‘ब्राण्डिङ’ नहुँदा व्यापारीलाई समस्या : कर्णालीबाट घासको भाउमा तेजपत्ता निर्यात
स्काई न्यूज /बैशाख १२, सुर्खेत । कर्णालीका विभिन्न जिल्लामा उत्पादन हुने तेजपत्ताको ‘ब्राण्डिङ’ नहुँदा कृषकले उचित मूल्य पाउन सकेका छैन्न । कृषिसँग सम्बन्धित विभिन्न संघ संस्थाले कृषकलाई प्राविधिक तथा आर्थिक सहयोग गरेपनि तेजपत्ताको ‘ब्राण्डिङ’ नहुँदा घासको भाउमा तेत्तपत्ता विक्री गर्नु पर्ने बाध्य रहेको कृषक बताउँछन् ।
प्रदेशको गुणस्तरीय तेजपत्ताको ‘ब्राण्डिङ’ नहुँदा किसानसँगै व्यापारीले समेत समस्या भोग्नु परिरहेको छ । स्थानीय क्षेत्रमै उत्पादन हुने तेजपत्तालाई ब्राण्डिङ गर्न सरकारी तथा नीजि क्षेत्रबाट हालसम्म पहल नहुँदा कृषक उचित मूल्य पाउन नसकेका हुन् ।
भारतीय व्यापारीहरुले सस्तोमा तेजपत्ता खरीद गरेर कच्चा पदार्थको रुपमा लैजाने गरेका कारण कृषकहरुले मूल्य पाउन सकेका छैनन् । कच्चापदार्थको रुपमा नेपालबाट तेजपत्ता निर्यात हुने गरेको छ ।
तेजपत्ताको कारोबार बर्सेनि बढेपनि स्थानीय उत्पादकले मूल्य पाउन सकेका छैनन् । भारतीय व्यापारीको मागमा मूल्य निर्धारण हुने भएकाले नेपाली उत्पादकहरुले तेजपत्ताको मूल्य भने जति पाउन नसकेका हुन् ।
तेजपत्ताको व्यावसायिक खेती र उत्पादन गर्दै आएका सुर्खेतको गुर्भाकोट नगरपालिका धारापानीका कृषक रेशम खड्काले भारतीय बजारको भर पर्नुपर्ने दिनको अन्त्य नभएसम्म सस्तोमा विक्री गर्न बाध्य भइरहने बताए । उनले उत्पादन भएपनि नेपालमै प्रशोधन गर्ने र आफ्नै ब्राण्ड बनाउने काममा सरकारले सहयोग नगरेसम्म सस्तो भाउमा घाँसको भारी विक्री गरेजस्तो गर्नु परेको गुनासो गरे ।
नेपालबाटै तेजपत्तालाई ब्राण्डिङ गरेर निर्यात गर्ने हो भने उच्च मूल्य प्राप्त गर्न सकिने डिभिजन वन कार्यालय सुर्खेतका सहायक वन अधिकृत सूर्यप्रसाद शर्मा बताउँछन् । उनका अनुसार कर्णालीका विभिन्न जिल्ला संकलित कच्चा पदार्थको रुपमा तेजपत्ता वार्षिक १६ करोड रुपैयाँको कारोबार हुने गरेको छ ।
औषधि र मसलाजन्य नगदेबालीका रुपमा तेजपत्तालाई लिइन्छ । बोलीचालीको भाषामा हाँगासहितको पातलाई सिन्कौली र यसको रुखको बोक्रालाई दालचिनी भनिने तेजपत्ता नेपालमा व्यापक उत्पादन भए पनि मुख्य बजार भने भारत हो ।
सहायक वन अधिकृत शर्माका अनुसार गतवर्षको तुलनामा यो वर्ष तेजपत्ताको निर्यात १५ देखि २० प्रतिशतले बढ्ने संकेत देखिएको छ । उनले यो वर्ष वैशाखसम्ममा करीब १६ करोड रुपैयाँ बराबरको ४ हजार मेट्रिक जडिबुटीको कारोबार भईसकेको जानकारी दिए ।
गतवर्ष कर्णालीबाट ३ हजार ४२० मेट्रिक टन अर्थात् करीब १५ करोड रुपैयाँको कारोबार भएको थियो । उनले भने, ‘कोरोना महामारीभन्दा अघि कर्णाली प्रदेशमा उत्पादित तेजपत्ताको माग अत्यधिक हुँदा प्रतिभारीको मूल्य २ हजार रुपैयाँसम्म पुगेको थियो । तर, लकडाउनयता नेपाली किसानले तेजपत्ताको मूल्य सोचेजति नपाएकाले सस्तैमा विक्री गरिरहेका छन् ।’
नेपालमा उत्पादित ९५ प्रतिशत तेजपत्ता कच्चा पदार्थको रुपमा भारतमा निर्यात हुने गरेको छ । सरकारले तेजपत्ता प्रशोधन, ब्राण्डिङ, प्याकेजिङ, लेवलिङ र मार्केटिङ गर्नसके वार्षिकरुपमा अर्बौ रुपैयाँको कारोबार गर्न सकिने उनको भनाइ छ ।
यसको मूल्य हाल टिपेर ल्याएको सुख्खा पातको प्रतिकिलो ४० रुपैयाँमात्र रहेको छ । नेपाल जडिबुटी व्यवसायी संघका केन्द्रीय अध्यक्ष मोहम्मद याकुब अन्सार्रीका अनुसार आर्थिक वर्ष २०७६/७७ मा करीब १२ करोड ५० लाख रुपैयाँ बराबरको ३ हजार ११० मेट्रिक टन तेजपत्ता भारतीय बजारमा निर्यात भएको थियो ।
आर्थिक वर्ष २०७७/७८ मा ३ हजार ८७५ मेट्रिक टन अर्थात् १५ करोड ५० लाख रुपैयाँको निर्यात भएको थियो । कर्णालीबाट भारतमा निर्यात भएका उक्त परिमाणका तेजपत्ता सल्यान, जाजरकोट, सुर्खेत, दैलेख, कालिकोट र जुम्लाका उत्तरी भेगका किसानहरुले उत्पादन गरेका हुन् ।
तेजपत्ताको मूल्य भारतीय व्यापारीमा भर पर्ने गरेकाले भारतीय व्यापारीले धेरै लगेभने मूल्य बढ्ने र भारतीय व्यापारीले खरीद गरेनन् भने स्वतः मूल्य घट्ने गरेको र कृषकले कति उत्पादन गरेर ल्याए भन्नुभन्दा पनि भारतीय व्यापारीले कति परिमाणमा खरीद गर्छन् भन्नेमा मूल्य भर पर्ने गरेको अवस्था रहेको डिभिजन वन कार्यालय सुर्खेतका सहायक वन अधिकृत प्रशान्त श्रेष्ठले बताए । उनका अनुसार चालु आर्थिक वर्षको पछिल्लो १० महिना विदेश निकासीका लागि सुर्खेतमा २ लाख २२ हजार ६ सय ४० किलो जडिबुटी संकलन भएको छ ।
मूल्य र परिमाणको आधारमा तेजपात नेपालबाट भारत निर्यात हुने वनस्पतिको प्रमुख १० प्रजातिमध्ये पर्दछ । नेपालबाट प्रशोधन नगरिएका कच्चापदार्थको रुपमा तेजपात भारतीय बजारमा पु¥याउने गरिएको र भारतीय बजारमा पु¥याएपछि त्यहीका उद्योगले नेपालका तेजपत्ता, बोक्रालाई प्रशोधन, ब्राण्डिङ, प्याकेजिङ, लेवलिङ र मार्केटिङ गरेर महँगोमा विक्री गर्ने र बाँकी अन्य मुलुकमा पठाउने गरेको छ ।