२०८३ भदौ २९ , सोमबार
Sky News Nepal
September 14, 2026

हुम्लामा राहतको चामल सकिन थाल्यो

उत्तरी नाका ठप्प हुँदा यार्सा समेत विकेन


साउन ४, सुर्खेत ।

चीनले नेपालका सबै साना नाकाहरू साउन तथा भदौको पहिलो सातामा गरी वर्षमा दुईपटक खोल्ने गर्दथ्यो । दुई वर्षअघि साउन, भदौमा एक साताका लागि खोलेर बन्द गरेका नाका अहिलेसम्म खुलेनन् । जसका कारण उत्तरी सम्मका सीमा क्षेत्रका बासिन्दा विविध समस्या झेलिरहेका छन् । मुख्य नाकाहरू पनि निर्वाध सहज नहुँदा व्यापार–व्यवसाय प्रभावित भएका छन् ।

वुहानमा कोभिड–१९ का बिरामी भेटिएपछि चीनले औपचारिक रूपमा नाका बन्द गरेको थियो। सदरमुकामबाट छ, सात दिनसम्म हिँडेपछि पुगिने देशका अधिकांस उत्तरी सीमावर्ती गाउँहरूमा अहिले बाढीपहिरोका कारण पदमार्ग हिँड्नै नसक्ने गरी भत्किएका छन्। सीमा पनि नखुल्ने, सदरमुकामबाट जाने पदमार्ग पनि बन्द हुँदा उत्तरी सीमा क्षेत्रका बासिन्दामा भोकमरीको चिन्तामा छन् ।

खाद्यान्न संकट आउन थालेपछि देशका केही जिल्लाका उत्तरी गाउँहरूमा हेलिकप्टरबाट धेरथोर चामल ढुवानी गरी भरथेग गर्ने प्रयास गरिएको छ । अन्य जिल्लाका गाउँहरू खाद्य संकटको अवस्थामा पुगेका छन् । चीन सरकारले हुम्लास्थित हिल्सा र लाप्चा नाका बिगत दुई वर्षदेखि एकतर्फी रूपमा बन्द गर्दा सीमा आसपासको गाउँबस्तीको जनजीवन कष्टकर बनेको छ। नुनदेखि सुनसम्म तिब्बत बजारमा निर्भर रहेको नाम्खा गाउँपालिकाअन्तर्गतका हल्जी, तिल र जाङ गाउँका करिब १ हजार ५ सय जनाको जनजीवन कष्टकर भएको हो ।

लामो समयको नाकाबन्दीका कारण खाद्यान्नको हाहाकार हुने भएपछि गत वैशाखमा सुदूरपश्चिम प्रदेश सरकारले ढुवानी गरी अनुदानको चामल ती बस्तीमा पु¥याएको थियो। त्यसले लामो समयसम्म थेग्न नसकेपछि अहिले गाउँ–गाउँमा खाद्य संकट हुन थालेको स्थानीयवासीको गुनासो रहेको स्थानीय पत्रकार नवराज महताराको भनाइ छ ।

कमाइ हुने बाटै बन्द

डोल्पाको से–फोक्सुण्डो गाउँपालिकास्थित १४ नम्बर सीमास्तम्भ रहेको ट्याटो र १५ नम्बर पिलर रहेको मर्युम नाका बन्द भएको दुई वर्ष भयो। चीन सरकारले एकतर्फी रूपमा नाका बन्द गर्दा जनजीवन कष्टकर भएको वडा नंं ४ का वडाअध्यक्ष पेमावाङ्जेन लामा बताउँछन्।

‘यहाँको पूरै जनजीवन तिब्बती बजारमा निर्भर हो’, वडाअध्यक्ष लामा भन्छन्, ‘नाका ठप्प भएको दुई वर्ष हुन लाग्यो। खुल्ने कुनै छाँटकाँट छैन। समस्या अतिसार भइसक्यो।’

यहाँको उत्पादनले स्थानीयवासीलाई तीन महिनालाई पनि भरथेग हुँदैन। ‘यहाँ उवा मात्र उत्पादन हुन्छ। यसले खान पुग्दैन’, वडाअध्यक्ष लामा भन्छन्, ‘यहाँ यार्सागुम्बु छ, पशुपालन छ तर नाका बन्द भएपछि केही पनि बेच्न पाइएको छैन। बाँच्न र बचाउन मुस्किल भइसक्यो। एक साताका लागि मात्र भए पनि खुलाइदिए हुन्थ्यो।’

यार्साको कारोबार ठप्प

मुगु सदरमुकाम गमगढीबाट ९३ किलोमिटर टाढा रहेको मुगुर्मारोङ गाउँपालिका र तिब्बत जोड्ने नाक्चेलाग्ना नाका दुई वर्षदेखि बन्द हुँदा मुगुमकार्मारोङ गाउँपालिकामा बसोबास गर्ने स्थानीय बासिन्दा प्रत्यक्ष समस्यामा छन् ।

नाक्चेलाग्ना नाका दुई वर्षदेखि बन्द हुँदा तिब्बतको हर्वामा हाटबजार दुई वर्षदेखि लाग्न सकेको छैन। आपूmलाई वर्षभरि पुग्ने खाद्यान्न लत्ता कपडादेखि अन्य दैनिक उपभोग्य सामग्री यही हाटबजारबाट जोहो गरेर ल्याउने मुगुम कार्मारोङवासीले दुई वर्षयताबाट एकतर्फी रूपमा तिब्बतले नाका बन्द गर्दा स्थानियबासी समस्यामा परेका हुन।

यो क्षेत्रमा वर्षभरि गरेको खेतीले तीन महिना पनि खान नपुग्ने मुगुम कार्मारोङ गाउँपालिका सूचना अधिकारी तीर्थराज शाहीले बताएका छन् । दुई वर्ष यताबाट तिब्बतीहरूले खबर पठाएनन् र सरकारी निकायले समेत नाका खुल्ने कुनै पहल गरेको गुनासो मुगुम कार्मारोङ गाउँपालिका–२ का वडा अध्यक्ष कार्मा तामाङले बताए ।

‘अहिले नाका बन्द हुँदा केही गतिविधि हुन सकेको छैन । स्थानीयवासीले चार, पाँच दिन लगाएर गमगढीबाट खाद्यान्न ढुवानी गर्नुपर्ने बाध्यता छ’, गाउँपालिकाका अध्यक्ष छिरिङ क्याप्ने लामाले बताए । सीमा क्षेत्रका बासिन्दाले संकलन गरेको यार्सागुम्बु, जडिबुटीको मुख्य बजार नै हर्वामा लाग्ने हाटबजार हो । हरेक वर्ष २० देखि ३० करोड रुपैयाँ बराबरको यार्सागुम्बालगायत अन्य जडिबुटीसमेत यो नाकाबाट तिब्बतीहरूसँग कारोबार गर्छन् । दुई वर्ष यताबाट नाका बन्द हुँदा स्थानीयहरूले यार्सा संकलन गरेका छैनन् । अन्नपूर्ण

प्रकाशित मिति : २०७८ साउन ४ गते सोमबार
Translate »