कुरिलो खेतीतर्फ सल्यानका किसानको आकर्षण बढ्दो

दीपक शर्मा/ सल्यान । पछिल्लो समय सल्यानका कुरिलो खेतीतर्फ किसानको आकर्षण बढ्न थालेको छ ।
आयुर्वेदिक फाइदा र कम लगानीमा पनि राम्रो आम्दानी हुने भएपछि किसानहरूको कुरिलो खेतीतर्फ आकर्षण बढेको हो ।
कुरिलो खेतीबाट थोरै समयमा मनग्य आम्दानी हुने भएपछि कालीमाटी गाउँपालिका २ टाट्केका किसानहरू सामूहिक कुरिलो खेतीमा जुटेका छन् ।
शारदा दलित महिला समूहले हरियाली महिला कबुलियत वनमा सामूहिक कुरिलो खेती गरेका हुन । कम खर्चमा बढी आम्दानी हुने र कुरिलो खेतीका लागि सल्यानको हावापानी पनि राम्रो भएकाले सामूहिक रूपमा खेती गरेको कालीमाटी गाउँपालिका २ टाट्केका हुमी टमाटाले बताइन ।
जङ्गलमा खेर गएको जमिनको सदुपयोग पनि हुने आम्दानी पनि हुने भए पनि कबुलियत वनमा कुरिलो खेती गरिएको टमाटाको भनाई छ ।

पहिलो वर्ष तीन हजार कुरिलोको बिरुवा रोपिएको उनले बताइन । उनले भनिन ‘‘थोरै क्षेत्रफलमा पनि राम्रो आम्दानी हुने र यसको जरादेखि लिएर डाँठसम्म बिक्री हुने भएपछि समूहले निर्णय गरेर सामूहिक खेती सुरु गरेका हौँ ।’’
कुरिलो प्रतिकिलो ३ सयदेखि ४ सय रुपैयाँसम्म अहिले बिक्री हुँदै आइरहेको छ ।
मानव स्वास्थ्य र आर्थिक उपार्जनका समेत राम्रो हुने भएकाले कुरिलो खेतीलाई प्राथमिकता दिएको अर्का किसान बेल बहादुर परियारले बताए ।
कुरिलो तरकारीको रूपमा प्रयोग हुने र यसको स्वाद अन्य तरकारीको भन्दा मिठो भएका कारण पनि बजारमा कुरिलोको माग अत्यधिक भएको बुझेपछि सामूहिक खेतीमा लागेको उनले बताए ।
कबुलियत वनको झन्डै ५ रोपनी क्षेत्रफलमा खेती सुरु गरेको उनको भनाई छ । वनमा १ हजार ५ सय टिमुर र ५ सय तेज पात समेत रोपिएको उनको भनाई छ ।