दशै सुरक्षा विशेष : यात्रु सहायता कक्षदेखि राजमार्ग सुरक्षासम्म

स्काई न्यूज/ असोज १०, सुर्खेत । दशै तिहारजस्ता चाडपर्व लक्षित गरेर सुर्खेतका विभिन्न स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । चाडपर्वमा घर फर्कने र बाहिर जाने यात्रुहरुलाई लक्षित गरी जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालय सुर्खेतले (आज) सोमबारदेखि यात्रु सहायता कक्ष स्थापना गरिएको हो । जिल्लाका नौ वटै पालिकाका विभिन्न स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको सुर्खेतका प्रहरी उपरीक्षक पदमबहादुर विष्टले जानकारी दिए ।

उनले यात्रु सहायता कक्षमा कार्यरत सुरक्षाकर्मीले दुर्घटना न्यूनीकरणसम्बन्धी सवारी चालकलाई विभिन्न सचेतना गराउनुका साथै गाडीको सिट क्षमताभन्दा बढी यात्रु तथा सामाग्री हाल्न रोक लगाउने बताए । जिल्लामा दशै तिहारको समयमा विगतमा धेरै ठूला दुर्घटना भएकाले दुर्घटना न्यूनीकरण गर्न यात्रु सहायता कक्षमा कार्यरत सुरक्षाकर्मीले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उनको विश्वास छ ।

उनले दशै तिहारको समयमा यात्रुको चाप बढी हुने हुँदा दुर्घटनाको जोखिमलाई न्यूनिकरण गर्दै सुरक्षाकर्मीले सवारी अभावमा अलपत्र परेका यात्रुहरुलाई गाडीको व्यवस्था मिलाई घरसम्म पठाउन सहजीकरण गर्ने बताए । चाडपर्व लक्षित सुरक्षा व्यवस्थालाई सफल बनाउन सम्बन्धित सबै निकाय र सरोकारवालाई समेत उनले आग्रह गरे ।

सवारी साधन जाँचमा कडाई
चाडपर्वमा हुनसक्ने दुर्घटना कम गर्न सुर्खेत ट्राफिक प्रहरी कार्यालयले जिल्लाभित्र चल्ने र यहाँबाट बाहिरिने सवारीसाधनको जाँचमा कडाइ शुरु गरेको छ । दशैंका लागि सोमबार घटस्थापनादेखि धेरै संख्यामा यात्रु बाहिरिने र सरकारले यात्रुबाहक सवारीसाधनलाई जतासुकै चल्न रुट अनुमति आवश्यक नपर्ने हुँदा जाँच बढाइएको कार्यालयले जनाएको छ ।

सवारीसाधनलाई छतमा यात्रा गर्न नदिने, सिट क्षमताभन्दा बढी यात्रु राख्न नदिने, चालकले मादक पदार्थ सेवन (मापसे) गरेर चलाएको छ, छैन जाँच गर्ने र सवारीसाधनको अवस्था जाँच गर्ने कार्य जारी रहेको सुर्खेतका प्रहरी प्रमुख पदमबहादुर विष्टले बताए ।

उनले भने, ’सवारीसाधन दुर्घटना न्यूनीकरणका लागि नाकामा जाँच बढाउन लागिएको छ ।’ सुर्खेतबाट बाहिरिने मात्रै नभई सुर्खेतभित्रै चल्ने सवारीसाधनलाई लक्षित गरेर जाँच बढाईएको छ ।

चाडपर्व लक्षित बजार अनुगमन
नजिकिँदै गरेको चाडपर्वलाई ध्यानमा राखेर जिल्ला प्रशासन कार्यालय सुर्खेतले बजार अनुगमनलाई तीव्रता दिएको छ । सोमबार दशै, तिहार,छठजस्ता महान पर्वलाई लक्षित गरी जिल्लाका बजार अनुगमन थालेको हो । जिल्ला प्रशासन कार्यालयले सुर्खेत सदरमुुकाम वीरेन्द्रनगरसँगै ग्रामीण क्षेत्रमा समेत संयुक्त बजार अनुगमन जारी राखेको छ ।

अनुगमनका क्रममा उपभोग्य मिति सकिएका खाद्य वस्तु नष्ट गरीएको छ । बजारका विभिन्न स्थानको अनुगमनका क्रममा म्याद गुज्रिएका,कलछलिगरेर बिक्री गरिएका वस्तु,जंङकफुड, सुतिजन्य प्रर्दाथ करिब ५० हजार मूल्य बराबरको खाद्य वस्तु नियन्त्रणमा लिई नष्ट गरिएको छ । स्थानीय प्रशासनले म्याद गुज्रेका, सडेगलेका, अखाद्य वस्तु बिक्री गर्दै आएका तथा बिना इजाजत व्यवसाय सञ्चालन गरिरहेका माथि कडाइ सुरु गरेको बताएको छ । प्रशासनले कुनै गोप्य सूचना मिलेपछि छड्के अनुगमनलाई तीव्र पारेको छ ।


सरकारले अहिले बजार अनुगमनलाई दैनिक उपभोग्य वस्तुसँगै लत्ताकपडामा केन्द्रित गरेको छ । उपभोक्ता ठग्ने व्यापारीलाई पहुँचका भरमा कार्वाही नगरी उन्मुक्ति दिने, ठूला व्यवसायलाई छाडेर स–साना व्यवसायमा मात्र अनुगमन केन्द्रित भएको गुनासो आएपछि गोदाममा समेत प्रभावकारी गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख भेषबहादुर थापाले जानकारी दिए ।

अहिले प्रशासनसँगै खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, प्रहरी, राष्ट्रिय उपभोक्ता मञ्च र पत्रकारको टोलीले उपभोक्ता ठगिनबाट बचाउने प्रयास शुरु गरेका छन् । स्थानीय तहलाई बजार अनुगमन गर्ने अधिकार भएपनि अधिकांशले अनुगमन गर्दैनन् । बजार अनुगमनमा स्थानीय तह मौन बसेपछि जिल्ला प्रशासन कार्यालय आफैंले जिल्ला पालिका भित्रका विभिन्न स्थानीय बजारको अनुगमन गरिरहेको छ ।

चार हजार प्रहरी खटाइने

ठूला चाडपर्व नजिकिएसँगै हुनसक्ने आपराधिक गतिविधि नियन्त्रण गर्न कर्णालीमा चार हजारभन्दा बढी प्रहरी खटाइने भएको  छ । कर्णाली प्रदेश प्रहरी कार्यालयले चाडपर्व सुरक्षा योजना २०७९ जारी गर्दै हुनसक्ने आपराधिक घटना नियन्त्रणका लागि प्रदेशभर चार हजार एक सय ४१ प्रहरी जनशक्ति खटाइने  जनाएको हो ।

यसैबीच चाडपर्वको अवसरमा हुनसक्ने आपराधिक गतिविधिको सम्भावित शङ्कास्पद स्थानमा पहिचान गरी जाँच  गरिने भएको छ । प्रदेश प्रहरीले जारी गरेको कार्ययोजनामा एक सय २५ नियमित क्युआरटी परिचालन गरिने छ भने ३१ स्थानमा नियमित चेक प्वाइन्ट राखिने छ ।

त्यसैगरी ट्राफिकसहित संयुक्तरुपमा ५३ स्थानमा आकस्मिक जाँच तथा  चोरी, तस्करी, लागुऔषध कारोबारलगायत अवैध गतिविधि नियन्त्रण गर्न १८ स्थानमा जाँच गरिने छ ।  झैझगडा, जुवा तास, चोरी, लुटपाट, मापसे नियन्त्रणका लागि ८६ स्थानमा जाँच गरिने छ भने २६ ठाउँमा नागरिक सहायता कक्ष स्थापना गरिने छ ।

यसैबीच सम्पत्तिको सुरक्षा, जनधनको सुरक्षा, उपभोक्ताको अधिकार, महिला बालबालिका, अपाङ्गता भएका एवं ज्येष्ठ, नागरिकको सुरक्षाका अधिकार सुनिश्चित गर्न कार्ययोजना बनाइएको छ ।

कर्णाली प्रदेशअन्तर्गतका जिल्लाको सुरक्षा व्यवस्थालाई भरपर्दो, विश्वसनीय र सुदृढ बनाई आम नागरिकको जनजीवन सामान्य तुल्याउन बैंक तथा वित्तीय सङ्घसंस्थामा हुने कारोबार सुरक्षित गराउन, विभिन्न गन्तव्यसम्म जाने यात्रुसमेतलाई पूर्ण सुरक्षाको प्रत्याभूति दिलाउन र कुनै पनि किसिमको अप्रिय घटना हुन नदिन योजनाबद्ध प्रहरी परिचालन, अनुगमन, नियन्त्रण आवश्यक भएको र सुरक्षा मापदण्डसमेतलाई लक्ष्य गरी यस प्रदेश प्रहरी कार्यालय सुर्खेत मातहतका जिल्लामा सुरक्षा योजना बनाई लागू गरिएको छ ।

चाडपर्वको नाममा हुनसक्ने सबै प्रकारका अवान्छित÷आपराधिक क्रियाकलाप रोकथाम तथा नियन्त्रण गर्दै नागरिकले सुरक्षित र उल्लासका साथ चाडपर्व मनाउने विश्वसनीय वातावरण निर्माण गर्न उक्त कार्ययोजना तयार गरिएको हो ।

Translate »