कर्णाली प्रदेशको नीति तथा कार्यक्रम : अधिकांस पुरानै कार्यक्रमको निरन्तरता

स्काई न्यूज/ जेठ २५, सुर्खेत ।  कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७९÷८० को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । प्रदेशसभाको दशौं अधिवेशनको आठौं बैठकमा मंगलबार प्रदेश प्रमुख तिलक परियारले स्वास्थ्य, शिक्षा र पूर्वाधार विकासमा जोड दिएको प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । नीति तथा कार्यक्रममा विगतका अधुरा कार्यक्रम र आयोजनालाई पूर्णता दिन अधिकांश पुरानै कार्यक्रमलाई निरन्तरता दिइएको छ ।

विगतमा शुरु गरिएका मुख्यमन्त्री जीविकोपार्जन कार्यक्रम, मुख्यमन्त्री दलित आयआर्जन कार्यक्रम, विद्यालयमा स्वाथ्यकर्मी कार्यक्रम र दुर्गमका गर्भवती र सुत्केरीको हवाई उद्दार कार्यक्रमलाई राखिएका छन् । प्रदेश सरकारको नीति तथा कार्यक्रम कर्णाली प्रदेशको प्रथम पञ्चवर्षीय योजनाले अङ्गीकार गरेको ‘समृद्ध कर्णाली, सुखारी कर्णालीवासी’ को दीर्घकालीन सोच अनुरूप समावेशी आर्थिक सामाजिक रूपान्तरण एवं गरिबी निवारणतर्फ लक्षित रहेको छ । कर्णाली विकासको प्रमुख आधार छ वा ‘बाटो, बिजुली, बजार, वन, व्यवस्थापन र विचार  यसमा हामी सबैको सहकार्य र सरोकार’ को मूल उद्देश्य पूरा गर्न विगत वर्षका सफल नीति तथा कार्यक्रमले निरन्तरता पाएका छन् ।

 

अघिल्ला आर्थिक वर्षका नीति तथा कार्यक्रममा समावेश भएका छोरीको बैंक खाता खोल्ने कार्यक्रम, कर्णाली उज्यालो कार्यक्रम, कर्णाली र भेरी करिडोरको स्तरोन्नति तथा निर्माण, प्रदेश राजधानी वीरेन्द्रनगरको खानेपानी संकट समाधान गर्नका लागि भेरी लिफ्ट खानेपानी आयोजना, जनता आवास कार्यक्रम र एकीकृत बस्ती विकास कार्यक्रमलाई यसपाली पनि निरन्तरता दिइने उल्लेख छ । प्रदेश सरकारको सेवालाई प्रभावकारी बनाउन प्रदेशका सबै मन्त्रालयहरु एकै स्थानमा रहनेगरी एकीकृत प्रशासनिक भवन निर्माणको योजना सुरु गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

त्यस्तै अघिल्लो आर्थिक वर्षमा सुरुवात गरिएको सहिद, बेपत्ता र घाइतेको निशुल्क उपचार गर्ने, सहिद, वेपत्ता र घाइतेका परिवारलाई मासिक जीवननिर्वाह भत्ता दिने कार्यक्रमलाई निरन्तरता दिईएको छ । यसअघिकै कार्यक्रमहरु सबै कर्णालीबासी र प्रदेशमा कार्यरत कर्मचारीको दुर्घटना तथा जोखिम वीमा गर्ने, हेलो मुख्यमन्त्री कार्यक्रम, उत्कृष्ट कर्मचारीलाई कर्णाली सेवा पुरस्कार, किसान सम्मान कार्यक्रम, लगानी सम्मेलन, जडिबुटी विकास कार्यक्रम, परियोजना बैंक स्थापना, प्रदेश रंगशालाको निर्माण र सुर्खेत विमानस्थलको सुधार गर्नेजस्ता पुरानै योजनाहरु नीति तथा कार्यक्रममा दोहोरिएका छन् ।

त्यसका उपरान्त प्रदेश सरकारले केही नयाँ कार्यक्रम समेत घोषणा गरेको छ । आगामी आर्थिक वर्षलाई ‘कर्णाली बृक्षारोपण वर्ष’ घोषणा गर्ने, सुर्खेतमा रहेको प्रदेश अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा विकास गर्ने र प्रदेश आयुर्वेद औषधालयलाई प्रादेशिक आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्रको रुपमा स्तरोन्नति गर्ने, प्रदेश अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा विकास गरी प्रदेशभित्रै स्वास्थ्य क्षेत्रको दक्ष जनशक्ति उत्पादन गर्ने, स्वास्थ्य बीमा कार्यक्रमलाई थप विस्तार गर्ने, औषधि तथा स्वास्थ्य उपकरणलगायत सामग्रीको खरिद, भण्डारण र वितरणलाई व्यवस्थित गर्न प्रदेश आपूर्ति केन्द्र सञ्चालनमा ल्याउने कार्यक्रम समेटिएका छन् ।

विद्यालयका बालबालिकाको स्वास्थ्य, पोषण र हेरचाहका लागि विद्यालय स्वास्थ्यकर्मी कार्यक्रमलाई निरन्तरता दिने, ज्येष्ठ नागरिक, दलित, वादी, विपन्न, राउटे, राजी, माझी, मुक्त हलिया, एकल महिला, अपाङ्गता भएका व्यक्ति, यौनिक अल्पसङ्ख्यक, द्वन्द्व प्रभावित, विस्थापित व्यक्ति, अशक्त, घाइते तथा शहीद परिवार, एचआइभी सङ्क्रमित व्यक्तिलगायत वर्गको संरक्षण, आय वृद्धि र सहज जीवनयापनको व्यवस्थाका लागि ‘मुख्यमन्त्री जीविकोपार्जन कार्यक्रम’लाई निरन्तरता दिइएको छ ।

त्यस्तै, प्रदेशमा स्वास्थ्य सेवालाई गुणस्तरीय, भरपर्दो र प्रभावकारी बनाउने, स्वास्थ्य सेवाको पहुँच अभिवृद्धि गर्न स्थानीय तह समेतको समन्वय र सहकार्यमा सामुदायिक स्वास्थ्य तथा स्क्रिनिङ शिविर एवं टेलिमेडिसिन सेवा सञ्चालन गर्ने, मातृ–शिशु स्वास्थ्य सुधारका लागि किशोरी, गर्भावस्था र सुत्केरी स्वास्थ्य सचेतना तथा बहुक्षेत्रीय पोषणसम्बन्धी कार्यक्रमलाई निरन्तरता दिने नीतिमा उल्लेख छ ।

प्रदेश सरकारको नीति तथा कार्यक्रममा ‘बैङ्क खाता छोरीको, सुरक्षा जीवनभरिको’ कार्यक्रमलाई अभिलेखको समुचित व्यवस्थापन गरी प्रतिफलमुखी क्षेत्रमा लगानी गर्ने व्यवस्थालाई निरन्तरता दिइएको छ । कर्णाली प्रदेशमा राष्ट्रियस्तरका खेलकुद प्रतियोगितासमेत सञ्चालन गर्न सक्ने आवश्यक खेलकुद पूर्वाधारको विकास गर्न प्रदेश रङ्गशाला निर्माणलाई तीव्रता दिने उल्लेख छ । सडक सुरक्षाको लागि सुर्खेत जिल्लाको उपयुक्त स्थान पहिचान गरी भेइकल फिट्नेस केन्द्रको स्थापना गर्न सम्भाव्यता अध्ययन गर्ने, प्रदेश प्रहरीसम्बन्धी आवश्यक कानुन बनाउने नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।

राष्ट्रिय विद्युत् सञ्जाल नपुगेका बस्तीमा विद्युत् पहुँच पु¥याउन कर्णाली उज्यालो कार्यक्रमलाई निरन्तरता दिने, जगदुल्ला जलविद्युत् आयोजनालगायत ठुला जलविद्युत् आयोजनामा प्रदेश सरकारको तर्फबाट शेयर लगानी गर्ने, कर्णाली तथा भेरी बेसिन र शारदालगायत नदी किनाराका बस्ती र खेतीयोग्य जमिनलाई लक्षित गरी नवीन प्रविधिको माध्यमबाट स्वच्छ खानेपानी तथा सिँचाइ कार्यक्रमलाई निरन्तरता दिइएको छ । वर्षभरि खेतीयोग्य जमिनमा सिँचाइ सुविधा उपलब्ध गराउन ‘कर्णाली जनता सिँचाइ कार्यक्रम’ सञ्चालन गर्ने आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।

त्यस्तै एक मन्त्रालय, एक विषेश कार्यक्रम घोषणा गरी प्रदेश गौरवका आयोजना सञ्चालन गर्ने पनि नीति तथा कार्यक्रममा समावेश गरिएको छ । जनआन्दोलन, जनयुद्ध एवं गणतन्त्र तथा कर्णाली प्रदेश प्राप्तिको आन्दोलनको क्रममा जीवन उत्सर्ग गर्ने शहीद तथा बेपत्ता भएका व्यक्तिको परिवार, घाइते र अपाङ्गता भएका व्यक्तिको निःशुल्क स्वास्थ्य उपचार, सीप विकास, संरक्षण तथा पुनः स्थापना गर्ने र शहीद स्मृति भत्ता उपलब्ध गराउने कार्यक्रमलाई निरन्तरता दिने, सामूहिक विपद् जोखिम दुर्घटना बीमा कार्यक्रमलाई निरन्तरता दिने उल्लेख गरिएको छ ।

Translate »