यसरी गर्न सकिन्छ घरको बगैंचा सदुपयोग

निम, टिमुरजस्ता औषधीय गुण भएका बिरुवा रोपेर उपयोग

हिमा वि.क/ बैशाख २६,काठमाडौं । सहरी क्षेत्रमा घर बनाउँदा घरसँगै वरपर  आकर्षक बगैंचा पनि होस् भन्ने सबैको चाहना हुन्छ । कम जमिन छ भने पनि त्यसलाई सुन्दर ढंगले सजावट गर्न  सकिन्छ । घर वरिपरि रहेको जमिन तथा फराकिलो छत, कौसी छ भने त्यसलाई तपाईंले आफ्नै स्वास्थ्योपचारमा उपयोगी वनस्पति तथा ससाना प्रजातिका बिरुवा लगाएर बगैंचा सजावट गर्न सक्नुहुन्छ ।

यस्ता वनस्पति तथा बिरुवाले घरलाई आकर्षण मात्रै देखाउँदैनन्, तपाईं तथा तपाईंको परिवार अस्वस्थ हुँदा स्वास्थ्योपचारका लागि काम आउन सक्ने हुन्छन् । त्यसैले औषधीय गुण भएका वनस्पति तथा बिरुवा आफ्नो बगैंचामा रोप्नु उचित हुन्छ । अर्काेतर्फ सिजनल फूलहरू रोपेर पनि बगैंचालाई थप सजावट गर्न सकिन्छ ।

स्वास्थ्यका दृष्टिले आफ्नो बगैँचामा औषधीय गुण भएका अर्थात् केही सामान्य बिरामी भए घरेलु उपचारका लागि काम आउन सक्ने वनस्पति लगाउँदा अझ बढी उपयोगी हुन्छ । अहिले कोरोना भाइरस संक्रमण उच्च हुँदा आयुर्वेदिक औषधीमा पनि जोड दिइएको पाइन्छ । गुर्जाे सेवन पनि बढेको पाइन्छ । यो लहरा खाले प्रजातिको भएकाले सानो स्थानमा पनि लगाउन सकिने बताउँछन्, १७ वर्षदेखि तिमल्सिना नर्सरी सञ्चालन गर्दै आएका उत्तम तिमल्सिना ।

बगैंचामा गुलाब, सयपत्री, जिनिया, फ्रेन्च डालिया, सालियाजस्ता फूल रोप्न सकिन्छ । तर, औषधीय गुण भएका वनस्पति रोप्दा अझ फाइदा हुने देखिएकाले यसमा जोड दिइएको हो । भक्तपुरको लोकन्थलीमा नर्सरी व्यवसाय गर्दै आएका उनले भने, ‘घरेलु उपचारमा प्रयोग हुने जडीबुटी रोजमेरी, पुदिना, एलोभेरा, लौठसल्लाजस्ता बिरुवा रोप्न सकिन्छ भने यसले उपचारमा  सघाउने र बगैंचा पनि राम्रो हुन्छ ।’

जाडो सिजनमा भन्दा पनि फागुनदेखि असार, साउनसम्म यस्ता बिरुवा रोप्दा राम्रो हुन्छ । अहिले मुख्य सिजन पनि भएको र धेरै ढिला गर्दा काठमाडौं उपत्यकामा चिसो आइसक्ने हुँदा छिटो रोप्नु आवश्यक हुन्छ । नीम, गुर्जाे लगाउन सकिने उनको सुझाव छ । बगैंचामा टिमुर, अमला र लौठसल्लाका बिरुवा पनि लगाउन सकिने उनी बताउँछन् । लौठसल्लाका बिरुवासमेत विक्री गर्दै आएका उनले यसको मूल्य प्रतिबिरुवा २५० रुपैयाँ पर्ने बताए ।

क्यान्सर उपचारका लागिसमेत उपयुक्त मानिएको लौठसल्लाका बिरुवा असार, साउनमा भने बिरुवाको साइजअनुसार मूल्य तय हुने उनको भनाइ छ । यी बिरुवाको मूल्य  १०० देखि ३०० रुपैयाँसम्म पर्ने गर्छ । टाइफाइडका बिरामीका लागि उपयुक्त हुने पाखनबेत पनि लगाउन सकिन्छ । अहिले जारी निषेधाज्ञाका बेला तपाईं फुर्सदमा हुनुहुन्छ र बगैंचालाई सुन्दर र उपयोगी बिरुवा रोपेर आकर्षक बनाउने खोजमा हुनुहुन्छ भने यी बिरुवा लगाउन सक्नुहुन्छ ।

Translate »