कर्णालीमा बढ्दै लापरवाही, फैलिँदै कोरोना

सावधानी अपनाउन सुउवासंघको व्यापारीलाई आग्रह

स्काई न्यूज / साउन २३, सुर्खेत ।
छिमेकी बाँकेसहित आसपास जिल्लाहरुमा पुनः दैनिक कोरोना संक्रमितहरु फेला परिरहेका छन् । संक्रमण पुनः फैलन थालेपछि विभिन्न स्थानमा पुनः निषेधाज्ञा थपिने क्रम जारी छ । दोस्रो चरणको कोरोनाले थला परिसकेको भारतमा काम गर्न पुगेका नेपालीहरु पनि धमाधम स्वदेश फर्कन थालेका छन् । भारतबाट फर्किने धेरैमा कोरोनाभाइरसको संक्रमण पुष्टि भइरहेको छ । यद्यपि ! पछिल्लो समय भारतमा कोरोना संक्रमितको दर घटेपनि जोखिम कायमै रहेको छ । कोरोना भाइरसको नयाँ भेरिएन्ट अझ बढी संक्रामक र घातक भएको जनस्वास्थ्यविद्हरु बताउँछन् । ‘कोरोना जोखिम कम गर्नका लागि यतिबेला हामीले निकै सचेत हुन जरुरी छ,’ कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका स्वास्थ्य निर्देशक डाक्टर रविन खड्काले भने, ‘स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गर्ने र अनावश्यक भीडभाडमा नजानेलगायत न्यूनतम् नियमहरु पालना गर्न आवश्यक छ ।’ तर, यहाँ लापरवाही बढ्दो छ । भीडभाडमा, सार्वजनिक यातायातमा पनि मास्क नलगाइ मानिसहरु बिन्दास तरिकाले हिँडिरहेका हुन्छन् । न्यूनतम् स्वास्थ्य मापदण्ड पालना गर्नेहरु पनि कमै छन् । त्यही भएर पछिल्ला दिनहरुमा सुर्खेत आसपासका जिल्लाहरुमा कोरोनाभाइरस संक्रमणको ग्राफ बिस्तारै उकालो लाग्दैछ । जनस्वास्थ्यका मापदण्डमा चरम लापरवाही गर्दा कोरोना भाइरसको संक्रमणको दर पुनः उकालो लागेको हो । स्थानीय प्रशासनहरुले कोरोना नियन्त्रण तथा रोकथामका लागि भन्दै गरेको निषेधाज्ञा खुकुलो पारेका छन् । सुनसान बनेका शहर बजारहरुमा मान्छेको आवत–जावत बाक्लिँदै गएको छ भने जनस्वास्थ्यका मापदण्डको पालन भएको देखिँदैन् । जसका कारण, कोरोना पुनः मौलाउने संकेत देखिएको हो । साउनयता दैनिक संक्रमण बढ्ने गरेको छ भने डिस्चार्ज हुनेको संख्या घट्ने गरेको छ । यद्यपि, मृत्यु हुनेको संख्यामा भने कमी आएको देखिन्छ । पछिल्लो २४ घण्टामा कर्णालीमा कोरोनाबाट संक्रमित हुनेको संख्या धेरै र निको हुनेको संख्या थोरै रहेको छ । शनिबार साँझसम्म कर्णालीमा ४२ नयाँसँगै हालसम्म १० हजार १ सय ३२ जना कोरोना संक्रमित भईसकेका छन् । ती मध्ये २८ हजार ५ सय ५४ जनाले कोरोना जितिसकेको स्वास्थ्य सेवा निर्देशनालयको तथ्यांकमा उल्लेख छ । कर्णालीमा कोरोनाबाट ३ सय ५६ जनाको मृत्यु भईसकेको छ । स्वास्थ्य निर्देशक डा. खड्का कोरोनाको कहर पुनः बढ्नसक्ने भएकाले सतर्कता अपनाउनु पर्नेमा जोड दिनु हुन्छ ।

सके निःशुल्क नसके शुल्कमा खोप देऊँ
सुर्खेत उद्योग वाणिज्य संघले फेरी कोरोनाको ग्राफ उकालो लागेका लकडाउन फेरी हुन सक्ने भएकाले सावधानी अपनाउन आग्रह गरेको छ । संघका अध्यक्ष धनबहादुर रावतको अध्यक्षतामाा बसेको बैठकमा वरिष्ठ उपाध्यक्ष हर्षविक्रम खड्का, महासचिव लक्ष्मण कँडेललगायतले सुर्खेतस्थित सम्पूर्ण व्यापारी तथा उद्योगीलाई कोरोना जोखिम पहिलेकै जतिकै जोखिम कायमै रहेकाले लापरवाही नगरी सावधानी अपनाउन आग्रह गरेका छन् । बैठकमा संघका पदाधिकारीसँगै वस्तुगत समितिका प्रमुख, जनप्रतिनिधि, कोरोना जानकार डाक्टर, पत्रकार तथा उपभोक्ताकर्मीसँग गरिएको छलफलमा व्यापारी र ग्राहकको लापरवाहीले कोरोना संक्रमण बढिरहेकाले फेरी पूर्ण निषेधाज्ञा लागुभएपछि पुनः व्यापार, व्यवसाय र उद्योगधन्दा चौपट हुने चिन्ता जाहिर गरिएको थियो । बैठकमा कोरोनाको जोखिम सबै भन्दा बढी बजारमै हुने भएकाले निषेधाज्ञाको असर व्यापार व्यवसायसँगै उपभोक्तालाई समेत पर्ने भएकाले स्वास्थ्य सुरक्षाका मापदण्डको कडाईले पालना गराउन तर्फ सबै जुट्नु पर्नेमा जोड दिईएको महासचिव कँडेलले बताए । उनले जोखिम मोलेर व्यापार गरी मुलुकलाई व्यापार नाफा दिने व्यवसायीहरुलाई खोप दिने व्यवस्था मिलाइदिन जिल्ला स्थित सरोकारवालासँग माग गरिएको बताए । ‘बैठकले सके सरकारले निःशुल्क नसके व्यवसायीहरु सँग पैसामा पनि उपलब्ध गराइदिन माग गरेका छौं,’ उनले भने, ‘कोरोना कहरको वीच पहिलो लहरमा रहेर व्यापार गर्ने व्यापारी र उनीहरुका परिवार निकै जोखिममा रहेकोले कोरोनाको खोप अति आवश्यक रहेको छ ।’

सुर्खेत र कालिकोटमा निषेधाज्ञा थपियो
सुर्खेत जारी निषेधाज्ञा दश दिन थपिएको छ । कोराना रोकथाम तथा नियन्त्रणका लागि गत बैशाख १४ देखि लागू गरिएको निषेधाज्ञा साउन ३२ गतेसम्म लम्ब्याइएको हो । निषेधाज्ञा खुकुलो भएसँगै सार्वजनिक स्थानहरुमा बढेको भिडभाड व्यवस्थापन गर्न जिल्ला प्रशासन कार्यालयले निश्चित मापदण्ड बनाएर बिहान ८ देखि साँझ ७ बजेसम्म बजार खोल्न पाइने बताएको छ । सभा, सम्मेलन, तालिम, गोष्ठी, सेमिनार, फुटसल, जिमखाना, सिनेमा हल, सैलुन, ब्यूटीपार्लरलगायतका व्यवसाय सञ्चालन गर्न अझैं रोक लगाइको छ । यसैवीच कालिकोटमा समेत जारी निषेधाज्ञा १० दिनका लागि थप गरिएको छ । जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी देवीन्द्रप्रसाद श्रेष्ठले जिल्लाभरि भदौं १ गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको जानकारी दिए ।

कर्णालीका ७६ हजारलाई खोप
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार कर्णाली प्रदेशमा ७६ हजार ३ सय ७२ जना नागरिकले कोरोनाविरुद्धको खोप लगाएका छन् । १ करोड ६५ लाख जनालाई खोप लगाउने लक्ष्यमा हाल देशभरका २२ लाख ७ हजार ९ सय ५५ जनाले कोरोनाविरुद्धको खोप पाईसकेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । लक्षित नागरिकलाई खोप लगाउने योजना अनुसार खोप अभियानलाई तीव्ररुपमा अघि बढाईको मन्त्रालयको भनाइ छ ।

Translate »