हालसम्मकै छोटो त्रि–देशीय सडक ओझेलमा
स्काई न्यूज / मंसिर ११, सुर्खेत । नेपाल–भारत–तिब्बत हुँदै चीन जोड्ने हालसम्मकै छोटो र सजिलो त्रि–देशीय सडक निर्माण योजना वषौंदेखि अन्यौलमा परेको छ । राजनीति ईच्छाशक्तिको अभावले सरकारको प्राथमिकतामा नपर्दा भारतको तिकुनिया–कतरनियाघाट, बर्दियाको राजापुर, कैलालीको चिसापानी–घाटगाउँ–गुुटु–मंगलसेन–बाजुरा हुँदै हुम्लाको हिल्साबाट तिब्बत जोड्ने सडक निर्माणले गति लिन नसकेको हो । बर्षेनी टुक्रे बजेट यो रुटमा परेपनि त्यो हात्तीमुखमा जिरा जस्तै हुने गरेको छ । यद्यपि यो सडक सुर्खेतको गुटुबाट अछाम सदरमुकाम मंगलसेन जोडिन अब चार किलोमिटर मात्र बाँकी छ । यस क्षेत्रका बासिन्दाले करिब पाँच दशकदेखि व्यापारिक महत्वको त्रि–देशीय सडक निर्माणलाई प्राथमिकता दिन माग गर्दै आएका छन् । कैलालीको चिसापानी र सुर्खेतको घाटगाउँसम्म सडक निर्माण भैसकेको छ । चौकुने गाउँपालिका अन्तर्गत पर्ने गुुटुका पूर्व जनप्रतिनिधि काशीराम देवकोटाले अछाम बाजुरा सडक सञ्जालमा जोडिसकेकाले तत्काल सुर्खेतको गुटुहुँदै मंगलसेन जोड्ने ट्¥याक निर्माण गरिनुपर्ने बताए । भारतलाई सडक सञ्जालबाट चीनसंग जोड्ने यो अति छोटो मार्ग हो । मानसरोवर तीर्थयात्रा जाने पैदल मार्ग पनि हो । सरकारले दुई वर्ष अघि बजेटमा उक्त सडकका लागि टुक्रे बजेट विनियोजन गरेपनि सुर्खेत खण्डमा अझै ट्¥याक विस्तार हुन सकेको छैन् । चालू आवमा चौकुने गाउँपालिकाले गुटु–साल्म–जंगलाघाट सडक निर्माणका लागि न्यूज बजेट विनियोजन गरेको छ । कैलालीको सुंगुरखाल र घाटगाउँको चिप्लेमा साढे चार सय मिटर लामो मोटरेवल निर्माणको प्रक्रिया अन्तिम चरणमा रहेको छ । त्रि–देशीय सडक सञ्जाल आसपासका बासिन्दाले कतरनिया–सती सुख्खा बन्दरगाह सञ्चालन गर्न माग राख्दै आएपनि राजनीति ईच्छाशक्तिको अभावमा काम अघि बढ्न सकेको छैन् ।
तराई–पहाड जोड्ने छोटो मार्ग
तराई र पहाडीका जिल्ला जोड्ने सबै भन्दा छोटो मार्ग भनेकै ‘चिसापानी–गुटु–मंगलसेन’ फास्ट ट्¥याक हो । १० वर्षअघि साविकको गुटु गाविसले ग्रामीण सडक कार्यक्रम अन्तर्गत थालेको उक्त मार्ग केन्द्रीय योजनामासमेत परेको थियो । पछि राजनीति पहुँच नहुँदा उक्त सडक ओझेलमा पर्दै गएको हो । अछामको मंगलसेन पुग्न पूर्व पश्चिम राजमार्गबाट डोटी हुँदै ३ सय ९० किलोमिटर यात्रा पार गर्नुपर्ने भएपनि चिसापानी मंगलसेन ९० किलोमिटर मात्रै दुरी पर्ने छोटो मार्ग हो । कर्णाली, चिसापानी हुँदै मंगलसेन जोड्न छोटो मार्गको बारेमा यस क्षेत्रबाट राजनीति गर्नेहरुले नबुझेकाले आझेलमा पर्दै गई रहेको स्थानीय समाजसेवी लक्ष्मीबहादुर बयक बताउँछन । उनले कैलाली, सुर्खेत र अछाम जोड्ने उक्त सडक कर्णालीका बासिन्दालाई समेत सडक यातायातको दूरी छोटो हुने बताए । ‘तराईसँग मध्य पहाड र हिमाल जोड्न छोटो र निर्माणमा सहज भएकाले यसको महत्व बढी छ,’ उनले भने, ‘नेपालकै ठूलो क्षमताको बहुचर्चित गुटु–चौकुने सिमेन्ट उद्योगका लागि पनि सडकको बढी महत्व रहेको छ ।’ उक्त सडक बनेमा सिमेन्ट उद्योगको लागतसमेत कम हुने उनको भनाइ छ । उनले हाललाई तीन जिल्ला जोड्ने उक्त सडक निर्माण भएमा धनगढीको चामल सस्तो मूल्यमा अछामलगायत कर्णालीका जनताले पाउने बताए । उनले भने, ‘यो सडक पूरा भएपछि उपभोग्य वस्तुको लागत कम हुने छ ।’ कर्णाली–चिसापानी–घाटगाउँ–गुटु हुँदै अछाम जोड्ने सडक निर्माण भए सुर्खेतको पश्चिम क्षेत्रको विकासमा समेत ठूलो टेवा पुग्ने समाजसेवी देवबहादुर थापाले बताए ।