देशभर एकैसाथ बजार अनुगमन : सुर्खेत सचेतनामुलक अनुगमनमै सीमित
स्काई न्यूज /असार १८, सुर्खेत । सरकारले पेट्रोलियम पदार्थलगायत दैनिक उपभोग्य वस्तु सहज गराउनका लागि बजार अनुगमन गर्न ७७ वटै जिल्लाका सिडिओलाई निर्देशन दिएपछि सुर्खेतमा पनि बजार अनुगमन गरिएको छ । दैनिक उपभोग्य वस्तुको अस्वाभाविक मूल्यवृद्धि भएको गुनासो बढेपछि सरकारले जिल्ला प्रशासन कार्यालयलाई बजार अनुगमन गरी बढ्दो महँगी नियन्त्रणसँगै सहज आपूर्ति मिलाउन निर्देशन दिएको हो । उपभोग्य वस्तुको बढ्दो मूल्यबृद्धिसँगै पेट्रोलिय पदार्थको आपूर्तिलाई सहज बनाउन सरकारले प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएपछि सुर्खेतमा पनि बजार अनुगमन गरिएको छ ।
अत्यावश्यक बस्तुको मूल्यवृद्धि नगर्न, बिक्री वितरण नरोक्न र पेट्रोलियम पदार्थ सहज उपलब्ध गराउन बजार अनुगमनको मुख्य उद्देश्य हो । तर, कर्मकाण्डी एक दिने बजार अनुगमन पर्याप्त नरहेकाले अनुगमनलाई नियमित बनाउनु पर्नेमा सुर्खेतका नागरिक अगुवा पिताम्वर ढकालले बताए । उनले भने, ‘अनुगमन गर्नु राम्रो हो, तर, बजारको वास्तविक स्थिती बुझेर बजार अनुगमनलाई दण्डात्मक बनाईनु पर्छ । पूर्व सूचना दिएर गरिने बजार अनुगमन कर्मकाण्डी मात्र हो ।’ उनले उपभोक्ताको हित गर्नका लागि अप्रत्यासितरुपले पटके अनुगमन गरेर दण्ड जरिवानासहितको बजार अनुगमन मात्र प्रभावकारी हुने जनाए ।
सरकारले आम नागरिकलाई सुशासन पु¥याउने उद्देश्यले शुरुवात गरेको बजार अनुगमनलाई सरोकारवालाको सहयोगमा निरन्तरता दिईने सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका उपमेयर नीलकण्ठ खनालले बताए । उनले उपभोक्ताको हित हुने गरि गरिने महिनामा कम्तीमा दुई पटक बजार अनुगमनलाई निरन्तरता दिन सके वीरेन्द्रनगर बासीले समेत साथ दिने जनाए । मन्त्रालयको निर्देशन अनुसार मात्र गरिने बजार अनुगमन प्रभावकारी नहुने उनको भनाई थियो । यता सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले उपभोक्तालाई सचेतना गराउन र व्यवसायीलाई जिम्मेवार बजार अनुगमनलाई निरन्तरता दिईरहेको बताए ।
उनले सबै नागरिक बद्री विनाका प्रहरी भएकाले सबैले आ–आफ्नो जिम्मेवारी सम्झेर बजार अनुगमनलाई प्रभावकारी बनाईनु पर्नेमा जोड दिए । उता सहायक प्रमुख जिल्ला अधकिारी ईश्वरीप्रसाद पाण्डेले देशैभर एकैसाथ गरिएको बजार अनुगमन अन्तर्गत सुर्खेतमा पेट्रोलपम्प, सुन पसल, मिठाई पसल र हार्डवेयर पसलको अनुगमन गरी उपभोक्ताको हित हुने गरी सुधारोन्मुख व्यवसाय गर्न व्यवसायीलाई सुझाव दिईएको बताए ।
उनले तीन तहका सरोकारवालाको सहभागिता रहेको बजार अनुगमन टोलीले बजार अनुगमनलाई आगामी दिनहरुमा समेत निरन्तरता दिने जानकारी दिए । दैनिक उपभोग्य वस्तुको अस्वाभाविक मूल्यवृद्धि भएको गुनासो बढेपछि गरिएको बजार अनुगमनमा व्यवसायीलाई उपभोक्ताप्रति थप जिम्मेवार बन्न सरोकारवालाले आग्रह गर्दै आइरहेका छन् । हालको बढ्दो मूल्य नियन्त्रणसँगै सहज आपूर्तिका मिलाउन सबै तह र तप्काको भूमिका उत्तिकै आवश्यक देखिएको राष्ट्रिय उपभोक्ता मञ्चका सुर्खेत संयोजक कुमारी भुसालले बताईन् ।
७१ ओटा कम्पनीलाई कारबाही
सरकारले मुलुकभर एकैसाथ बजार अनुगमन शुरु गरेको छ । शनिवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै वाणिज्य, आपूर्ति तथा उपभोक्ता विभागले शुक्रवार केन्द्र, प्रदेश र स्थानीय तहका साथै ७७ ओटै जिल्ला प्रशासन कार्यालयमार्फत एकैसाथ बजार अनुगमन गरिएको जानकारी दिएको हो । अनुगमनका क्रममा मुलुकभरका विभिन्न स्थानमा ७१ ओटा कम्पनीलाई कारबाही गरिएको विभागका महानिर्देशक लीलाप्रसाद शर्माले जानकारी दिए । बजारमा चिनीको भाउ महँगिएको विषयमा पनि आपूर्ति मन्त्रालयलाई अध्ययनका लागि अनुरोध गरिएको उनले बताए । विभागले ७७ ओटा जिल्ला प्रशासन र स्थानीय तहमार्फत देशभर अनुगमनको कार्यलाई निरन्तरता दिइएको पनि बताएको छ । विषम परिस्थितिको बहाना बनाई कोही कसैले आधारहीन तरिकाले वस्तु वा सेवाको उद्योग (उत्पादन) मूल्य, होलसेल मूल्य, खुद्रा मूल्य कायम गर्ने तथा मौज्दात लुकाउने जस्ता कार्य नगर्न नगराउन पनि विभागले भनेको छ । साथै विभागले अनुगमनको क्रममा त्यस्तो गरिएको पाइए हदै सम्मको कारबाही गरिने समेत बताएको छ ।