साडीको बदलिँदो ट्रेन्ड : हेभी होइन, हलुका साडी रुचाउँछन् महिला

भदौ ११, काठमाडौं । गत बिहीबार काठमाडौं असनको एउटा पसलमा साडी किन्न आएकी थिइन् भक्तपुरकी स्वेच्छा पन्त । पसलेलाई विभिन्न डिजाइनका साडी देखाउन आग्रह गर्दै थिइन् उनी । ‘तीजका लागि साडी किन्न आएकी हुँ,’ उनले आर्थिक अभियानसँग भनिन्, ‘हलुका खालको साडी लैजाने सोच छ ।’

स्वेच्छा मात्रै होइन, अहिले प्रायजसो महिला र युवतीले हलुका खालको साडी किन्ने गरेका छन् । सामाजिक सञ्जालको बढ्दो पहुँचसँगै साडीको ट्रेन्ड बदलिँदै गएको व्यापारीहरू बताउँछन् ।

सुनिता बुटिककी सञ्चालिका दीक्षा शाही अहिले सिम्पल साडी र डिजाइनर ब्लाउज लगाउने ट्रेन्ड रहेको बताउँछिन् । ‘हेभी साडी महँगो र लगाउँदा अफ्ठ्यारो हुन्छ भने हल्का प्रिन्टेड साडी सस्तो र लगाउँदा सजिलो पनि हुन्छ,’ महिलाको साडी रोजाइबारे उनले भनिन् ।

इन्द्रचोकमा २४ वर्षदेखि साडी व्यापार गर्दै आएका राहुल अन्सारी ५-६ वर्षयता साडीको ट्रेन्ड फेरिएको बताउँछन् । ‘पहिले धोतीजस्तो साडीको विक्री धेरै हुन्थ्यो । धेरै सितारा भरेको, हेभी साडी लगाउने चलन थियो । अहिले ट्रेन्ड बदलिएको छ,’ साडीको स्टाइल ट्रेन्डबारे उनी भन्छन् ।

पहिलेको तुलनामा साडी किन्ने ट्रेन्ड पनि बदलिएको उनको भनाइ छ । ‘पहिले दैनिकजसो साडीको व्यापार हुँदैनथ्यो । मुख्य चाडपर्वमा मात्रै साडी विक्री हुन्थ्यो । अहिले दैनिक साडीको व्यापार हुने गरेको छ,’ उनले सुनाए ।

सामाजिक सञ्जालको बढ्दो पहुँचले साडीको ट्रेन्ड बदलिएको हुन सक्ने उनको बुझाइ छ । ‘सामाजिक सञ्जाल फेसबुक, टिकटकमा देखेर किन्ने चलन बढेको छ,’ उनी भन्छन् ।

सिम्पल साडी पनि विभिन्न डिजाइन र मूल्यका रहेका व्यापारीहरू बताउँछन् । काठमाण्डाैं टंकेश्वरमा साडीको व्यापार गर्दै आएका पंकज रौनियाले बनारसी, सिफन, जापानी, कोरियन सिल्क, एप्पल सिल्क र प्रिन्टेड साडी विक्री गरिरहेकाे बताए । ती साडीको मूल्य ६०० देखि १० हजार रूपैयाँसम्म पर्ने गरेको उनको भनाइ छ ।

तीज नजिकिएसँगै बढ्यो चहलपहल  

हिन्दू महिलाहरूको पर्व तीज नजिकिएसँगै काठमाडौंको मुख्य बजारहरूमा पहिरन र कस्मेटिकका सामान किन्नेहरूको भीड देखिन्छ ।

तीज नजिकिएसँगै कुर्था-सलवार, लेहेंगा, टीका-पोतेलगायतका सामान किन्नेहरू बढेको व्यापारीहरू बताउँछन् । सुनिता बुटिककी सञ्चालिका शाहीले तीजका लागि दुई महीना अघिदेखि नै कपडाको अर्डर आएको बताइन् ।

साडीकाे व्यापार गर्दै आएका रौनियार कोरोना महामारीपछि यो वर्ष ग्राहकको चहलपहल बढेको बताउँछन् । ‘कोरोना महामारीका कारण गत वर्ष त सामान फर्काउनुपरेको थियो । यो वर्ष भने अलि व्यापारभएको छ,’ उनी भन्छन् । अहिले दैनिक ३०-४० पिस साडी र १५-२० जोर कुर्था–सलवार विक्री गर्दै आएको उनी बताउँछन् ।

पछिल्लो समय एक महीना अघिदेखि नै दर कार्यक्रम आयोजना गरिन्छन् । यस्ता कार्यक्रममा सहभागी हुने महिला र युवतीहरू फेरिफेरि साडी लगाउने गरेका छन् । यसले साडीको माग बढेको व्यापारीहरू बताउँछन् ।

साउनमा करीब २१ करोडको साडी आयात 

चालू आर्थिक वर्षको साउनमा करिब २१ करोडको साडी आयात भएको छ । भन्सार विभागको तथ्यांक अनुसार उक्त अवधिमा २० करोड ७९ लाख २८ हजार रूपैयाँको ४ लाख ७१ हजार १३४ पिस साडी आयात भएको छ । आर्थिक अभियान

 

Translate »