कर्णालीमा सङ्क्रमण दर बढ्यो


स्काई न्यूज / बैशाख ११, सुर्खेत ।
कर्णाली प्रदेशमा कोरोना भाइरसको रोकथामका लागि संक्रमितको सम्पर्कमा आएका व्यक्तिलाई लक्षित गरी गर्नुपर्ने कन्ट्याक्ट ट्रेसिङको फितलो भइरहेको छ । भारतीय सीमानाका हुँदै बाँकेबाट फर्किइरहेका व्यक्तिको सम्पर्कमा आएकाको कन्ट्याक्ट ट्रेसिङ प्रभावकारी हुन नसक्दा संक्रमणको दर बढ्दै गएको हो । हेल्थ डेस्कमा खटिएका स्वास्थ्यकर्मीका अनुसार सीमानाकाबाट भित्रिने नागरिकको कन्ट्याक्ट ट्रेसिङ फितलो हुँदा संक्रमण दर बढेकोे बताउँछन् । भारतलगायत नेपालकै अन्य जिल्लाबाट निर्वाधरुपमा नागरिक कर्णाली प्रदेश प्रवेश गरेसँगै संक्रमण दर बढ्दैछ । सुर्खेतमा शनिबार मात्र १ सय १९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । संक्रमित मध्ये विद्यार्थी २१, कर्मचारी १९, शिक्षक १९, गृहिणी १४, बैंक र सहकारीका कर्मचारी १२, सुरक्षाकर्मी सात, कृषी, ब्यवसायी र स्वास्थ्यकर्मी पाँच–पाँच जना छन् । यस्तै, भारतबाट फर्केका पाँच, पत्रकार तीन, चालक दुई र राजनीतिज्ञ एक जना रहेका छन् । केही हुँदैन् भन्दै नागरिकले स्वास्थ्यका मापदण्डहरु पालना नगर्दा सुर्खेतलगायतका जिल्लामा कोरोना संक्रमण दर ह्वातै बढेको जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका प्रमुख चेतननीधि वाग्लेले बताए । उनका अनुसार सुर्खेतमा मात्र हालसम्म ३ सय ६८ जना पुगेका छन् । अघिल्लो हप्तामा १ सय २३ संक्रमित फेला परेका थिए । शुक्रबार एकै दिनमा ९४ जना संक्रमित थपिएका थिए । संक्रमणको दर बढ्दै जाँदा प्रदेशमा जटिल अवस्थाका बिरामी पनि बढ्दै गएका छन् । कोरोना भाइरसको दोस्रो लहरका कारण प्रदेशको राजधानी सुर्खेत भयावह अवस्थामा पुग्ने खतरा देखिएको छ । पछिल्ला केही दिनहरुमा संक्रमितको दर ह्वात्तै बढेसँगे सुर्खेत कोरोनाको हटस्पट बन्दै गईरहेको छ । सरकारले कोरोनाको उच्च जोखिम १४ जिल्ला मध्ये सुर्खेतलाई समेत निश्चित इंगित गरेको छ । ‘कोरोना संक्रमण रोक्न सबै पक्ष गम्भीर नभए सुर्खेतमा भयावह बन्ने उच्च खतरा छ,’ स्वास्थ्य कार्यालयका प्रमुख वाग्लेले भने, ‘अनिवार्य मास्क लगाउने, सेनेटाइजर प्रयोग गर्ने र सामाजिक दुरी कायम गरेर दैनिक कार्य गर्नमा कुनै कञ्जुसाइ नगर्न आम नागरिकलाई आग्रह गर्दछु ।’
लकडाउनको सम्भावना बढ्दै
प्रदेशको राजधानी सुर्खेतमा दिनानुदिन कोरोना संक्रमितको संख्या थपिँदै गएपछि नियन्त्रण तथा रोकथामका लागि लकडाउन गर्नुपर्ने बाध्यात्मक स्थिति सृजित हुँदै गईरहेको छ । जिल्ला कोभिड–१९, संकट व्यवस्थापन केन्द्रको शनिवार बसेको बैठकले आगामी तीन÷चार दिनको संक्रमण दरको स्थितिलाई आकलन गरेर लकडाउन गर्न सकिने स्थानीय प्रशासनको भनाई छ । ‘संक्रमण दर बढेमा नयाँ कदम चाल्नु पर्ने देखिन्छ,’ सुर्खेतका प्रजिअ छविलाल रिजालले भने, ‘केही दिनमा कोरोना संक्रमितको दर यहीं रफ्तारमा बढे संक्रमण रोक्न लकडाउन नै गर्नुपर्ने अन्तिम विकल्प हो ।’ भारतमा कोरोनाको भयावह अवस्था हुनु र रोजगारीका लागि भारत गएकाहरु घर फर्कने सिजन शुरु भएकोले संक्रमण दर अझै बढ्ने आँकलन गरिएको छ । ‘नेपालगञ्जमा लागु गरिएको लकडाउन र त्यसको प्रभावकारिताबारे नजिकबाट बुझिरहेका छौं । नेपालगञ्जमा लकडाउन लागु गरेपनि भारतबाट कर्णाली आउने नागरिक निर्वाध रुपले आईरहेका छन्,’ उनले भने, ‘यसले थप स्थिति भयावह हुने खतरा रहेकाले जिल्ला प्रवेशद्वारहरुमा उच्च सर्तकता र सावधानी अपनाउन जरुरी छ ।’ बैठकले समग्र जिल्लामा संक्रमणको पछिल्लो अवस्था, आइसीयु, भ्यान्टीलेटर, आइसोलेशन, एम्बुलेन्स लगायतको उपलव्धता बारे समिक्षा गरेको छ ।
भत्ताविना काम गर्दै स्वास्थ्यकर्मी
सीमानाकामा सञ्चालनमा रहेको ‘हेल्थ डेस्क’का कर्मचारी जोखिम भत्ताविना नै काम गरिरहेका छन् । ‘आफूहरु जोखिम भत्ताविना नै जोखिमको काममा खटिनुपर्ने अवस्था छ,’ हेल्थ डेस्कका एक स्वास्थ्यकर्मीले भने । हेल्थ डेस्कमा खानेपानी, खाजा नास्ताको व्यवस्थापनमा समेत समस्या भइरहेको कर्मचारीको गुनासो छ । भारतमा पछिल्ला हप्तामा कोरोना भाइरसको सङ्क्रमण र मृत्युदर बढ्दै गएसँगै कर्णाली प्रदेशमा पनि कारोनाको सङ्क्रमण दर पछिल्ला दिनमा उकालो लागेको छ । भारतबाट फर्किनेबाट नै समुदायमा सङ्क्रमण बढी देखिएको जनाइएको छ । सुर्खेतलाई कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिम जिल्लाका रुपमा लिइएको छ ।