सल्यानमा व्यावसायिक बंगुरपालन

दीपक शर्मा / सल्यान । सल्यानमा व्यवसायीक बंगुरपालन शुरु गरिएको छ । मासु र पाठा पाठीको माग बढेपछि कपुरकोटमा समूह नै गठन गरी व्यावसायिक बंगुरपालन गरिएको छ । जनजातिको बसोबास भएका गर्पामा जनजागरण कृषि तथा पशुपालन समूहमा आबद्ध २८ जना किसानले व्यावसायिक बंगुरपालन गरेका छन् । उनीहरूले ५ सय माउ बंगुरपालन गर्ने गरी व्यवसाय सुरु गरेका छन् । अहिले तत्काल २ सय बढी माउ बंगुर रहेको र अर्को वर्ष भित्र ५ सय माउ बंगुर पुर्‍याउने लक्ष्य रहेको जनजागरण कृषि तथा पशुपालन समूहका अध्यक्ष शेर बहादुर पुनले बताए । साना ५ र ठुला १३ वटा फर्म निमार्ण गरिएको उनको भनाई छ । कपुरकोट गाउँपालिका वडा नम्बर २ र ३ लाई बंगुरपालन पकेट क्षेत्र बनाउने गरी कार्यक्रम सञ्चालन भएको छ । कृषि पकेट क्षेत्रका रुपमा कपुरकोट गाउँपालिका चिनिन्छ । वार्षिक कपुरकोट क्षेत्रबाट मात्रै करोडौँको तरकारी निकासी हुने गर्दछ । पछिल्लो समयमा तरकारी सँगैसँगै कपुरकोट २ र ३ का कृषक तरकारीसँगै बंगुरपालनमा लागेका छन् ।

व्यावसायिक तरकारी खेती गर्दै आएका किसानले पहिले घर घरमा थोरैको सङ्ख्यामा बंगुरपालन गरे पनि अहिले व्यावसायिक बंगुरपालन गर्न थालेको कपुरकोट गाउँपालिका वडा न २ का वडाध्यक्ष मान बहादुर रानाले बताए । उनले भने यहाँ किसानले मौसमी तरकारी खेती गर्दै आइरहेका थिए तर पशुपालन बाहैं महिना हुने भएकाले पछिल्लो समय यहाँ किसान बंगुरपालनमा आकर्षित हुन थालेका छन् । बंगुर ब्लक क्षेत्र निर्माण गर्न ३० लाख रुपैयाँ बराबरको बजेट सहयोग गरेको पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानका कार्यालय प्रमुख कपिल प्रसाद उपाध्यायले बताए । कार्यालयले उन्नत जातको भाले बङ्गुर, खोर, दाना मेसिन आदीमा सहयोग गरेको उनको भनाई छ । मासुजन्य उत्पादन कार्यक्रम अन्तर्गत कार्यालयको वार्षिक कार्यक्रम अनुसार बंगुर ब्लक कार्यक्रम सञ्चालन गरिएको उनको भनाई छ । कपुरकोट क्षेत्रमा उत्पादन हुँदै आएका बङ्गुरका पाठा पाठी पोखरा दाङ, बुटवल, रोल्पा लगायतका ठाउँबाट माग हुने गरेको छ । थोरै लगानी र परिश्रमबाट पनि मनग्य आम्दानी लिन सकिने भएपछि किसानहरू व्यावसायिक बंगुरपालनमा लागेको कार्यालय प्रमुख उपाध्यायले बताए ।

Translate »