कोरोना कहरः जुम्लाका तीन गाउँपालिका शील

सागर परियार / जुम्ला ।
दोस्रो लहरको कोरोना संक्रमण बढ्दै गएपछि जुम्लाका ८ स्थानीय तह मध्ये तीन गाउँपालिका शील गरिएको छ । अत्यावश्यक सेवा बाहेकका सबै प्रशासनिक सेवा पूर्ण बन्द हुने गरी जुम्लाका तातोपानी, गुठिचौर र कनकासुन्दरी गाउँपालिका शील गरिएको हो । जसमा तातोपानी गाउँपालिकाका एक जना वडा सचिवलाई संक्रमण देखिएपछि वैशाख २८ गतेदेखि जेठ ३१ गते सम्म शील गरिएको अध्यक्ष नवराज न्यौपानेले बताए। आर्थिक वर्षको अन्त्य तिर भएकोले योजनाका भुक्तानी देखि बजेट निर्माण प्रक्रिया थाल्नुपर्ने भए पनि कोरोनाले समस्या गरेको तातोपानीका लेखा अधिकृत मिलन बुढ्थापाले उल्लेख गरे । अवस्था सामान्य भएपछि स्वास्थ्य मापदण्ड पालना गरी योजनाको बजेट भुक्तानी, बाँकी रहेका कार्यक्रम सञ्चालन र नयाँ बजेटको निर्माण कार्यलाई अघि बढाइन लेखा अधिकृत बुढ्थापाको भनाई छ । जुम्लाको कनकासुन्दरी गाउँपालिकाका २९ जनामा कोरोना संक्रमण देखिएको छ । १ सय ९५ जनामा एन्टिजेन परीक्षण गरिएकोमा पालिकाका कर्मचारी सहित २९ जनामा संक्रमण पुष्टि भएपछि वैशाख ३० देखि जेठ ४ गतेसम्म पालिका शील गरिएको कनकासुन्दरी गाउँपालिकाका अध्यक्ष नरविर रावतले जानकारी दिए ।

पालिकाका आइसोलेसन तथा कोभिड अस्पतालमा अक्सिजन ग्याँस र एमबिबिएस डाक्टर नहुँदा सञ्चालन ल्याउन मुस्किल भएको सङ्क्रमितलाई होम आइसोलेसनमा पठाउन बाध्य भएको बताए । तर चाडै आइसोलेसन सञ्चालनमा ल्याउने तयारी भइरहेको उनको छ । दोस्रो लहरको सङ्क्रमणबाट जिल्लाकै पहिलो संक्रमित भएको गुठिचौर गाउँपालिकाले स्थिति सामान्य नहुन्जेल अत्यावश्यक सेवा बाहेक सबै प्रशासनिक सेवा अर्को सूचना नभए सम्मका लागि बन्द गरिएको अध्यक्ष भण्डारीको भनाई छ । जुम्लामा अहिले सम्म १ सय ९९ जना संक्रमित भएका छन् । भने ती मध्ये २६ जनालाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा अक्सिजन दिएर उपचार थालिएको छ । १७ जना संक्रमित संक्रमण मुक्त भएर घर फर्किएका छन् । भने, १ सय ५६ जना संक्रमित होम आइसोलेसनमा बसेका छन् । होम आइसोलेसनमा बस्दा अपनाउनु पर्ने उपाय थाहा नभएकै कारण सङ्क्रमितको लापरबाहीका कारण गाउँ गाउँमा संक्रमण फैलिएको नागरिक अगुवा राज बहादुर महतको भनाई छ । स्थानीय तह अझै गम्भीर नभएमा जुम्लाका बाँकी ५ स्थानीय तह पनि शील हुने अवस्थामा रहेका पुगेका छन् । संक्रमितहरु घरघरमा बस्न बाध्य भएका छन् । यता आठै स्थानीय तहका १ सय ५५ बेड आइसोलेसन र ३५ बेड कोभिड अस्पताल प्रयोग विहीन अवस्थामा छन् । शुक्रवार जुम्लामा बस्ने डिसिसिएमसिको बैठकमा तत्काल कोभिड अस्पताल, आइसोलेसन सञ्चालन ल्याउनेदेखि कोभिड रोकथाम कार्य योजना, २०७८ तयार गरिने प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले बताए ।