कालापहाडदेखि……. सरकारी जागिरसम्म

देव सजन सुनार पेशाले सरकारी जागिरे हुन् । उनको वर्तमान जति सुन्दर छ,विगत त्यति ने कहालीलाग्दो छ । २१ वर्षको उमेरमा सरकारी सेवामा प्रवेश गरेका देवको जीवजनयात्रा कुनै सिनेमाको कथाभन्दा फरक छैन ।

२०६३ सालमा उनले बाबा गुमाए । बाबा बितेसँगै उनीमाथि नौ वर्षकै उमेरमा जिम्मेवारी थपियो । आड र भरोसा सकियो । अभिभावकको काखमा खेल्ने उमेरमा उनले ढुंगा र बालुवासँग खेल्नुपर्‍यो ।

आमा ३० वर्षको हुँदै बाबा बितेपछि एकल महिला भएकै कारण उनकी आमामाथि समाजका केही मान्छेले मुटु छेड्ने वचन लगाउथे । जुन वचन उनलाई सह्य हुँदैनथ्याे ।

उनले विगत सम्झिदै भने, ‘बाबा बितेपछि हाम्रो घरमा दशैँ कहिल्यै आएन । कहिलेकाहीँ हजुरआमाको वृद्धा भत्ता आएको दिन हामी औधी खुसी हुन्थ्यौँ र एकछाक मिठो खान्थ्यौँ ।’

समय बित्दै गयो । जेठो छोरो भएकाले उनीमाथि जिम्मेवारी थपियो । परिवार चलाउन उनी कामको सिलसिलामा चौध वर्षको उमेरमा उनी भारतको कालापहाड पुगे । त्यतिबेला उनी नौ कक्षामा पढ्थे ।

त्यो दिन सम्झंदै सजन भन्छन्, ‘जेनतेन गाउँ नजिकैको विद्यालयमा नौ कक्षासम्म पढेँ । घरमा आम्दानीका विकल्प थिएन । त्यसकारण गाउँका ठूला मान्छेको साथमा लागेर भारतको कालापार पुगेँ । परिवार र ज्यान पाल्नकै लागि ज्यालादारीमा काम गरेँ । जीवन संघर्ष रहेछ । मैले त्यो बेला बाँच्नका लागि संघर्ष गरेँ ।

कालापहाडमा ढुंगा फोरें। गिट्टी कुटेँ । पेट पाल्न परिआएको सबै काम गरेँ । तर हरेक दिन काम गरिरहँदा मलाई मेरो सपनाले पोलिरहन्थ्यो । जति दुख भए पनि मैले पढ्नुपर्छ भन्ने लागिरहन्थ्यो । म सिजनको बेला ज्यालादारी काम गर्थेँ । बाँकी महिनामा नेपाल आएर पढेँ । तीनचार महिना काम गरेर एक वर्ष खान पुर्‍याउँथे । बाँकी समय पढ्थे । मेरो लोकसेवा बाहेकको सबै रिजल्ट भारतमा नै भएको हो ।’

झोलामा किताब लिएर स्कुल हिँड्ने बेलामा उनी हातमा घन लिएर जिन्दगी चलाउन थाले । कामको सिजन सकिएपछि नेपाल आएर स्कुल जान्थे । त्यसैगरी पढ्दापढ्दै उनले दोस्रो श्रेणीमा एसएलसी गरे ।

एकातिर जिम्मेवारी त छँदै थियो । अर्कातिर उनले ठूलो सपना देखेका थिए । जसरी भए पनि म लोकसेवा आयोग पास गर्छु ।

कक्षा एघारमा एडमिसन गरेर उनी एक महिनाजति कलेज गए । पढ्ने चाहना हुँदाहुँदै कामको सिजन सुरु भयो । त्यसपछि भारतको गुजरात गए । दशैँतिहार उतै बित्यो । कामको सिजन सकिएपछि नेपाल आएर परीक्षा दिए । उनले एघार पनि पास गरे । यस्तैगरी उनको प्लसटु पनि सकियो ।

उनका आफन्त, छिमेकीहरूले उनलाई विवाह गरेर विदेश जान सल्लाह दिन्थे तर उनको यो सोच कहिल्यै आएन । जसरी पनि सरकारी जागिर खाएरै छाड्छु भन्ने संकल्प थियो उनको । नभन्दै उनी कहिल्यै विचलित पनि भएनन् ।

उनले अगाडिको बाटोमा लोक सेवाबाहेक केही पनि देखेनन् । २०७५ साल जेष्ठ महिनाको ९ गते झोलामा  शैक्षिक प्रमाणपत्र र गोजीमा दुई हजार बोकी सरकारी जागिर खाने संकल्पका साथ उनी प्रदेश राजधानी सुर्खेत झरे । सुनौलो सपना देखेका उनले साथीहरूसित मिलेर खुरुखुरु पढिरहे ।अभावभित्र पनि अवसर खोजेर सपना पूरा गर्न निरन्तर लागिरहे ।

उनी लगभग एक वर्ष सुर्खेत बसेर तयारी गरे । २०७६ को जेष्ठ १५ गते लोकसेवाले स्थानीय तहका लागि भारी मात्रामा विज्ञापन गर्‍यो । त्यो विज्ञापनले उनलाई थप खुसी दिलायो । उनी आफ्ना साथी दिपक, दुर्गाराज,भिमहरूसित काठमाडौँ आए ।

विगत सम्झदै उनले भने, ‘हाम्रा लागि काठमाडौं एकदमै बिरानो ठाउँ थियो । त्यसकारण हामी होस्टेल खोजेर बस्यौँ । होस्टेलको दाइ पनि पश्चिमकै हुनुहुँदो रहेछ । हामी चारै जना एउटै कोठामा बसेर तयारी गर्न थाल्यौँ ।

काठमाडौँको होस्टलमा बस्दा कतिबेला घाम उदायो र अस्तायो केही थाहा हुँदैनथ्यो मलाई । मैले गरेको मेहनतले काठमाडौं आएको तीन महिनामै सरकारी जागिर भएँ । त्यसपछि पराई भएका मेरा सबै आफन्त र साथी नजिक भए । अहिले लाग्छ,एक्लै हिँड्न सक्ने भएपछि हात समाउने मान्छेको भीड लाग्दो रहेछ ।

देव सजन सुनार अहिले ओखलढुंगा जिल्लाको चम्पादेवी गाउँपालिकामा वडा सचिव पदमा कार्यरत छन् । उनी भन्छन्, मेरो गन्तव्य यतिमै सीमित छैन । मैले देखेको सपना धेरै फराकिलो र उज्यालो छ ।

मैले जिन्दगीमा अझै धेरै संघर्ष गर्नु छ । यति भन्दा उनका आँखामा बेग्लै चमक देखिएको थियो ।  नागरिक न्यूज बाट । 

Translate »