‘बाफुखोला’ बाट १५ करोड बराबरको आलु निकासी हुँदै

बुद्धिमान पुन/ सल्यान । सल्यानको बाफुखोलाका किसानहरु आलु खन्ने तयारीमा जुटेका छन् । बर्खे आलु उत्पादन हुने क्षेत्रका रुपमा परिचित जिल्लाको बागचौर नगरपालिका वडा नम्बर ११ र १२ बाफुखोलाका किसानहरु आलु खन्ने तयारीमा जुटेका छन् । यहाँको केही किसानले फाट्टफुट्ट मात्रामा आलु खन्न शुरु गरेपनि प्रायः किसानले भने आलुको बजार भाउ पर्खिएर बसेका छन् ।

बाफुखोलाका किसानहरुले आलुखेतीबाट वर्षेनी मनग्य आम्दानी गर्दै आएका छन् । आलु खेती गरेर बाफुखोलामा एक घर किसानले न्यूनतम ५० हजारदेखि ७ लाखसम्म वार्षिक आम्दानी गर्ने गरेका छन् ।

यहाँको वर्षभरिको घरखर्च टार्ने आय आर्जनको स्रोत भनेको आलु खेती हो । आलु विक्रीको लागि तयार भइसकेको र असारको पहिलो हप्तादेखि खन्न शुरु हुने स्थानिय खकेन्द्र खत्रीले जानकारी दिए ।

उनले आलु निकासीका लागि दोभान बजारसम्म नै ट्रक आउने भएकाले निकासीमा कुनै समस्या नहुने भएपछि किसानहरु बजार भाउ पर्खिएर बसेको जानकारी दिए । अहिले बाफुखोलामा ३० देखि ३२ रुपैयाँ प्रतिकिलोमा आलु विक्री भइरहेको छ । ‘आलु खेती र पशुपालन यहाँको मुख्य पेशा हो, आलुखेतीबाट राम्रो आम्दानी भइरहेको छ’ उनले भने ।

खाद्यान्नवाली लगाउन छोडेर यहाँका किसानले आलुखेतीमा जोड दिएको अर्का स्थानिय बीर बहादुर वलीले जानकारी दिए । ‘राम्रो उत्पादन हुन थालेपछि बाफुखोलामा आलुखेती गर्न थालिएको छ, यसलाई विस्तार गर्न एक दशक नै लाग्यो, अहिले आलुखेती नगर्ने बाफुखोलामा कोही छैनन्’ उनले भने ।

बाफुखोलाका करीब ५०० घरधुरीले व्यावसायीक रुपमा आलुखेती गर्दै आएका छन् । बाफुखोलामा यस वर्ष गतवर्ष कै हाराहारीमा आलुको उत्पादन हुने आँकलन गरिएको छ । बागचौर नगरपालिका वडा नम्बर १२ का वडाअध्यक्ष दिपक वलीले यस बर्ष बाफुखोलामा करीब १५ करोडको हाराहारीमा आलु उत्पादन हुने आँकलन गरिएको बताए ।

उनले यसवर्ष बाफुखोलामा उत्पादित आलु निकासीमा कुनै समस्या नहुने बताए । ‘कर्णाली प्रदेश सरकार र बागचौर नगरपालिकाको १ करोड २० लाख रुपैयाँको समपुरक बजेटबाट खौला देखि दोभान बजारसम्म सडकको स्तरोन्नति गरिएको छ, अहिले १० चक्के ट्रक नै बाफुखोलामा आउँछन्’ उनले भने ‘यस वर्ष आलु निकासी नभएर गाउँमै थन्किने अवस्था आउँदैन ।’

२०४८ सालबाट बाफुखोलामा आलु खेती शुरु भएको कृषकहरु बताउँछन् । जिल्लाको बाफुखोलासँगै शिवरथ, कोटवारा, ढाकाडाम लगायतका क्षेत्रमा आलु खेती गरिन्छ ।

यहाँ उत्पादन भएको आलु दाङ, नेपालगञ्ज, भैरहवा, बुटवल, पोखरा लगायतका शहरमा जाने गर्दछ । जिल्लामा करीब १ हजार ७०० हेक्टर क्षेत्रफलमा हिँउदे आलु र करीब ४०० हेक्टर क्षेत्रफलमा बर्खे आलु खेति हुँदै आएको छ ।

Translate »