जुम्लामा पर्वतीय विज्ञान विश्वविद्यालय स्थापना हुने

सागर परियार / जुम्ला । जुम्लामा दोस्रो राष्ट्रिय गौरवको आयोजनाका रुपमा विश्व विद्यालय निर्माण हुने भएको छ ।

३ सय शय्याको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानपछि दोस्रो ठुलो आयोजनाका रुपमा जुम्लामै पर्वतीय विज्ञान तथा प्रविधि विश्वविद्यालय निर्माण हुने भएको हो ।

कर्णालीका पूर्व कानुन मन्त्री तथा सांसद नरेश भण्डारीको पहल तथा कर्णाली प्रदेश सरकारको लगानीमा जुम्लामै विज्ञान प्रविधि तथा पर्वतीय विश्वविद्यालय निर्माण हुने गरी प्रक्रिया अघि बढेको छ ।

जुम्लाको चन्दननाथ नगरपालिकामा केन्द्रीय कार्यालय हुने गरी कर्णालीको संसद् सचिवालयमा गएको कार्तिक २२ गते विद्ययक दर्ता भई संसद्मा टेबुल भएको पूर्व मन्त्री नरेश भण्डारीले बताए।

गत साता गृह जिल्ला जुम्लामा आएका पूर्व मन्त्री भण्डारीले भने, “कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जस्तै गौरवको आयोजना पर्वतीय विश्वविद्यालय जुम्लामै बन्न लागेको हो । स्वास्थ्यपछि शैक्षिक हबको रुपमा विश्वविद्यालयले जुम्लालाई चिनाउने छ ।”

पूर्व मन्त्री भण्डारीले जसरी स्वास्थ्य सङ्कटमा कर्णाली प्रतिष्ठानले राज्यलाई ठुलो सहयोग गरिरहेको छ । त्यसै गरी पर्वतीय विश्वविद्यालयले कर्णालीमा प्राज्ञिक जनशक्ति उत्पादन गर्ने बताए।

विश्वविद्यालय स्थापनाको विधेयक सैद्धान्तिक छलफलका लागि प्रदेशसभामा टेबुल भइसकेको र सांसदहरुले केही पक्ष संशोधनको प्रस्ताव राखेको छन् । यध्दपी विश्वविद्यालयको केन्द्रिय कार्यालय जुम्लामै हुने मन्त्री भण्डारीले दाबी गरे ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले कर्णालीमा स्वास्थ्यमा क्रान्ति ल्याएको छ । त्यसै गरी नै पर्वतीय विश्व विद्यालय स्थापनापछि कर्णालीको उच्च स्तरीय शैक्षिक क्रान्ति अगाडि बढ्ने समेत अपेक्षा गरिएको छ ।

अन्य विद्यालयभन्दा पर्वतीय विश्वविद्यालय खोज अनुसन्धानमा सँगै प्राज्ञिक उन्नयनका लागि जोड दिने जुम्ला बहमुखी क्याम्पस जुम्लाका उपप्राध्यापक प्रकाशचन्द खत्रीले बताए ।

उनले भने, “जल, जमिन, जटिबुटी, कृषिको प्रचुर सम्भावना रहेको नेपालमा अहिले सम्म अनुसन्धानात्मक काम अन्य विश्वविद्यालयले गरेका छैनन् । जुम्लामा बन्ने पर्वतीय विश्वविद्यालय नेपालकै पहिलो हो । यसले नेपालको अध्ययन र अनुसन्धानमा टेवा पुराउने छ ।”

उहाँका अनुसार हाल नेपालमा १० वटा विश्वविद्यालय रहेका छन् । जुम्लामा पर्वतीय विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापनापछि नेपालमा विश्वविद्यालयको सङ्ख्या ११ पुग्ने छ ।

जुम्लामा स्थापना हुने विश्व विद्यालयले अध्ययनसँगै अनुसन्धानमा विशेष जोडिनुपर्ने उनको सुझाव छ ।

उच्च शिक्षा अध्यापनसँगै अनुसन्धान केन्द्र
पर्वतीय विश्व विद्यालय स्थापनापछि कर्णाली प्रदेश लगायत हिमाली क्षेत्रका कृषि वन, जडीबुटी, ऊर्जा, पर्यटनको अनुसन्धान केन्द्रका रुपमा समेत विकास गरिने भएको छ ।

स्वास्थ्य शिक्षाबाट वञ्चित कर्णालीका छोराछोरीले अब जुम्लामै हरेक विषयको अध्ययन अनुसन्धान गर्नेछन् ।

आगामी आवको बजेट अधिवेशनसँगै कर्णाली प्रदेशसभामा विज्ञान प्रविधि विश्वविद्यालय दर्ता विधेयक २०७६ माथि छलफल हुने सांसद पदम रोकायाले बताए।

२०६८ सालमा स्थापना भएको देशकै गौरवको स्वास्थ्य संस्था कर्णाली प्रतिष्ठानको विद्ययक पनि तत्कालीन सांसद तथा पूर्व प्रदेश गृह मन्त्री नरेश भण्डारी २०६४ सालको चुनावपछि सङ्घीय संसद्मा टेबुल गरेका थिए ।

कर्णाली प्रदेशको राजधानी पछिको ठुलो सहर जुम्लामा एकपछि अर्को गर्दै स्वास्थ्य शिक्षाका पूर्वाधार निर्माण हुन थालेका छन् ।

कर्णाली प्रतिष्ठान लगायत अन्य भौतिक संरचना निर्माण भएका छन् । नागरिक अगुवा राज बहादुर महतले भन्नुभयो, “चुकेनी जलविद्युत र रारा जलविद्युत २ मेगावाट विद्युत्, विश्वविद्यालय लगायतका अन्य सडक पूर्वाधार निर्माणले पनि पछिल्लो समय गति लिएको छ ।”

कुनै समय गुणस्तरीय स्वास्थ्य शिक्षा नपाएर अशिक्षा गरिबी सिकार बनेको कर्णाली पछिल्लो समय देशकै नमुना प्रदेशका नमुना महत्त्वपूर्ण योजना निर्माण हुन थालेपछि कर्णालीवासी खुसी भएको नागरिक अगुवा महतको भनाई छ ।

Translate »