अहेबको भरमा प्राथमिक स्वास्थ्य केन्द्र

 

सल्यान । बाग्चौर नगरपालिकास्थित थारमारे र छत्रेश्वरी गाउँपालिका–४ लेखपोखराका प्राथमिक स्वास्थ्य केन्द्र लामो समयदेखि अहेबको भरमा छन् । दरबन्दीमा डाक्टर आए पनि अध्ययनका लागि जाने भन्दै छोटो समयमै सरुवा हुने समस्या छ । १४ वर्षअघि ती स्वास्थ्य केन्द्र स्थापना भएका हुन् ।

डाक्टर नहुँदा स्थानीय विशेषज्ञ सेवाबाट वञ्चित हुँदै आएका छन् । अहेबको भरमा हुँदा बिरामीले सामान्य उपचारबाहेक अरू सेवा पाउन सकेका छैनन् । उनीहरूलाई थप उपचारका लागि निजी क्लिनिक तथा जिल्ला अस्पतालमा धाउनुपर्ने बाध्यता छ । चिकित्सकहरू अध्ययन बिदामा गएपछि थारमारेमा ९ महिनादेखि र लेखपोखरामा ३ वर्षदेखि डाक्टर छैनन् । बाग्चौरस्थित स्वास्थ्य केन्द्रमा बाफुखोला, कोटबेद, थारमारे, शिवरथ, कोटबारा, कोटमौला र पिपलनेटाका बिरामीहरू आउने गरेका छन् । ‘कहिल्यै डाक्टर हुँदैनन्, सानो उपचारका लागि पनि मेडिकलको भर पर्नुपरेको छ,’ बाफुखोलाकी कल्पना विकले भनिन्, ‘अहेबले जाँचेर औषधि छैन मेडिकलमा किन्नु भन्छन्, त्योभन्दा मेडिकलकै भर छ ।’ आएका डाक्टर पनि छोटो समय बसेर फर्कने गरेकाले स्वास्थ्य सेवाका लागि निजी क्लिनिकमा धाउनु परेको कोटबेदका देवबहादुर खत्रीले गुनासो गरे ।

स्थानीय निर्मला बुढाले डाक्टर नभएकै कारण शारीरिक समस्या देखिँदा पनि प्राथमिक स्वास्थ्य केन्द्र जानै छाडेको बताइन् । ‘न त राम्रो उपचार पाइन्छ, न राम्रो सल्लाह नै,’ उनले भनिन्, ‘सानो स्वास्थ्य समस्या देखिए घरेलु उपचार गर्छौं, ठूलो रोग लागे क्लिनिकमा जानुपर्ने बाध्यता छ ।’ प्राथमिक स्वास्थ्य केन्द्रका लागि किनिएको एक्सरे मेसिनसमेत लामो समयदेखि जडान हुन नसकेको छत्रेश्वरी–४ लेखपोखराका बलबहादुर पुनले बताए । ‘अरू स्वास्थ्यचौकी जतिकै पनि सुविधा छैन,’ उनले भने, ‘हाम्रा लागि त केन्द्र हुनु र नहुनु बराबरजस्तै छ ।’

डाक्टर नआउँदा उपचार सेवा प्रभावकारी बन्न नसकेको प्राथमिक स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका अध्यक्ष एवं छत्रेश्वरी–४ का वडाध्यक्ष लीलाधर घर्तीले बताए । डाक्टर पठाउन पटकपटक स्वास्थ्य मन्त्रालयमा आग्रह गरे पनि बेवास्ता भएको उनको गुनासो छ । ‘बिरामीलाई रित्तो हात फर्काउनुपरेको छ,’ उनले भने, ‘डाक्टर आए शल्यक्रिया सुविधासमेत बिरामीले गाउँमै पाउँथे ।’ (कान्तिपुर)

 

Translate »