वेतन कर्णाली जलविद्युत आयोजना : आउँदो वर्षबाट निर्माण शुरु हुने
स्काई न्यूज /मंसिर १८, सुर्खेत । वेतन कर्णाली जलविद्युत आयोजना निर्माण कार्य आउँदो वर्षबाट शुरु हुने भएको छ । इन्जिनियरिङ.अध्ययन, सम्भाव्यता अध्ययन र पहुँच मार्ग बनाउने कामहरु पुरा भएसँगै आउँदो वर्षदेखि निर्माण कार्य शुरु गर्न लागिएको हो । कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताहरु मुख्य प्रवर्द्धक रहेर निर्माण गर्न लागिएको आयोजनाको प्रारम्भिक आधारभूत निर्माण कार्य आउँदो वर्षदेखि शुरु गर्न लागिएको छ । ४ सय ३९ मेगावाट क्षमताको आयोजना निर्माणका लागि आवश्यक पर्ने पूर्व तयारीका कामहरु मध्येको विस्तृत इन्जिनियरिङ.अध्ययन, सम्भाव्यता अध्ययन र पहुँच मार्गको निर्माण लगायतका कामहरु सम्पन्न भएका छन् । आयोजनाको निर्माणका लागि कर्मचारी सञ्चय कोषले विगत ४ वर्षको सञ्चयकर्ताहरुको नाफाबाट ७ अर्ब रुपैयाँ लगानी गर्न छुट्टाएको छ । प्रमुख संरचना अछाम जिल्लाको ढकारी गाउँपालिका र सुर्खेतमा रहने सो आयोजना कर्णाली तथा सुदूरपश्चिम प्रदेशको वीचमा निर्माण हुनेछ । यसै वर्ष भित्र आयोजनाको डिपिआर तयार गरेलगतै आयोजना निर्माणमा जाने र ५ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । पिकिङ गर्न सकिने अर्ध–जलाशययुक्त आयोजनाको रुपमा अघि बढाउन खोजिएको आयोजना प्राविधिक र वित्तीय रुपमा निकै आकर्षक आयोजनाको रुपमा रहेको छ ।
संरचना अछाममा बन्ने
सुर्खेतको बेतानतर्फ भौगोलिक बनावट कमजोर भेटिएपछि आयोजनास्थल अछाममा सर्ने भएको छ । आयोजनाको बाँधस्थल अछामको मालुमेलामा रहने र विद्युत गृह टटालीघाटमा रहने गरि डिपिआर बनिरहेको छ । पहिले बेतानको भूम्केमा आयोजनाको विद्युत गृह भूमिगत राख्ने तयारी गरिएको थियो । मालुमेलाबाट दुई हजार पाँच सय मिटर सुरुङमार्ग हुँदै टटालीघाटमा रहेको विद्युत गृहमा पानी खसाएर विद्युत उत्पादन गरिनेछ । उत्पादित विद्युतलाई प्रशारणलाइनमा जोड्न सुर्खेतको भूम्केमा सवस्टेशन निर्माण गर्ने गरि आयोजनाको डिजाइन गरिएको छ । आयोजनाको अधिकांश संरचना अव अछामको ढकारी र तुर्माखाँद गाउँपालिकामा पर्ने भएका छन् । यस अघि सुर्खेतको बेतानमा आयोजनाका अधिकांश संरचना बनाउने गरि आयोजनाको अध्ययन भएको थियो । आयोजनाको बाँध, सुरुङ र विद्युत गृह अछाममा पर्ने भएसँगै प्रभावित क्षेत्र पनि घटेको छ । यसअघि कैलालीको मोहन्याल गाउँपालिकाको सुगरखाल पनि प्रभावित क्षेत्रमा गनिएको थियो । अब भने सुर्खेतको चौकुने गाउँपालिका र पञ्चपुरी नगरपालिका तथा अछामको ढकारी गाउँपालिका र तुर्माखाँद गाउँपालिका मात्रै प्रभावित क्षेत्रमा परेका छन् ।
क्षमता पनि घट्ने
आयोजनास्थल सरेसँगै बेतन कर्णालीको क्षमता पनि ६ सय ८८ मेगावाट बाट घटेर ४ सय ४२ मेगावाट हुने भएको छ । बेतन कर्णाली माथिल्लो तामाकोशीपछि निर्माणमा जान लागेको दोस्रो ठूलो अर्धजलाशययुक्त आयोजना हो । २०७४ जेठ ७ गते ६ सय ८८ मेगावाट क्षमतामा सर्वेक्षण अनुमति पाएको बेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपावर कम्पनीले विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार पार्ने क्रममा सुर्खेततर्फ कडा चट्टान भएको भूगोल नभेटाएपछि आयोजनास्थल अछामतर्फ सार्ने निष्कर्षमा पुगेको हो । आयोजना स्थल सरेपछि क्षमता ४४२ मेगावाट हुने गरि डिपिआर निर्माण भइरहेको छ । ‘आयोजनाको क्षमता यतिनै हुन्छ भनेर अहिलेनै भन्न सकिन्न,’ कम्पनीका प्रबन्ध निर्देशक रौनियारले भने, ‘अहिले दुई तीन वटा विकल्पमा एक साथ अध्ययन भइरहेको छ ।’ बेतन कर्णालीको क्षमता कति बनाउने भन्ने विषयमा विभिन्न विकल्पमा छलफल भएको उनले स्वीकार गरे । पछिल्लो समय बेतन कर्णालीको क्षमता ४ सय २५ मेगावाटदेखि ४ सय ९० मेगावाट सम्म बनाउन सकिने विषयमा अध्ययन भइरहेको थियो । ड्रिलिङ गर्दै जाँदा सुर्खेत तर्फको भौगोलिक बनावटले साथ नदिएपछि बाँध, सुरुङमार्ग र विद्युत गृह अछाममा रहने गरि ४ सय ४२ मेगावाटमा आयोजना बनाउने मोटामोटी टुङ्गो लागेको स्रोतको दावी छ । १० हजार आठ सय मेगावाट क्षमताको कर्णाली चिसापानी जलविद्युत आयोजनालाई प्रभाव पार्ने भएकाले आयोजनाको क्षमता घटाउन लागेको भनाईमा सत्यता नरहेको रौनियारले बताए । उनले ड्रिलिङ गर्दै जाँदा कमजोर भौगोलिक बनावट भेटिएकै कारण आयोजनाको क्षमता घट्ने स्पष्ट पारे । सम्भाव्यता अध्ययन भएको १० हजार आठ सय मेगावाट क्षमताको कर्णाली चिसापानी दक्षिण एसियाकै सबैभन्दा ठूलो जलविद्युत आयोजना मानिएको छ । तर उक्त आयोजना अघि बढाउने विषयमा सरकारले कुनै ठोस कदम भने चालेको छैन ।
लागत पनि घटने
आयोजनास्थल सरेसँगै बेतन कर्णालीको क्षमता र लागत पनि घटने भएको छ । करिब ६ लाख सदस्य रहेको सञ्चयकोषले हरेक सञ्चयकर्ताले पाउने नाफालाई आयोजनाको शेयरमा रुपान्तरण गर्ने गरि निर्देशिका बनाएको थियो । सञ्चयकोषले आयोजनाको विद्युत खरिदविक्री सम्झौता नहुँदै नेपाल एसबिआई बैंक र नबिल बैंकसँग २५ अर्ब रुपैयाँ सहवित्तियकरणको लागि सम्झौता गरिसकेको छ । आयोजनाको अनुमानित लागत भने आयोजनाको संसोधित क्षमतामा भर पर्ने छ । यस अघि ४२५ मेगावाट क्षमतामा विकास गर्दा ७० अर्ब रुपैयाँ लागत अनुमान गरिएको थियो । आयोजनाको क्षमता घटे लागत पनि घट्नेछ । आयोजनामा करिब ६ लाख सञ्चयकर्ताको ४० प्रतिशत र सञ्चयकोषको १५ प्रतिशत शेयर रहने छ । नेपाल विद्युत प्राधिकरण र विद्युत उत्पादन कम्पनीको १०/१० प्रतिशत शेयर रहने छ । स्थानीय प्रभावितको १० प्रतिशत र सर्वसाधारण तर्फको १५ प्रतिशत गरि २५ प्रतिशत शेयर सर्वसाधारणमा जारी हुने छ ।