर्न लागिएपछि स्तरोन्नती हुने पक्का भएको हो । ट्¥याक खुलेको करिब ४२ वर्षपछि धुलियाविट–भेडावारी–बोटेचौर सडकको स्तरोन्नती गर्न बोलपत्र आव्हान भएको छ । मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालयले आइतबार धुलियाविट–भेडावारी–बोटेचौरखण्डको स्तरोन्नतीका लागि करिब एक अर्ब ५१ करोड रुपैयाँ बराबरको बोलपत्र आव्हान गरेको हो । सडकको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) स्वीकृत भएको धेरै समयपछि निर्माण प्रक्रियाले गति लिने अपेक्षा गरिएको छ । बहुबर्षिय आयोजना अन्तर्गत ठेक्का प्रक्रियाको प्रारम्भिक कार्य शुरु भएपछि सर्वसाधारणमा खुशी छाएको हो । धुलियाबिटदेखि बोटेचौरसम्म (३५ किलोमिटर) सडकखण्डको स्तरोन्नतीका लागि बोलपत्र आव्हान लगतै कर्णाली प्रदेश सभा सांसद ठम्मर विष्टले लामो समयदेखि भौगोलिक उत्पीडनबाट दुःख पाउँदै आएका यसक्षेत्रका नागरिकलाई सडक कष्टबाट छिट्टै अन्त्य हुने विश्वास व्यक्त गरे । उनले सामाजिक सञ्जाल फेसबुक मार्फत सडक स्तरोन्नतीका लागि बोलपत्र आव्हान गराउन सहयोग गर्ने नेपाल सरकार, अर्थ मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, लेकबेशी र गुर्भाकोट नगरपालिकासहित नेताहरुलाई धन्यवाद दिए । उनले भनेका छन, ‘लामो समयदेखि भौगोलिक उत्पीडनमा परेको धुलियाविट–भेडाबारी–बोटेचौर क्षेत्रका न्यायप्रेमी जनसमुदायका आउँदा दिनहरु सुःखद हुने छन् ।’

यसै वर्षदेखि स्तरोन्नतीको कामलाई गति दिन आवश्यक प्रक्रिया शुरु गरिएको आयोजना निर्देशनालयले बताएको छ । डीपीआर अनुसार सडक नौ मिटर चौडाइसम्म कालोपत्रे गरिने छ । हाल सडकमा औसत चार मीटर चौडाई छ । स्तरोन्नती गर्दा झण्डै ५२ प्रतिशत सडक चौडा हुनेछ । डीपीआर अनुसार कुल एक अर्ब ९४ करोड ८४ लाख २३ हजार ६ सय ७३ रुपैयाँ लागत अनुमान गरिएको थियो । आयोजना कार्यान्वयन गर्दा वीरेन्द्रनगर नगरपालिकाका– ११ र १३, लेकबेशी नगरपालिकाका–१, २, ३, ४, ६, ७, ९ र १० सँगै गुर्भाकोट नगरपालिकाका–१०, १२, १३ र १४ नम्वर वडाहरु प्रत्यक्ष प्रभावित हुने छन् । सडक स्तरोन्नती भएपछि उत्तरपूर्वी खण्डका नागरिकलाई वीरेन्द्रनगर आउजाउ गर्न सहज हुनेछ । २०३६ सालमा ट्¥याक खुलेको भेडाबारी सडकखण्ड ४२ बर्षपछि स्तरोन्नती हुन लागेको हो । पूर्व क्षेत्रका नागरिकको आर्थिक समृद्धिसँग जोडिएको भेडाबारी सडकखण्ड स्तरोेन्नती भएपछि ठूलो राहत मिल्ने लेखबेशी नगरपालिका प्रमुख गगनसिंह सुनारले बताए । उनले नगरपालिका सम्पूर्ण बजेट खर्चिदा पनि सडकको स्तरोन्नति गर्न सम्भव नरहेकाले केन्द्रीय योजना मार्फत नै सडकको स्तरोन्नती गर्नका लागि पहल गर्ने सबैलाई धन्यवाद व्यक्त गरे । ‘एक आर्थिक वर्षको पुरै बजेटले पनि सडकको स्तरोन्नति हुने सम्भावना थिएन,’ उनले भने, ‘अहिले मदनभण्डारी राजमार्ग अन्तर्गत केन्द्रिय योजना मै परेपछि आशा गरौं अब जनताले धेरै दुःख पाउनुपर्ने छैन ।’ उनले नागरिकलाई सहज यातायात सुविधासहित सुर्खेतबाट काठमाडौं जानलाई हालको भन्दा ५० किलोमिटर दूरी छोटो पर्ने जानकारी दिए । सडक यातायातको चुनौतीको रुपमा रहेको धुलियाविट–भेडावारी–बोटेचौर सडकखण्डलाई राष्ट्रिय राजमार्ग बनाउन जनप्रतिनिधिले पहल गरेअनुसार सरकारले स्तरोन्नती गर्न लागेको सुर्खेत क्षेत्र नम्वर १ का प्रतिनिधि सभा सदस्य धुव्रकुमार शाहीले बताए । सहज यातायातको अभावमा सुर्खेतको विकासका लागि बाधकको रुपमा रहेको धुलियाविट–भेडावारी–बोटेचौर सडकखण्डले सुर्खेतवासीलाई मात्र नभई कर्णालीका बासिन्दालाई समेत सुविधा पुग्ने उनको भनाइ छ । उक्त सडक स्तरोन्नती कार्य तोकिएकै समयभित्र सम्पन्न गराउन सबै पक्षबाट निरन्तर खबरदारी आवश्यक रहेको उनले औल्याए ।


पश्चिमखण्डको डीपीआर नै बनेन
भदन भण्डारी राजमार्ग अन्तर्गत सुर्खेत पश्चिमखण्डको डीपीआरसमेत तयार हुन सकेको छैन । सर्वेक्षणदेखि नै स्थानीयले अबरोध गरेका कारण डीपीआर तयार हुन नसकेको हो । ‘यो वर्ष वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन मात्रै तयार हुन्छ,’ आयोजना निर्देशनालयका इन्जिनियर शिव तिमिल्सेनाले भने, ‘स्तरोन्नतीको काम पश्चिमखण्डमा अर्काे वर्षदेखि शुरु हुन्छ ।’ डीपीआर लगायतका प्राविधिक काम सकिएपछि मात्रै पश्चिमखण्डको सडक स्तरोन्नती उनले बताए । शुरुमा स्थानीय बीच विवाद हुनु र विवाद समाधानपछि वातावरणीय प्रभाव मूल्याङ्क कार्यविधि परिमार्जन भएको कारणले पश्चिमखण्डको प्राविधिक काम गर्न ढिलाई भएको हो । पश्चिमखण्डको पञ्चपुरीको खम्बगाडे पलैटे, बराईचे हुँदै बाबियाचौर जोड्नुपर्ने कि खम्बगाडे शिवधाम बाबियाचौर हुँदै बाबियाचौर जोड्नुपर्ने भन्ने विषयमा विवाद भएको थियो । मदन भण्डारी राजमार्ग अन्तर्गत सुर्खेतको पश्चिमखण्डमा ९४ किलोमिटर सडक पर्दछ । राजमार्गले बराहताल गाउँपालिकाको बड्डिचौरहुँदै बेनिघाट जोड्छ ।

Translate »