राजमार्ग अवरुद्ध भएपछि हवाई टिकट पाउन कठिन

पैदलयात्रा गर्नुपर्ने बाध्यता

असोज ३०, सुर्खेत । कालीकोटको पचालझरना गाउँपालिका–४ बाट चक्र रोकायाले कर्णाली प्रदेश लोकसेवा आयोगले लिएको कृषि प्राविधिकतर्फको परीक्षाका लागि सुर्खेतसम्म पुग्न गाडी पर्खिंदा पनि पाएनन् । एकातिर आफ्नो परीक्षा छुट्ने चिन्ता, अर्कोतिर बाटोमा अलपत्र परिने शंकाले उनी दुई दिनको पैदलयात्रा गरेर कालीकोट र दैलेखको सिमानासम्म आइपुगे । त्यसपछि मात्र पुनस् एक दिन गाडी चढेर सुर्खेत आइपुगे ।

गत हप्ताको अविरल वर्षाका कारण कर्णाली राजमार्गका धेरै ठाउँमा पहिरो खसेर सडक अवरुद्ध हुँदा रोकायाजस्तै हजारौं यात्रुले यस्तै सास्ती बेहोर्नुपरेको छ । दशैं मनाउन घरमा पुगेका हिमाली जिल्लाका नागरिक आफ्नो पढाइ र कर्मथलोमा फर्किन थाले पनि कर्णाली राजमार्ग नखुल्दा केही व्यक्ति अझैसम्म घरबाट हिँड्न सकेका छैनन् भने केही व्यक्ति बीच बाटोमै अलपत्र छन् । अहिले कर्णाली राजमार्गको कालीकोट खण्डमा मात्रै ७३ ठाउँमा पहिरो गएकाले सवारीसाधन बीच बाटोमै अलपत्र छन् । कतिपय यात्रु लामो दूरीमा पैदलयात्रा गर्न बाध्य छन् । कर्णाली राजमार्गको जुम्ला खण्डमा मात्रै १३ ओटा सवारीसाधन बीचैमा अलपत्र परेका छन् ।

कर्णाली राजमार्गअन्तर्गत जुम्ला–कालीकोट सडकखण्डको पहिरो हटाउने प्रयास जारी रहेको स्थानीय प्रशासनले बताएको छ । ‘जुम्ला–कालीकोट खण्ड छिटो खुलाउन सम्बन्धित पालिका र सुरक्षा निकाय जुटेका छन्,’ जुम्लाका प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले भने ।

धेरै ठाउँमा एक्स्काभेटर प्रयोग गरिएको छ । केही ठाउँमा ढुंगा फुटाउन ‘ब्लास्टिङ’ गर्नुपर्ने भएकाले नेपाली सेनालाई खटाइएको छ । स्थानीय प्रशासनका अनुसार बाटो खुलाउन अझै तीन दिनसम्म लाग्न सक्छ ।

कर्णाली राजमार्ग पहिरोले जोखिमपूर्ण भएपछि त्यहाँका नागरिक अहिले महँगो भाडा तिरेर हवाई मार्गमार्फत यात्रा गर्न बाध्य छन् । जहाजको यात्रा गर्न टिकट पाउन पनि कठिन छ । ‘टिकटमा मनोमानी छ,’ जुम्लाका तपेन्द्र भट्टराईले भने, ‘विमानस्थलमा सर्वसाधारण यात्रुले सहजै टिकट पाउने अवस्था छैन, पहुँचको भरमा टिकट वितरण हुन्छ । गाडीबाट यात्रा गर्ने सम्भावना पनि छैन, आफ्नो पढाइ र कर्मथलोको लागि सुर्खेत, नेपालगञ्जलगायत ठाउँमा जान पनि विमानस्थलमा यात्रुको खचाखच छ ।’ महँगो भाडा भए पनि टिकट नै नपाउँदा समस्या भएको उनले गुनासो गरे । कर्णाली राजमार्ग अवरोध भएपछि विमानस्थलमा झनै चाप बढेको स्थानीयवासीको भनाइ छ । जुम्लास्थित नागरिक उड्डयन प्राधिकरण कार्यालयका प्रमुख सन्तोष अधिकारीका अनुसार जुम्लादेखि नेपालगञ्ज दैनिक दुईदेखि तीनओटा उडान हुँदै आएको छ । जुम्लामा तारा, गोमा, सीता एयरले उडान गर्दै आएका छन् ।‘‘बिरामी र लोकसेवाको परीक्षा दिने विद्यार्थीलाई प्राथमिकता दिएर टिकट दिइरहेका छौं,’ उनले भने, ‘पर्याप्त जहाज नहुँदा पनि समस्या छ ।’

जिल्ला प्रशासन कार्यालयले भने हवाई उडान कम हुँदा समस्या रहेको बताएको छ । चाडपर्वले गर्दा पहिलेको तुलनामा विमानस्थलमा दैनिक भीडभाड भएकाले बढीभन्दा बढी हवाई उडान गराउन समवन्य भइरहेको त्यहाँका प्रमुख जिल्ला अधिकारी केशरीको भनाइ छ । रासस

Translate »