सदरमुकाममा मात्रै उच्च सावधानी, गाउँमा संक्रमण बढ्दै

सागर परियार / जुम्ला । गाउँमा स्थानीयको चरम लापरबाहीले दोस्रो लहरको कोरोना संक्रमण भयावह रुपमा फैलिएको छ । साबुन पानीले हात नधुने, सामाजिक दुरी कायम नगर्ने, मास्क नलगाउने लगायतका सावधानी नअपनाउँदा कोरोना फैलिएको हो । यही साता तातोपानी गाउँपालिका १ राँका गाउँमा २५ जनाको एन्टीजेन परीक्षण गर्दा २३ जनामा संक्रमण पुष्टि भयो । त्यसपछि राँका गाउँलाई १० दिन सम्म सिल गरिएको छ ।
गाउँमा एकाएक संक्रमण बढेपछि गाउँका नागरिक त्रसित भएका छन् । त्यस्तै डेढ हप्ताअघि मात्रै तातोपानी ६ कै रावतबाडा गाउँमा पनि एकाएक संक्रमण बढेपछि गाउँ सिल गरिएको थियो । भने, अन्य गाउँमा पनि संक्रमण बढी रहेकै छ ।

पछिल्लो समय सदरमुकाम संक्रमण घट्नु र गाउँमा संक्रमण फैलिनुको कारण गाउँमा बढ्दो लापरबाही र सदरमुकाममा उच्च सावधानी नै हो । जुम्लाका ग्रामीण क्षेत्रमा कोरोना संक्रमण फैलन नदिन पालना गर्नुपर्ने कुनै पनि स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेको भेटिँदैन । घरबाहिर निस्कँदा मास्कको प्रयोग हुँदैन । घरमा आउँदा नियमित साबुन पानीले हात धुने गरेको भेटिँदैन। खेती किसानीको काम गर्दा सामाजिक तथा व्यक्तिगत दूरी कायम गरिएको समेत पाइँदैन ।
जताततै भिडभाड र लापरबाही बढिरहेको छ । तातोपानी १ का वडाध्यक्ष प्रेम कठायत भन्छन्, खेतीपातीको सिजन भए पनि सावधानी छैन। स्वास्थ्य भन्दा काममै बढी ध्यान दिन्छन् । घरघरमा ज्वरोका बिरामी भेटिएपछि परीक्षण गर्दा संक्रमण देखियो ।
कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । गाउँमा न निषेधाज्ञाको पालना गरिएको छ, न त निषेधाज्ञाबारे अनविज्ञ नै छन् । स्थानीय लोक दमाईले स्थानीयकै लापरबाहीले संक्रमण बढ्न सक्ने जोखिम भएकाले गाउँमा कडा निषेधाज्ञा गर्नु पर्ने बताए।
उनले भने, बिना सावधानी गाउँ गाउँमा विकासे काम, खेतीपाती भइरहेका छन्। एक गाउँदेखि अर्को गाउँमा गएर खेति किसानीको काम भइरहेका छन्। गाउँमा जमघट हुने, भिडभाड गर्नेदेखि मन्दिरमा देवताको पूजा गर्ने र सामूहिक रूपमा छलफल भइरहेका छन् ।
गाउँतिर कोरोनाका हटस्पट सुर्खेत नेपालगन्जदेखि आउने व्यक्ति निर्बाध रूपमा गाउँ प्रवेश गरिरहेका छन् । होम आइसोलेसनका नाममा घरमा बसिरहेका छन् । स्थानीय तहले बनाएका आइसोलेसनमा बस्न मानिरहेका छैनन् । गाउँमा कोरोना संक्रमण बढिरहेको छ । स्थानीय तहका आइसोलेसन प्रयोगविहीन छन् चिकित्सकसहितको कोभिड अस्पताल हरेक स्थानीय तहमा सञ्चालनमा छन्। तर अधिकांश कोभिड अस्पताल र आइसोलेसन रित्तै छन् ।
जनस्वास्थ्य सेवा कार्यालय जुम्लादेखि एन्टिजेन र पिसिआर परीक्षण गर्न जाँदा कोरोना जँचाउन मान्दैनन्। कतिपय युवाहरू गाउँमा कोरोना जाँच गर्छन् भनेर जडीबुटी खोज्न जङ्गलतिर जाने गरेको स्थानीय बताउँछन् ।
स्थानीयले गाउँका जनप्रतिनिधिले कोरोना रोकथाममा सक्रियता बढाए पनि स्थानीयको लापरबाहीले जोखिम बढेको छ । कोरोना रोकथामका लागि जारी लकडाउन प्रभाव सदरमुकाममा मात्रै देखिन्छ । गाउँमा होटल, पसल सबै खुल्लै छन् । मास्क समेत स्थानीयले नियमित प्रयोग गरेको पाईदैन् ।
सदरमुकाम खलङ्गा आसपासमा भने निकै कडा छ । स्थानीयले प्रशासनले तोकेको समयमा बाहेक अरू बेला बजार खुल्न पाउँदैनन्। स्वास्थ्यकर्मी र कर्मचारीबाहेक अन्यले आवतजावत गर्न पाउँदैनन्। चोक चौकमा प्रहरी परिचालन गरिएको छ ।
औषधि पसल तथा खाद्यवस्तु बाहेक सबै सेवा ठप्प गर्न आदेश दिएको छ । सदरमुकाम खलङ्गामा निषेधाज्ञाको पालना राम्रै भएको छ । तर गाउँमा बेहाल नै छ । जिल्ला प्रशासन कार्यालय जुम्लाको तथ्यांक अनुसार हालसम्म जुम्लामा ४ सय ९६ जना संक्रमित छन्। २५७ जना निको भएर घर फर्किएका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा ३६ जनाको उपचार भइराखेको छ । जुम्ला बाहिरका तीन जना र जुम्लाका दुई जना गरेर पाँच जनाको मृत्यु भइसकेको छ ।
सदरमुकाममा मात्रै कडा र गाउँमा लापरबाही भएको कोरोना सिकार गाउँका नागरिक स्वयम भइरहेका छन् । अझै सचेतना कार्यक्रममा जोड दिन आवश्यक रहेको नागरिक अगुवा राज बहादुर महत बताउँछन् । प्रहरी प्रशासनले सदरमुकाम जस्तै गाउँमा निषेधाज्ञाको पालना बारे हरेक दिन गाउँ गाउँमा स्कटीङ गर्नुपर्ने समेत उनको भनाई छ ।

Translate »