रोकिएन कालापहाड यात्रा

देशको व्यवस्था फेरिएपनि कर्णाली र सुदूरपश्चिम प्रदेशका नागरिकको अवस्था फेरिएको छैन् । अझैपनि धेरै नागरिकलाई बाध्यताले कालापहाड जानुपर्ने समस्या कायमै रहेको छ । साना–साना बालबालिकादेखि चाउरी परेको अनुहारसँगै सेतै फुलेको केश भएका कर्णालीका नागरिक सके तेस्रो मुलुक नसके कालापहाड यात्रा जारी राखेका छन । धन कमाउने आस बोकेकाहरुको पीडाका धर्सा प्रस्ट देखिएपनि बुझिदिने कोही छैन् । कमजोर शरीर भएपनि धन कमाउने आस बोकेका उनीहरु वर्षे खेतीपातीको काम सकाएर भारत जान हिजोआज सुर्खेत बसपार्कमा दिनहुँ भेटिन्छन् ।
गाउँमा फल्ने अन्नले वर्षभरि खान नपुग्ने भएपछि यहाँका धेरैजसो नागरिक छाक टार्ने उपाय खोज्न कालापहाड (भारत) को यात्रालाई निरन्तरता दिएका छन् । तर, तीन तहको सरकार बनेपनि नागरिकको पीडामा मलहम लगाउने कोही छैन् । कालापहाड हिँडेका अधिकांसको बारीमा फल्ने अन्नले ६ महिना पनि खान पुग्दैन, घरमा कमाउने मान्छे छैनन् । कालापहाड नगए परिवार भोकै हुन्छ । नागरिकले जति दुःख पाएपनि बेखर सरकारहरु सत्ता मोहमै अलमलिरहेका छन् । बर्सेनि काठमाडौंमा कर्णालीको विकास योजना बन्ने गरेपनि नागरिकलाई छाक टार्नै मुस्किल छ ।
पेट पाल्ने उपाय खोज्दै भारत जाने कर्णालीवासीको संख्या बर्षेनी बढ्दो मात्रमा रहेपनि स्थानीय र प्रदेश सरकार मुखदर्शक बनेका छन् । कर्णालीका सबैजसो जिल्लाबाट मजदुरीका लागि भारत जानेको अहिले लर्को लागेको छ । मजदुरीका लागि भारत जाँदै गरेकाहरुले भन्ने गरेको के हो भने ?, ‘देशमा गणतन्त्र आयो, नयाँ संविधान पनि बन्यो, हामीलाई भने गाउँमा के खाने समस्या छ, न रोजगारी छ न त विकास । कालापहाड नगएर के गर्नु ? जहानपरिवार पाल्नैपर्यो ।’ परिवारलाई बारीमा उत्पादन हुने अन्नले नपुग्ने भएपछि उनीहरु प्रवासीन बाध्य भएका हुन् ।
गाउँमा सिँचाइ सुविधाको अभाव, कम उत्पादन र गाउँमै रोजगारी नहुँदा कर्णालीबासी मजदुरीका लागि भारतका विभिन्न सहर धाउने गर्छन् । वर्षातको समयमा धान खेती र हिउँदको समयमा गहुँ तथा जौ लगाएर भारत पस्ने र भित्र्याउने बेलामा उनीहरु गाउँ फर्कन्छन् । खेतीको काम सकियो, अब घरमा बसेर पनि आम्दानीको अर्को स्रोत छैन । पाँच महिनासम्म भारतमा मजदुरी गर्दा त्यतिबेलासम्म गाउँमा बाली भित्र्याउने समय हुने भएकाले बेराजगारीमा केही न केही कमाई हुने आशमा उनीहरु घर छोड्छन् । कर्णालीबाट दैनिक दुई सयभन्दा बढी पुरुष कमाउनकै लागि भारततर्फ गइरहेका छन् ।

भारतको सिमला र गडवाल पुगेर कमाउन पनि त्यति सहज छैन । पुरुषहरु कमाउन भारत लागेपछि गाउँमा महिला र बालबालिकामात्र रहने गरेका छन् । विकासका नाममा गाउँमा डोजर लगाउने प्रवृत्तिले धेरै नागरिकलाई कालापहाड जानुपर्ने बाध्यता आइलागेको छ । पहिले विकास नहुँदा कालापहाड गएकाहरु अहिले गाउँमा विकास आएपनि डोजरले काम पाईरहेका छैनन् । पेट भर्नकै लागि घर छाड्नुपर्ने बाध्यतामा रहेका नागरिकलाई राज्यले रोजगारी र उत्पादनमा लगानी गर्नुपर्ने देखिन्छ ।
तर, राज्य हाँक्नेहरुले आफ्ना कार्यकर्ता र आसेपासेलाई जागिर दिने, सेटिङमा ठेक्का दिने, बिचौलिया बनाउनेबाहेक उद्योग खोल्ने, कलकारखाना स्थापना गर्ने, कृषिलाई उच्च प्राथमिकता दिई निर्वाहमुखीबाट जीविकोपार्जन गराउनेतिर कहिल्यै ध्यान गएन । नेताहरु अति संकुचित, सीमित र आफ्नो व्यक्तिगत तथा पारिवारिक अनि आर्थिक स्वार्थभन्दा माथि उठ्न नसक्ने नै भए । अलिकति जनतातिर फर्किएर उभिएको भए उनीहरुले यस्ता पाखण्ड नीति कार्यक्रम ल्याउँदैनथे, बरु आयात विस्थापित गर्ने उद्योग स्थापना गर्नतिर लाग्थे । उद्योग, कलकारखाना र व्यापार यहीं फस्टाउन दिने हो भने समाजको विकृति बनेको वैदेशिक रोजगारीको पीडा कम हुन्थ्यो । शासकीय संयन्त्र, नेता वृृत्तहरुले यसतर्फ सोचन आवश्यक देखिन्छ ।