घरको डिजाइन निर्माणको अलमल : ७ नमुना डिजाइन हुन सक्छन् विकल्प

काठमाडौ । घर उभिन सिमेन्ट, डन्डी र इँटा मात्रै भएर पुग्दैन । त्यसभन्दा पहिला घरको डिजाइन गर्नु चुनौतीपूर्ण र महत्वपूर्ण दुवै हुन्छ । डिजाइनअनुसार नै योजना बनाइएको घरले आकार लिने भएकाले डिजाइन नै आकर्षक, परम्परागत शैली, वास्तुकला झल्कने र खासगरी भूकम्पप्रतिरोधी हुनु जरुरी छ ।

अर्कोतर्फ आफ्नो घरको बनावटलाई कसरी पृथक राख्ने भन्ने सोच्नुभएको छ तर कुनै योजना तथा डिजाइन फुर्न नसकेको हो भने तपाईंलाई हालै सरकारले सार्वजनिक गरेका ७ वटा नमुना डिजाइन काम लाग्न सक्छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहमा बन्ने निजी आवास, सामुदायिक तथा सार्वजनिक भवन बनाउने गरी डिजाइन सार्वजनिक गरेको छ ।

नेपाली ढाँचाको परम्परागत भवनका विभिन्न ७ वटा नमुना डिजाइन सरकारले सार्वजनिक गरेको छ । त्यसअनुसार यी डिजाइनबाट १ तले घर तथा भवनदेखि साढे २ तले घर बनाउन सकिन्छ । यसअनुसार थारु शैली र नेवारी शैलीका संरचना निर्माण गर्ने नमुना डिजाइन बनाइएको छ ।

यी नमुना डिजाइन परम्परागत वास्तुकलाको संरक्षण, सम्वद्र्धन र प्रचार–प्रसारको उद्देश्य राखेर सार्वजनिक गरिएको छ । यसअनुसार भवन तथा घरको नक्सा पास गर्दा स्थानीय वास्तुकला झल्कने, प्राचीन सांस्कृतिक कला, संस्कृतिको प्रवद्र्धन हुने गरी नक्सा पास गर्ने प्रबन्ध मिलाउन पनि मन्त्रालयले निर्देशन दिएको छ ।

तपाईंले चाहेको डिजाइनअनुसार घरलाई आकार दिन सक्नुहुन्छ भने यस्ता शैलीका भूकम्पप्रतिरोधी आवासीय भवन निर्माण गर्न झन्डै दर्जन कुरामा ध्यान दिनुपर्छ ।

निर्माण स्थलको छनोट गर्दा भौगर्भिक चिरा परेका ठाउँ, पहिरो जान सक्ने क्षेत्र, २० प्रतिशतभन्दा बढी भिरालो, खोला छेउ र पानी जम्ने स्थानमा आवास निर्माण गर्नु हुँदैन । यसैगरी अन्य विषयमा पनि सचेत हुन भनिएको छ ।

हेरौं, कस्तो नमुना डिजाइनअनुसार के–के कुरा हुनुपर्छ 

  • नमुना डिजाइन १ अनुसार सामान्य आकारको साढे २ तले घर बनाउँदा आर्किटेक्चरल विवरण जस्तै, घर तथा भवन बनाउँदा लम्बाइ बरन्डासहित २२ फिट र चौडाइ २० फिट ६ इन्च हुनुपर्छ । तलाको उचाइ भने ८ फिट ४ इन्च हुनुपर्छ भने जमिनसतहदेखि धुरीसम्म अर्थात् कुल उचाइ २२ फिट हुनुपर्छ । यो डिजाइनअनुसार कोठाको संख्या भने २ वटा हुन्छन् ।
  • नमुना डिजाइन २ अनुसार भने साढे २ तले भवन बनाउँदा जमिन सतहदेखि धुरी अर्थात् कुल उचाइ २७ फिट हुन्छ । यसमा पनि बरन्डासहित २६ फिट २ इन्च लम्बाइ र २२ फिट ३ इन्च चौडाइ हुनेछ । कोठाको संख्या भने भुइँ तला र माथि गरी ४ कोठा हुनेछन् । यसमा स्थानीय वातावरणीय, सामाजिक, सांस्कृतिक परिवेशलाई केही हदसम्म झल्काएको छ ।
  • नमुना डिजाइन ३ अनुसार भने नेवार शैलीको घर बनाउन अर्थात् डिजाइन गर्दा तथा घर तथा भवन बनाउँदा घरको मोहडा परम्परागत नेवारी शैलीको वास्तुकला झल्काउने खालको हुनेछ । इँटाको गारोमा सिमेन्टको जोडाइ हुने यसमा भवनको लम्बाइ २३ फिट ६ इन्च र चौडाइ २३ इन्च २ फिटको हुनेछ भने कोठाको संख्या भने भुइँ तलामा ३ र माथिल्लो तलामा पनि ३ वटै हुनेछन् ।
  • नमुना डिजाइन ४ अनुसार पनि तपाईले  इँटाको गारोमा सिमेन्टको जोडाइ गरेर साढे २ तलाको नेवारी शैलीको घरका लागि डिजाइन तयार गर्न सक्नुहुन्छ अर्थात् घर बनाउन सक्नुहुन्छ । यो पनि साढे २ तलाको भए पनि लम्बाइ भने २७ फिट ११ इन्च छ भने चौडाइ १२ फिट २ इन्चको हुन्छ । यसको तलाको उचाइ पनि ८ फिट ६ इन्चको हुनुपर्छ । यसमा पनि भुइँ तलामा २ र माथिल्लो तलामा २ गरी ४ कोठा बनाउन सकिन्छ ।
  • नमुना डिजाइन ५ अनुसार भने तपाईले थारु शैलीको घर बनाउन सक्नुहुन्छ । २१ फिट २ इन्चको लम्बाइ र २० फिट ९ इन्चको चौडाइ हुने यो डिजाइन १ तले घर तथा भवनका लागि हो । यसमा २ कोठा हुन्छन् भने थारु शैली देखाउन स्थानीय निर्माण सामग्री, माटोलगायत प्रयोग गर्न सकिन्छ ।
  • नमुना डिजाइन ६ अनुसार भने २ तले थारु शैलीको घर बनाउन सकिन्छ । यसमा २५ फिट ९ इन्च लम्बाइ, १८ फिट २ इन्च चौडाइ हुन्छ । घरको मोहडामा परम्परागत थारु शैली देखाउन माटो वा सिमेन्ट चिप्स ढलान राख्न सकिन्छ ।
  • नमुना डिजाइन ७ अनुसार पनि थारु शैलीकै दुई तले घर बनाउन सकिन्छ । यसमा लम्बाइ भने २५ फिट ९ इन्च हुन्छ भने चौडाइ १८ फिट २ इन्चको हुन्छ ।(आर्थिक अभियान)
Translate »