कोरोना कहरले सङ्कटमा कर्णालीका उद्योग

करोडौँको उत्पादन थन्कियो, ऋण तिर्न मुस्किल

सागर परियार / जुम्ला । दोस्रो लहरको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि देशभर जारी निषेधाज्ञाले कर्णालीका उत्पादनमूलक उद्योग सङ्कटमा परेका छन् ।
गत वर्ष ९/१० महिना ठप्प भएर भर्खर लयमा फर्किन थालेका उद्योगधन्दा फेरी थला परेका हुन् ।
कडा निषेधाज्ञाले उद्योग सञ्चालन तथा उत्पादित बस्तुको बजारीकरण नहुँदा एकातर्फ सयौँले रोजगारी गुमाएका छन् । भने उद्यमीहरू ऋणमा डुब्दै गएका छन् ।
जुम्लामा पछिल्लो समयमा उद्योग दर्ता गर्नेको सङ्ख्यामा उल्लेखनीय वृद्धि भएको छ ।
स्वदेशमै इलम गरेर रोजीरोटी जुटाउने तयारीमा रहेका नवउद्यमीहरु शुरुमै घाटामा परेका छन् ।
करिब १० लाखभन्दा माथिको लगानीमा सञ्चालन गरिएका उत्पादनमूलक उद्योग बन्द भएपछि उद्यमी घाटामा परेका हुन् ।
चैत मसान्त सम्मको तथ्याङ्क अनुसार जुम्लामा करिब ८२ करोड लगानीमा ८ सय ६९ वटा उद्योग दर्ता भएका छन् । जसमा उत्पादनमूलक तर्फ ६ सय ५ वटा उद्योग रहेका छन् । अहिले दोस्रो लहरको कोरोना कारण सबै उद्योग पूर्ण बन्द भएका छन् ।

तिला गाउँपालिका–४ का उद्यमी कृष्णकान्त चौलागाईले स्वदेशमै आय–आर्जन गर्ने सोचले १० लाखको लगानीमा तरकारी तथा फलफूल उद्योग सञ्चालन गरेको बताए । तर कोरोनाले गर्दा गरिखान नदिएको उनको गुनासो छ ।
त्यस्तै तिला ८ का बल बहादुर बस्नेत पनि कोरोनाले गर्दा भर्खर सञ्चालन गरेको उद्योग बन्द भएपछि घाटा व्यहोर्नु परेको बताए ।
कृष्णकान्त र बलबहादुर मात्र नभई जुम्लाका करिब ६ सय उद्यमीहरू कोरोनाले गर्दा सङ्कटमा परेका छन् ।
करिब साढे दुई करोडको उत्पादन थन्कियो
जुम्लाको आरके स्याउ प्रशोधन तथा फलफूल डिस्टिलरी उद्योगको करिब २ करोड बराबरको उत्पादित सामान थन्किएको छ ।
दोस्रो लहरको कोरोना संक्रमण रोकथामका लागि जारी लकडाउनका कारण देशका मुख्य सहरहरू बन्द भएपछि उद्योग सङ्कटमा परेको उद्योग सञ्चालक रामकृष्ण चौलाँगाईले बताए ।
उनले भने,“गत वर्षको ऋण फेरी ऋण निकालेरै तिरियो । धौधौ गरी श्रमिकलाई तलब खुवाइयो । यसपालि ठुलो सङ्कट आइपरेको छ । करिब साढे २ करोडको उत्पादन थन्किएपछि उद्योग नै सङ्कटमा छ ।”
अर्ग्यानिक स्याउबाट उत्पादन हुने चाना, वाइन, जुस, साइटर, मार्फा लगायतका करोडौँ बराबरको उत्पादित सामान थन्किएको उहाँको भनाई छ ।
काठमाडौँ, विराटनगर, पोखरा, हेटौडा, सुर्खेत नेपालगन्ज लगायतका बाह्य सहरहरूमा कोरोनाको अवस्था सामान्य नभएसम्म आफ्नो उद्योग बन्द गर्नुको विकल्प नरेको समेत उनले उल्लेख गरे ।
सरकारले व्यवसायी उद्यमीका लागि राहत प्याकेजका कुरा मात्रै गरेर गत वर्ष पनि यस वर्ष पनि घाटामै पारेको उनले दुखेसो गरे।
यता जिल्लाकै पहिलो राडी पाखी उद्योग पनि लाखौँ घाटा खानुपरेको उद्योग सञ्चालन कुन्जाङ पुटिक तामाङले बताए ।
उनले भने,“करिब ५ लाख बराबरको उत्पादित सामान थन्किएको छ । विक्री भएको डेढ दुई लाख उठ्न बाँकी छ । उद्योग सञ्चालन गर्दा ल्याएको ऋण तिर्न बाकी छ । बैङ्कले किस्ता हाल्न ताकेता गरेको गरै छ । तर कमाई छ ।”

Translate »