कर्णालीका ५७ प्रतिशत नागरिक अझै विद्युतको पहुँच बाहिर

सागर परियार/  जुम्ला । कर्णाली प्रदेशका ५७ प्रतिशत नागरिक अझै विद्युतको पहुँच बाहिर रहेको पाइएको छ । कर्णाली प्रदेशका १० जिल्ला मध्य ७ जिल्लामा राष्ट्रिय प्रसारण लाइन पुगिसक्दा समेत अझै यहाँका ५७ प्रतिशत नागरिक अन्धकारमै रहेका हुन् ।

२०६८ को जनगणना अनुसार कर्णाली प्रदेशको कुल जनसङ्ख्या १५ लाख ७० हजार ४ सय रहेको छ । भने हाल सम्म कर्णालीका ५७ प्रतिशत अर्थात् ८ लाख ९४ हजार ९ सय नागरिक अझै विद्युतको पहुँचमा पुग्न सकेका छैनन् ।

यद्यपि, विगतको तुलनामा कर्णालीमा विद्युत् उपभोग गर्ने नागरिकको सङ्ख्यामा वृद्धि भएको छ । दुई वर्ष अघि सम्म ६७ देखि ७२ प्रतिशत नागरिक विद्युतको पहुँच बाहिर रहेकोमा हाल ५७ प्रतिशतमा झर्नु सुखद पक्ष हो । तर सङ्घीयता सँगै देशमा विद्युतको विकासमा भइरहेको लगानी अनुसार दुर्गम कर्णालीका सबै जिल्लामा राष्ट्रिय प्रसारण लाइन तथा घरघरमा बत्ती नपुग्नु दुखद पक्ष भएको कर्णालीका नागरिक अगुवा बताउँछन् ।

राष्ट्रिय प्रसारण लाइनका साथै साना जलविद्युत आयोजनाबाट उत्पादन भएको विद्युत् उपयोग गर्ने घरधुरीको सङ्ख्या कर्णालीमा ४३ प्रतिशत रहेको छ । नेपाल विद्युत् प्राधिकरणको तथ्याङ्क अनुसार जुम्लामा हाल सम्म १९ दशमलव ३ प्रतिशत नागरिक मात्रै विद्युतीय पहुँचमा पुगेका छन् ।

करिब १९ हजार घरधुरी रहेको जुम्लामा १९ प्रतिशत मात्रै विद्युतको पहुँचमा पुग्दा अझै १३ हजार घरधुरीमा बत्ती पुग्न पुगेको छैन । जुम्लामा साना लघु जलविद्युत आयोजना दर्जनौँ सञ्चालनमा छन् । त्यसबाट लाभान्वितको सङ्ख्या भने, यकिन हुन नसकेको विद्युत् प्राधिकरण वितरण केन्द्र जुम्लाका प्रमुख गौरव पाण्डेले बताए ।

उनले भने ,“जुम्लामा पछिल्लो समय विद्युत् उपभोग गर्ने नागरिकको सङ्ख्या बढेको छ । राष्ट्रिय प्रसारण लाइन पनि नियमित छ । गाउँका विद्युत् आयोजना पनि सञ्चालित छन् । तर विद्युत् प्रयोग गर्नेहरूको सङ्ख्या यकिन नहुँदा प्रयोगकर्ता कम देखिएको हो । एक वर्षभित्रै जुम्लाका सबै घरमा राष्ट्रिय प्रसारण लाइन पुग्छ ।”

त्यसका साथै, रुकुम पश्चिममा ७५ दशमलव २ प्रतिशत, सललनमा ५२ दशमलव ८८ प्रतिशत र सुर्खेतमा ४८ दशमलव १६ प्रतिशत घरधुरी विद्युतको पहुँचमा पुगेका छन् । भने, दैलेखमा ४८ दशमलव ७३ प्रतिशत,जाजरकोटमा १६ दशमलव १५, डोल्पामा २१ दशमलव ९ प्रतिशत, कालिकोटमा ४३ दशमलव ५७ प्रतिशत, मुगुमा १९ दशमलव ६४ प्रतिशत र हुम्लामा २९ दशमलव ६९ प्रतिशत घरधुरी मात्रै विद्युतको पहुँचमा पुगेका हुन् ।

साथै, कर्णाली प्रदेशका १० जिल्ला मध्य ७ जिल्लामा राष्ट्रिय प्रसारण लाइन पुगेको छ । तर साबिक कर्णालीका दुर्गम पाँच जिल्ला मध्य ३ जिल्लामा अझै राष्ट्रिय लाइन पुग्न सकेको छैन । हाल सम्म पनि राष्ट्रिय प्रसारण लाइन नपुग्दा माथिल्लो कर्णालीका हुम्ला, डोल्पा र मुगुका नागरिक अन्धकारमै बस्न बाध्य छन् ।

स्थानीय जलविद्युत आयोजनाहरू पटक पटक बिग्रिने, हिउँदा वर्षामा बन्द हुने समस्याले अन्धकारमै बस्न बाध्य भएको डोल्पा काइगाउँकी स्थानीय महिला धाँचु बुढाले गुनासो गरिन् । उपचारका क्रममा जुम्ला पुगेकी बुढालाई सोध्दा डोल्पा विद्युत् मात्र नभई सडक पूर्वाधार,स्वास्थ्य,शिक्षा रोजगारका हिसाबले पछि परेको सुनाए ।

कहिले कहिले बत्ती आउने र अधिकांश समय ज्वरो बालेरै रात काट्नु पर्ने स्थिति रहेको उनको भनाई छ । यता नेपाल विद्युत् प्राधिकरण, प्रादेशिक कार्यालय कर्णाली प्रदेश कार्यालयका अनुसार हुम्ला, डोल्पा र मुगुमा २ वर्षमा राष्ट्रिय प्रसारण लाइन पुर्‍याइने छ ।

Translate »