कर्णालीको हवाई सकस

कर्णालीमा ९ ओटा विमानस्थल निर्माण भएका छन् । ती मध्ये अहिले ४ ओटा विमानस्थल सञ्चालनमा छैनन् । ५ ओटा विमानस्थल सञ्चालनमा रहे पनि आर्थिक रुपले उपयुक्त नदेखिएको भन्दै नीजि विमान कम्पनीसँगै सरकारी कम्पनीका जहाजले समेत सेवा प्रवाहमा उपेक्षा गर्दै आईरहेका छन् । प्रदेशको विकासका लागि सडक सञ्जाल, वायुसेवा र रेलवे सेवाको दु्रततर विस्तार अत्यावश्यक हुन्छ । विकास निर्माणविना आर्थिक प्रगति हुँदैन । तर, भएका विकास निर्माणका आयोजनाहरुलाई व्यवस्थापन नगर्दा थप समस्या देखिएको छ । बनेका विमानस्थल सञ्चालनमा नआउँदा राज्यको अर्बौं लगानी खेर गएको छ । साथै, तिनको नियमित रेखदेख तथा मर्मतसुधारका लागि पनि खर्च गरिरहनुपर्ने बाध्यता छ । पीच नगरिएका धावनमार्ग चरनमा परिणत भए पनि त्यसको रेखदेखका लागि कर्मचारी खटाउनैपर्ने हुन्छ । प्रयोजनविहीन यस्ता विमानस्थल बनाउनु भनेको करदाताको पैसाको दुरुपयोग हो । त्यसैले यस्तो विमानस्थल बनाउन दबाब दिनेबाट यस्तो क्षतिको भरताल गराइनुपर्छ ।

विकास निर्माणका कार्य सम्पन्न भइसकेपछि जनताले उपयोग गर्न पाउँदैनन् भने त्यसको कुनै अर्थ हुँदैन । विमानस्थल बनाउनमात्र होइन, वायुसेवा सञ्चालन गराउन पनि यस्तै दबाब दिने गरिएको छ । निजीक्षेत्रका वायुसेवा कम्पनीलाई दबाब दिन नसके पनि सरकारी नेपाल वायु सेवा निगमलाई दबाब दिइरहेको पाइन्छ । हुन त आपत्कालीन अवस्थाका लागि विमानस्थल बन्नु राम्रो हो । दैवी विपद्का बेला अथवा पर्यटकहरुको उद्धारका लागि पनि यस्ता विमानस्थल उपयोगमा आउँछन् । तर, लागत र प्रतिफलका हिसाबले यस्ता विमानस्थल आवश्यक देखिँदैनन् । सडक सञ्जालले धेरै जिल्ला नजोडिएको अवस्थामा तिनको रणनीतिक महत्व हुन्छ नै । कर्णालीमा हवाई यातायात सडक विकल्पको रुपमा मात्र होइन, बाध्यता समेत रहेको छ । तर, भएका विमान स्थल समेत सुचारु नहुँदा त्यहीं माथि थप पीडा छ । ओहो ! त्यति मात्र कहाँ हो र ? जहाजको अभावसँगै अपट्¥यारो परेका टिकट नपाउनु पनि अर्को समस्या छ ।


कर्णालीमा नाम मात्रका विमानस्थलहरुको स्तरोन्नती नहुँदा उसै त पीडा छदै थियो । अहिले वेमौसमी वर्षातले सडक अवरुद्ध भएपछि कर्णालीका नागरिकलाई विभिन्न समस्या झेल्नु परेको छ । लगातार अविरल वर्षाले बाढी, पहिरोबाट कर्णाली राजमार्गका विभिन्न सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएपछि हुम्ला, जुम्ला, डोल्पा विमानस्थलबाट सुर्खेत, नेपालगञ्ज, काठमाडौं, धनगढीलगायतका सहरमा जाने यात्रुको विभिन्न विमानस्थलमा टिकटका लागि भिडभाड हुने गरेको छ । जहाजको उडान कम तर यात्रुको भीड बढी भएपछि सेवाग्राहीलाई सकस भएको छ । दशैपछि घर आएका विद्यार्थी, कर्मचारी तथा बिरामीलाई पनि जहाजको उडान कम हुँदा कठिन भएको छ । अघिपछि नियमित उडान हुने तर दशैं अवधिभर निजी एयरलाइन्सले देशको पूर्वमा बढी प्राथमिकता दिएपछि दशैमा नागरिक घर फर्किनसमेत सकस भएको थियो । विपद्मा राहत, उद्धार, सडक पन्छाउने विषयमा तनाव बढिरहेको बेला राजमार्ग वन्द भएपछि जहाज नआउँदा कर्णालीका आम नागरिक हैरान छन् । कर्णालीका नागरिकले अहिले भोग्नु परिरहेको समस्याप्रति सम्बन्धित पक्षले विशेष ध्यान दिन आवश्यक छ ।

 

Translate »