गोदाममै थन्कियो जडीबुटी : सरकारी प्रोत्साहन नहुँदा उत्पादनमा कमी

स्काई न्यूज /भदौं ८, सुर्खेत ।  नेपालका अधिकांस जडिबुटी निकासीको मुख्य बजार भारत नै हो । भारतले आफ्नो अनुकलमा मात्र नेपाली जडिबुटी आयातमा अनुमति दिने गरेको छ । अहिले भारतीय स्वार्थ नमिल्दा नेपाली जडिबुटी गोदामै थन्किएका छन् । भारतले नेपाली जडिबुटीलाई अनुमति नदिँदा जडिबुटीको भण्डारणका रुपमा रहेको कर्णाली र सुदूरपश्चिम प्रदेशका जडिबुटीको भाउ समेत घटेको छ । कतिपय स्थानमा त जडिबुटी विक्री नएर व्यापारीलाई नोक्सानी उठाउनु परिरहेको छ । भारतीय प्लान्ट क्वारेन्टाइनको लिस्टमा नेपाली जडीबुटी नसमेटिंदा बाँकेबाट यतिबेला जडीबुटी निर्यात हुन सकेको छैन् । भारत सरकारले नेपालको ल्याबलाई मान्यता दिएपनि सेन्टर ल्याब ठिक नभएकाले नेपाली जडीबुटी सूचीकृत हुन नसकेको सरोकारवालाले बताएका छन् ।

ओसारपसारमा कडाइ भएसँगै भारत पठाउन नसकिएपछि झन्डै २ हजार टन जडीबुटी नेपालगन्जस्थित जडीबुटी व्यवसायी संघमै थुपारिएको छ । बाँकेमा जडीबुटीसम्बन्धी १२ उद्योग छन् । नेपालगन्जमा थुप्रिएको जडीबुटी कुहिने अवस्थामा पुगेको व्यवसायी रवीन्द्रनाथ शुक्लाले बताए । त्यसरी थुपाएिका अधिकांस जडीबुटी कर्णाली तथा सुदूरपश्चिम प्रदेशबाट ल्याईएको उनले जनाए । आफ्नो मात्रै १ करोड रुपैयाँजतिको उत्पादन यत्तिकै रहेको उनको भनाइ छ । ‘बजारमा डिमान्ड छैन । राज्यको कुनै प्रोत्साहन नीति छैन । डिमान्ड घटेपछि किसानलाई पनि नोक्सान भइरहेको छ,’ उनले भने, ‘स्वदेशी उत्पादनलाई विदेशसम्म पु¥याउँदा हामीले कुनै अनुदानसमेत पाउँदैनौं ।’ नेपाल जडीबुटी संघ बाँकेले गत वर्षसम्म ५ हजार टनसम्म जडीबुटी निर्यात गरेकामा अहिले यो दर घटेको छ । यस वर्ष २ हजार टन मात्र जडीबुटी निर्यात भएको छ ।


मुलुकको झापादेखि कञ्चनपुर र इलामदेखि दार्चुलासम्मका जिल्लामा जडीबुटी खेती गरिएको र जंगलबाट संकलन गरिएका ३० प्रकारका जडीबुटी बाँकेमा ल्याउने गरिन्छ । सरकारले जडीबुटीप्रति ध्यान नदिएको र समस्या सहजीकरण नगर्दा समस्या भइरहेको नेपाल जडीबुटी संघका अध्यक्ष टंकप्रसाद शर्माले बताए । सरकारले जडीबुटीको उत्पादन र निर्यातमा ध्यान दिने हो भने लक्षित वर्गका किसानले रोजगारी पनि पाउने र जडीबुटी पनि आफ्नै देशमा उल्लेख्य मात्रामा उत्पादन गर्न सकिने उनको भनाइ छ । ‘जडीबुटी कम उत्पादन हुनु, भारतीय कस्टममा निर्यातमा समस्या, भारतको क्वारेन्टाइनमा नेपालका जडीबुटी सूचीकृत नहुँदा नै निर्यातमा कमी आएको हो,’ अध्यक्ष शर्माले भने, ‘सरकारकै बेबास्ताका कारण जडीबुटी व्यवसाय धरापमा परिरहेको छ ।’ जडीबुटी व्यवसायी सकिल अहमद जसगढले सरकारले निर्यातमा समन्वय नगरेकाले व्यवसायीले समस्या झेल्नुपरेको बताए । ‘यदि सरकारले ठोस कार्यक्रम ल्याउने हो भने नेपालमा २० करोड बराबरको जडीबुटी उत्पादन गर्न सकिन्छ,’ उनले भने, ‘छिमेकी देशहरुमा पनि निर्यात गर्न सकिन्छ ।’

७९ प्रकारका जडीबुटी निर्यात
कर्णालीबाट खासगरी ७९ प्रकारका जडीबुटी बाहिर निर्यात हँुदै आएको छ । निर्यात हुने जडीबुटीहरुमा टिमुर, रिठ्ठा, काउलो, कुट्की, खिरौला, चुत्रो, तेजपात, धुपिपात, पदमचाल, पोषण वेद, रिठ्ठा, यार्सागुम्बा र सेतक चिनी लगायतका जडीबुटी अन्य जडीबुटी को तुलनामा धेरै मात्रामा निर्यात हुने प्रदेश वन निर्देशनालयले बताएको छ । ३२ मेट्रिक टन काउलो, पाँच सय ४६ मेट्रिकटन कुट्की, ४० मेट्रिक टन खिरौला, ९४ मेट्रिक टन चुत्रो, तीन सय ८३ मेट्रिक टन टिमुर, एक सय ५७ मेट्रिक टन तेपपात दुई सय तीन मेट्रिक टन धुपिपात, एक सय ४० मेट्रिक टन पदमचाल, उक सय ५६ मेट्रिक टन पोषणवेद, दुई सय ५० मेट्रिक टन रिठ्ठा, २९ मेट्रिक टन यार्सागुम्बा र दुई सय १७ मेट्रिक टन सेतक चिनी निर्यात भएको प्रदेश वन निर्देशनालयको तथ्यांक छ । आम्दानी तर्फ भने कर्णालीमा उत्पादित टिमुरले प्रदेशमा धेरै आम्दानी भित्र्याएको देखिन्छ ।

Translate »