काबुलको ‘दलाल क्याम्प’ मै अल्झिए नेपाली
काठमाडौँ — अफगानिस्तानको राजधानी काबुलबाट ठूला कम्पनीमा कार्यरत नेपाली कामदारको उद्धार भए पनि साना कम्पनीमा काम गर्ने र कामविहीन नेपाली भने दलाल क्याम्पमै अल्झिएका छन् । उनीहरूले जतिसक्दो छिटो उद्धार गरिदिन नेपाल सरकारलाई आग्रह गरेका छन् ।
‘हामी अहिलेसम्म दलाल क्याम्पमै छौं । पहिलाभन्दा गाह्रो छ । बाहिरको स्थिति पनि ठीक छैन । जतिसक्दो छिटो उद्धार भए हुन्थ्यो,’ काबुलको एक भवनमा बस्दै आएका नेपालीले कान्तिपुरसँग भने, ‘हामी यहाँबाट छिटो निस्कन चाहन्छौं ।’ उनीसँगै ४० जना नेपालीको समूह छ । उनीहरू ६ देखि १६ महिना अगाडि काबुल पुगेका हुन् । ‘यस्तो स्थिति आयो कि रोजगारी होइन जीवन जोगाएर स्वदेश फर्कन पनि कठिन भयो,’ उनले भने । सुरक्षाका डरले आफ्नो परिचय र काबुलसम्म पुर्याउने दलालबारे उनीहरूले बताउन भने चाहेनन् । ‘जति अलपत्र परेका छन् सबै एजेन्टबाट आएकाहरू छन्,’ १५ जनाको अर्को समूहमा रहेका एक नेपालीले भने, ‘अहिले काबुलमा अलपत्र नेपालीबीच सम्पर्क बढेको छ ।’ उद्धारका लागि उनीहरूले परराष्ट्र मन्त्रालय, दिल्लीस्थित नेपाली दूतावास र काबुलमा तोकिएका सम्पर्क व्यक्तिसँग कुराकानी गरिरहेका छन् ।
‘विमानस्थलसम्म कसरी पुग्ने र उड्ने निकै ठूलो चुनौती छ,’ ती नेपालीले भने । काबुल छोड्न चाहने हजारौं अफगान नागरिकले विमानस्थलका ढोका घेरेका छन् । ‘हामी झन्डै ७२ घण्टाको संघर्षपछि विमानस्थल प्रवेश गर्न पायौं,’ दोलखाका सुमन मोक्तानले भने, ‘प्रवेशद्वारमा घम्साघम्सी चल्छ । अमेरिकी सेनाले भित्र छिर्न दिँदैन । भीड व्यवस्थापन गर्न नसकेपछि सेनाले हवाई फायर गरिरहन्छ ।’ एक सातायता विमानस्थलमा २० जनाको ज्यान गइसकको छ । विमानस्थल प्रवेश गरेको दुई दिनपछि मोक्तानले शनिबार बिहान काबुल छोड्न पाएका थिए । ‘८७ जना भारतीय नेपालीसँगै हामी दुई नेपालीको उद्धार भयो । टिकट पाउनासाथ काठमाडौं आउनेछौं,’ उनले भने ।
नेटो सेनाको समन्वयमा झन्डै २८ हजार जनाको उद्धार भइसकेको छ । तीमध्ये एक हजार नेपाली सुरक्षा हुन् । ५ सय ४ जना काठमाडौं आइसकेका छन् । अन्यलाई कतार, कुवेत, यूएई र बेलायत पुर्याइएको छ । ‘हामीलाई बेलायतमा ल्याएर होटल क्वारेन्टाइनमा ल्याएर राखिएको छ । एकमहिने भिसा दिइएको छ,’ जर्मन दूतावासमा कार्यरत एक नेपालीले भने, ‘कहिलेसम्म यहाँ राख्ने हो थाहा छैन ।’ दलाल क्याम्पमा रहेका नेपाली भने नेपाल सरकारले नै अगुवाइ र समन्वय गरे मात्रै आफूहरूको उद्धार सम्भव हुने बताउँछन् । त्यसरी परराष्ट्र मन्त्रालयमा नाम टिपाउनेको ३ सय ५६ पुगेको छ । त्यसरी नाम टिपाउनेहरू साना कम्पनीमा काम गर्ने सुरक्षा गार्ड, कुक, निर्माण क्षेत्रका कामदार र कामविहीन छन् । ‘ठूला कम्पनीमा काम गर्नेको जिम्मेवारी त सम्बन्धित देशले लिइसके । हाम्रो जिम्मेवारी नेपाल सरकारले नै लिनुपर्ने अवस्था छ,’ १३ जनाको समूहमा रहेका अर्का नेपालीले भने, ‘कहिले उद्धार हुन्छ ? कसरी हुन्छ ?’ परराष्ट्र मन्त्रालयका अनुसार नेपालीको पहिचान, नेपालीबीच अन्तरसञ्जाल निर्माण र मित्रराष्ट्रसँग समन्वय भइरहेको छ ।
‘विमानस्थलमा बसेको ३ दिनपछि दिल्ली आइपुग्यौं’
हमिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थल प्रवेश गरेका ३ दिनपछि आइतबार बिहान २ बजे दिल्ली आइपुग्यौं । काबुलमा रहेका ८७ जना भारतीय नागरिकलाई लिन एयर इन्डियाको जहाज गएको बेला म (सुमन मोक्तान)र इलामको सन्तोष राईलाई ल्याइदियो । हामी गत बुधबार विमानस्थलमा पस्न दिनभर प्रयास गरेका थियौं । सम्भव नभएपछि सुरक्षाका लागि विमानस्थलको छेउकै होटल परिसरमा आएर बस्ने मौका पायौं । होटललाई बेलायती सेनाले सुरक्षा दिएको थियो । होटलमा कोठा नपाइएपछि बाहिरै नै बस्नुपर्यो । चर्को घाममा दिन कटाउनुपर्यो । विमानस्थल छिर्न पाइन्छ भनेर होटलमा रहेका सबै बाहिर नै आएर बस्थे । बेलायती विमानस्थल छिर्ने ग्यारेन्टी नभएसम्म होटलबाट बाहिर ननिस्कनु भन्थ्यो । बाहिर निस्किए सुरक्षा दिन नसक्ने बताउँथ्यो । बिहीबारको हुलदंगामा ३ जनाको मृत्यु भएपछि हाम्रै अगाडिबाट लास लगिएको थियो ।
होटलमा खानेकुरा केही थिएन । कहिलेकाहीं साथीहरूले बिस्कुट पाइन्थ्यो । नत्र पानीको भर । मंगलबार बिहानदेखि खाना खाएको छैन । भारतीयको साथमा भएकाले हामीलाई दिल्लीस्थित नेपाली दूतावासले भारतबाट आउने विमानमा ल्याउने पहल भइरहेको खबर दिएको थियो । यताको अवस्था नाजुक भएकाले भारतबाट विमान आउन पनि सकेन । उडान नै रद्द भएको खबर आयो । बेलायती सेनाले अमेरिकी सेनासँग समन्वय गरेर शुक्रबार बिहान ७ बजे विमानस्थलभित्रको अमेरिकी सेनाको क्याम्पभित्र ल्यायो । भित्र छिरेपछि अब बाँचिन्छ भन्ने आस बढ्यो । उनीहरूले खाना खान दिए । शनिबार बिहान एयर इन्डिया लिन आयो । ताजिकिस्तान हुँदै आइतबार बिहान दिल्ली आइपुग्यौं । अहिले नेपाल जाने प्रतीक्षामा बसिरहेका छौं । अब त ढुक्क भएको छ । (कान्तिपुर)