भेरी पम्पिङको ठेक्कामा ढिलाइ नगरौं

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर उपत्यकामा खानेपानीको समस्या वर्षेनी बढ्दै गईरहेको छ । प्रदेश राजधानी बनेसँगै वर्षपिछे जनसंख्या बृद्धिले बाह्रै महिना माग अनुपातमा आपूर्ति नहुँदा समस्या बढ्दै गएको हो । मुलतः हाल पानीको स्रोत अभावमा नै माग अनुसारको आपूर्ति गर्न नसकिए पनि वैकल्पिक दिर्घकालिन उपाय कार्यान्वयनमा ढिलाई हुँदा समस्या बढ्दै गईरहेको छ । खासगरी गर्मी यामसुरु भएसँगै मुहानबाट पर्याप्त मात्रामा पानीको आपूर्ति नहुँदा मागको ५० प्रतिशत समेत पानी आउन छाडेको छ । अहिले वर्षातमा समेत वीरेन्द्रनगरमा खानेपानीको अभाव हुँदै आएको छ । उपत्यकामा खानेपानीको अभाव नयाँ भने होइन । यसअघिका वर्षमा पनि वीरेन्द्रनगरमा खानेपानीको अभाव हुने गरेको थियो । चैत्रयता धारामा तीनदेखि ७ दिन विराएर पानी आउने गरेको भएपनि पर्याप्त मात्रामा आउँदैन । कहिले एक हप्तामा एकपटक, कहिले त दुई हप्तामा पनि एकपटक पानी आउने गरेको छ । धारामा पानी नआएपछि बजारमा जारको पानी किनेर खानुपर्ने बाध्यता छ भने बजार बाहिर पानीका मुहान खोज्दै हिँड्नुपर्ने अवस्था छ । धारामा पानी आउन छाडेपछि उपभोक्तालाई चर्को मूल्यमा पानी किनेर खानुपर्ने बाध्यता कायमै छ ।


जलवायु परिवर्तनका कारण खानेपानीका स्रोत सुक्दै जानु, लामो समयदेखि आकाशबाट पानी नपर्नु, गर्मीमा पानीको खपत ह्वातै बढ्नु जस्ता कारणले मागअनुसार पानी आपूर्ति गर्न नसकिएको हो । उपभोक्ताको अत्यधिक मागलाई मध्यनजर गरेर सबै वडामा ४८ घण्टामा एकपटक पानी जाने व्यवस्था गरिएको छ । बजार क्षेत्रमा रहेका मुख्य लाइन तथा सहायक लाइनमा पालैपालो ४८ घण्टामा एकपटक पानी वितरण गरिएको छ ।  तथ्यांकअनुसार हाल वीरेन्द्रनगरमा २ सय ७८ लिटर प्रतिसेकेन्ड पानीको माग छ । तर त्यसको आधा पनि पानी पु¥याउन सकिएको छैन । हाल वीरेन्द्रनगरमा आपूर्ति गरिरहेका झुप्रा खोला, खरी बोरी खोला, इत्राम खोला, खोर्के खोला, बुलबुलेबाट प्रतिसेकेन्ड ९० लिटरभन्दा कम पानी आउने गरेको छ । खडेरी सुरु भएसँगै यो ६० देखि ७० लिटर प्रतिसेकेन्ड सम्ममा झर्ने गर्दछ । मुहानबाट पानीको आपूर्ति कम हुँदै गएपछि ४८ घण्टाबाट ७२ घण्टाको फरकमा सबै टोललाई पानी वितरण गर्ने गरिएको सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाको भनाइ छ ।

वीरेन्द्रनगरमा १ हजार ९ सय ८३ वटा धारा जडान गरिएका छन् । ती धारा प्रत्येक दिन बढिरहेका छन् । धाराको संख्या बढे पनि पर्याप्त पानी नहुँदा वितरणमा समस्या देखिएको हो । वीरेन्द्रनगर उपत्यकाको खानेपानीको विकराल समस्या समाधान गर्ने एउटै मात्रै विकल्प हो, भेरी नदीको पानी वीरेन्द्रनगर उपत्यकामा ल्याउने । भेरी नदीको पानी वीरेन्द्रनगरमा ल्याउनका लागि बृहत् भेरी पम्पिङ आयोजनाको डिपिआर तयार भएपनि कार्यान्वयनमा नआउँदा समस्या बढ्दै गईरहेको छ । ३ वर्ष भित्रमा भेरीको पानी वीरेन्द्रनगरका उपभोक्ताले प्रयोग गर्ने सक्ने गरी लाग्ने भनिएपनि आकाश फल आँखा तरी मर जस्तो भाको छ । झण्डै ८ अर्बभन्दा बढी लागतको उक्त आयोजना निर्माण ढिलाईले समस्या दिनप्रति बढ्दो भएपनि सरोकारवालाको अब छिट्टै ध्यान पुगोस् । भेरी पम्पिङ आयोजनाको टेन्डर हुन अझै पाँच महिना लाग्ने र आयोजना सकिनै ४÷५ वर्ष लाग्यो भने पिउने पानीको ठूलो हाहाकार हुने देखिन्छ । त्यहाँसम्म वीरेन्द्रनगरको जनसंख्या यति कति पुग्न सक्ला भन्ने अनुमान लगाउन नि सोच्नु नै पर्छ । त्यसैले अब ढिलाई नगरी खानेपानीको दिर्घकालिन उपायतर्फ सबैको ध्यान पुगोस् ।

Translate »