कार्तिक १९ देखि सुर्खेतमा चलचित्र महोत्सव हुँदै

महोत्सवको सद्भावना दूत केकी अधिकारी, सुजित बिडारीद्वारा मास्टर क्लास

स्काई न्यूज /कार्तिक ५, सुर्खेत । नेपालस्थित युरोपियन युनियनको डेलिगेशनले ११ औँ नेपाल युरोपेली युनियन चलचित्र महोत्सव पहिलोपटक सुर्खेतमा आयोजना गर्ने भएको छ । चलचित्र महोत्सव यही कात्तिक १९ देखि २२ गतेसम्म मध्यपश्चिम विश्वविद्यालयको कुइनेपानीस्थित सेमिनार हलमा आयोजना हुन लागेको हो । निःशुल्क हेर्न सकिने महोत्सवमा ५ युरोपियन र ३ नेपाली चलचित्र प्रर्दशन गरिनेछ ।

‘दुई वर्षको अन्तरालपछि सिनेमा हलमा फेरि जान पाउनु र युरोपका १३ उत्कृष्ट चलचित्रका साथै ३ नेपाली चलचित्र प्रस्तुत गर्न पाउँदा हामी धेरै उत्साहित छौँ, सिनेमा साँस्कृतिक र बौद्धिक जीवनको अग्रभागमा रहन्छ र साँस्कृतिक आदानप्रदानलाई प्रवद्र्धन गर्न र हाम्रो जीवनलाई प्रभावित पार्ने सवालहरुलाई हामी कसरी हेर्छौं भन्ने हाम्रो बुझाइलाई सम्वृद्ध बनाउनका लागि सिनेमा प्रभावकारी माध्यम हो्,’ नेपालस्थित युरोपेली युनियनको डेलिगेशनकी कार्यवाहक प्रमुख जोयेल हिभोनेटले भने ।

१३ युरोपियन चलचित्र मध्ये रिता हुतानेनले निर्देशन गरेको ‘गड्स् अफ मोलेन्बेक’, लोरेन्ट मिचेली र ओस्कारले निर्देशन गरेको ‘लोला’ र आराश टी. रिहाहीले निर्देशन गरेको ‘अस्कर एण्ड लिली’मा नेपाली सब्टाईटल हुनेछन् । चलचित्र महोत्सवका आकर्षणहरूमध्ये एक ‘ऐना झ्यालको पुतली’ हो । यो नेपाली कथानक चलचित्रले हालैका दिनहरूमा थुप्रै प्रशंसा कमाएको थियो ।


महोत्सवको सद्भावना दूत नायिका केकी अधिकारी छिन् । किरण श्रेष्ठले निर्देशन गरेको ‘येट अनदर विन्टर’ र विशाल रोक्का मगरले निर्देशन गरेको ‘गोर्खा गल्र्स्’ उत्सवमा देखाइने अन्य दुई नेपाली चलचित्रहरू हुन । ओपनिङ्ग फिल्म ‘गड्स् अफ मोलेन्बीक’ रिता हुतानेनले निर्देशन गरेको वृत्रचित्त हो । महोत्सव अन्तर्गत चलचित्र र चलचित्र निर्माणका विभिन्न पक्षहरूसँग सम्बन्धित तीन पूरक क्रियाकलापहरूको पनि आयोजना हुनेछ ।

चलचित्रकर्मी सुजित बिडारीले कर्णाली प्रदेशका चलचित्रका विद्यार्थी तथा चलचित्रकमीहरुलाई लागि मास्टरक्लास सञ्चालन गर्ने छन् । चलचित्रकर्मी बिडारीले कात्तिक २२ गतेको पहिलो प्रहरमा नै फिल्म बनाउन चाहिने कथादेखि त्यसलाई खिच्ने तरिकासम्मको बारेमा छलफल गर्ने जानकारी दिए । उनले भने, ‘मास्टर क्लासमा मैले फिल्म बनाउन चाहिने आइडियादेखि त्यो आइडियालाई कथा हुँदै पटकथामा रुपान्तरण गर्ने र अन्त्यमा त्यसलाई दृश्यमा रुपान्तरण गर्ने प्रक्रियाको बारेमा आफ्नो अनुभव बाँड्नेछु ।’ बिडारीले अस्कर कलेजबाट फिल्म मेकिङमा स्नातक गरेका छन् ।

Translate »