पहिरोले हिमाको खलढुंगामा १२ घर भत्किए

११७ जना विस्थापित

सागर परियार / जुम्ला । अविरल वर्षाका कारण पहिरो आउँदा जुम्लाको हिमा गाउँपालिका – ६ पातरखोलाको खलढुंगा र दलित बस्तीका १२ वटा घर भत्किएका छन् । पहिरोले ४ घरमा आंशिक क्षति पुर्‍याएको छ । पहिरोका कारण १६ घरधुरीका १ सय १७ जना विस्थापित भएका छन् ।

गाउँबस्तीको चारैतिर पहिरो गएर घरका विभिन्न भाग भत्किन थालेपछि स्थानीयको बिचल्ली भएको छ । गाउँ नै पहिरोको उच्च जोखिममा परेपछि विस्थापित घरपरिवार आफन्तको शरणमा पुगेका छन् ।

खलढुंगाका सुर्य अधिकारी, रत्नराज अधिकारी,भक्त अधिकारी,सिंह अधिकारी,मुनराज अधिकारी,पुन्न अधिकारी र दलित बस्तीका रति दमाई र गज दमाई लगायत १२ जनाको घर भत्किएको हिमा गाउँपालिका अध्यक्ष रज बहादुर शाहीले बताए । पातरखोला क्षेत्रका करिब ८० घर पहिरोको उच्च जोखिममा रहेका छन् ।

लामो समयसम्म वर्षा हुँदा गाउँ नै जोखिम छ । स्थानीय सूर्यबहादुर अधिकारीले भने, “पातरखोलाको खलढुँगा गाउँमा घर पहिरोले भत्काउन थालेपछि स्थानीय त्रसित छन् । गाउँ छोडेर सुरक्षित ठाउँमा जान थालेका छन् ।”
प्रहरी निरीक्षक युवनकुमार चौधरीका अनुसार हिमा गाउँपालिकामा वर्षाले गर्दा सबै गरी १६ वटा घरमा पहिरोले क्षति गरेको छ । जसबाट १ सय १७ घरपरिवार विस्थापित भएको प्रहरी निरीक्षक चौधरीको भनाई छ ।

उनले भने,“पहिरो घरै बगाएको छैन । तर कसैका पर्खाल भत्किएका छन् । कसैका झ्याल ढोका भत्किएका छन् । कसैका घरभित्रै पानी पसेको छ । जोखिम बढेपछि स्थानीय विस्थापित भएका हुन् ।” विस्थापित १६ घरका १ सय १७ जना अहिले सुरक्षित नै रहेको प्रहरीले जनाएको छ ।


हिमा गाउँपालिका अध्यक्ष रजबहादुर शाहीले एक बर्ष अघि नै पातरखोलाका जोखिम बस्ती सुरक्षित स्थानमा सार्न निर्णय भएपनि संघीय सरकार चासो नदिएको बताए। बस्ती स्थानान्तरण गर्नका लागि सघन शहरी विकास तथा भवन डिभिजन कार्यालय जुम्लालाई परिपत्र गरिएको र बजेट नजुटेपछि स्थानान्तरण समस्या भएको छ ।

यता, सघन शहरी विकास तथा भवन निर्माण आयोजनाको कार्यालय जुम्लाका शव इन्जिनियर चन्द्र खड्काले उक्त जोखिम बस्ती स्थानान्तरण लागि करिब १२ करोड लाग्ने अनुमान सहित केन्द्रमा कार्यक्रम पठाएको बताउनुभयो । तर चालु वर्षमा पनि स्वीकृत भएन । आगामी आर्थिक वर्षमा पनि त्यो कार्यक्रम बजेटमा परेको छैन । यस विषयमा सबै क्षेत्र तथा निकायबाट पहल गर्नुपर्ने उनको जोड छ ।
वर्षाले भेडी गोठालाको बिचल्ली
गर्मी छल्न पाटन उक्लेका भेडी गोठालाहरु निरन्तरको वर्षाले विचल्लीमा परेका छन् । भेडाको बथानसँगै पाटन र खर्कमा बसेका भेडी गोठाला बिचल्लीमा परेका हुन् । भोजपत्र, त्रिपाल र ढुङ्गाले छाएको गोठमा बसिरहेका भेडी गोठालालाई एकातिर चट्याङको खतरा छ भने अर्कोतिर भेडा बाख्रालाई भोकै राख्नुपर्ने बाध्यता छ । ‘पाटनमा भरपर्दो गोठ नै छैनन्, आफैले बनाएका गोठ हावाहुरीले उडाउने खतरा हुन्छ ।

तातोपानी गाउँपालिका – ७ सर्मीका भेडी गोठाला कृष्ण खड्काले भन्नुभयो“गत वर्ष यही समयमा पानीको वास्ता नगरी भेडा चराउन हिँडेका एक छिमेकी गोठाला चट्याङले मृत्यु भयो । अहिले पनि त्यस्तै नहोला भन्न सकिने अवस्था छैन । २०७२ सालमा पनि करिब १० दिनसम्म निरन्तर वर्षा हुँदा सयौँ भेडा मरेका थिए ।”

पाटन क्षेत्रमा चार महिना बसाइपछि गोठालाहरू घर फर्किन्छन् । जिल्लाका पाँच सय, माझखर्क, सुकदह, सुपाकुना, गाडखर्क, भुरिचुला लगायतका पाटनमा अस्थायी भेडी गोठ छन् । जुम्लामा करिब ७४ हजारको हाराहारीमा भेडा रहेको पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाका प्रमुख गोविन्द महतले बताए ।

‘आम्दानी राम्रो छ, भेडाको सङ्ख्या बढिरहेको छ’ उनले भने,‘कर्णाली प्रदेशले यो वर्षबाट गोठालो भत्ता दिने भएको छ । ५० भन्दा बढी भेडाबाख्रा भएका किसानलाई मासिक ५ सय गोठालो भत्ता दिने भएपछि गोठाला हर्षित छन् ।’

Translate »