कृषकलाई वित्तीय सेवा प्रवाहका लागि एएसडीपी र प्रभु बैंकवीच सम्झौंता

स्काई न्यूज /जेठ १३, सुर्खेत । मूल्य श्रृखलामा आवद्ध किसानलाई वित्तीय सेवा प्रवाहका लागि कृषि क्षेत्र विकास कार्यक्रम (एएसडीपी) र प्रभु बैंक लिमिटेडबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । कृषि क्षेत्र विकास कार्यक्रमको मूल्य श्रृखलामा आवद्ध किसानहरुको वित्तीय आवश्यकतालाई सम्बोधन गर्न कृषि क्षेत्र विकास कार्यक्रम र प्रभु बैंकवीच शुक्रबार काठमाडौंमा सम्झौंता भएको हो ।
सम्झौता पत्रमा कृषि क्षेत्र विकास कार्यक्रमका संयोजक विनोदकुमार भट्टराई र प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले हस्ताक्षर गरेका हुन् ।
‘कृषि उत्पादक, कृषि व्यवसायी, साना किसानको माग अनुसारको वित्तीय सेवा सहजरुपमा उपलब्ध गराउने उद्देश्यले एएसडीपी र प्रभु बैंक वीच सम्झौंता गरिएको हो,’ कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डाक्टर गोविन्दप्रसाद शर्माले भने, ‘सम्झौंतापछि कृषकलाई उपयुक्त बैंक, वित्तीय संस्था र सहकारीसँग जोड्न एएसडीपीले सहजीकरण गर्नेछ ।’
उनले बैंकसँग सम्झौंता पश्चात कृषि मूल्य श्रृखलामा आवद्ध किसानहरुको वित्तीय आवश्यकतालाई सम्बोधन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । कृषकको समृद्धिका लागि गरिएको सम्झौताको प्रभावकारी कार्यान्वयनका लागि दुबै पक्षवीच आपसी समन्वय र सहकार्यलाई निरन्तरता दिन समेत उनले सुझाव दिए ।

कार्यक्रममा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले सम्झौता अनुरुप लक्षित वर्गहरुलाई कर्जा सेवा सँगसँगै वित्तीय साक्षरता समेत प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरे । यता कृषि क्षेत्र विकास कार्यक्रमका संयोजक विनोदकुमार भट्टराईले कर्णाली प्रदेशमा कृषि क्षेत्रको विकासका लागि लगानीको अभाव हुन नदिनु बैंकसँग सम्झौंता गर्नुको अर्को उद्देश्य रहेको बताए । उनले किसानको वित्तीय आवश्यकतालाई सम्बोधन गर्न प्रभु बैंकले सक्दो सहयोग गर्ने विश्वास व्यक्त गरे ।
‘कृषि क्षेत्र विकास कार्यक्रम कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोषको आर्थिक सहयोगमा नेपाल सरकारको संघीय कृषि तथा पशुपन्छी विकास मन्त्रालयद्वारा सञ्चालित कार्यक्रम हो,’ उनले भने, ‘कर्णाली प्रदेशका पहाडी तथा उच्च पहाडी क्षेत्रमा बसोवास गरेका नागरिकको गरिवी तथा पोषण असुरक्षा न्यूनिकरण गरी दिगो विकास लक्ष्य अनुरुप गरिवी विहीन र शून्य भोकमरी प्राप्तिमा योगदान पु¥याउनु हो ।’
उनले विस्तारित, विविधिकृत, समावेशी र दिगो कृषि मूल्य श्रृखलालाई क्रियाशील बजारमुखी सार्वजनिक तथा सामुदायिक पूर्वाधारमा एएसडीपी कार्यक्रमले जोड दिईरहेको जानकारी दिए । उनका अनुसार मूल्य श्रृखला विकासका लागि सुदृढ ग्रामीण वित्तीय सेवासँगै विकास नविनताको लागि दिगो कृषि सेवामा सहयोग पु¥याउनु एएसडीपी कार्यक्रमको उद्देश्य रहेको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डाक्टर गोविन्दप्रसाद शर्माको अध्यक्षतामा भएको सम्झौता पत्र हस्ताक्षर कार्यक्रममा प्रभु बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन, कृषि विकास मन्त्रालयका सह–सचिव एवं प्रवक्ता प्रकाशकुमार सञ्जेल, कृषि क्षेत्र विकास कार्यक्रमका संयोजक विनोदकुमार भट्टराईलगायत कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि क्षेत्र विकास कार्यक्रम एवं प्रभु बैंक लिमिटेडका कर्मचारीहरुको सहभागिता रहेको थियो ।