होटल व्यवस्थापनमा बढ्दो आकर्षण

मंसिर २८, काठमाडौं । अध्ययनपछि सजिलै रोजगारी पाउने भएकाले स्नातक तहअन्तर्गत होटल व्यवस्थापनमा विद्यार्थीको आकर्षण बढ्दो छ ।

नेपालमा स्वदेशी र विदेशी दुवै शैक्षिक संस्थाको सम्बन्धनमा यो विषय पठनपाठन भइरहेको छ । कक्षा १२ पासपछि जुनसुकै विषय अध्ययन गरेकाले पनि यो विषय रोज्न सक्छन् । स्वदेशी मात्रै नभई विदेशी विद्यार्थी पनि होटल म्यानेजमेन्ट पढ्न नेपाल आउने गरेको कलेज सञ्चालकहरू बताउँछन् ।

पाटनकी रोजिना श्रेष्ठले होटल व्यवस्थापनमा स्नातक सकेलगतै अस्ट्रेलिया जाने योजना बुनेकी छिन् । ‘मलाई इभेन्ट म्यानेजमेन्टमा क्यारिअर बनाउने रुचि छ,’ रोजिनाले नागरिकसँग सुनाइन्, ‘त्यही भएर थप शिक्षाका लागि मैले अस्ट्रेलियाका लागि प्रक्रिया गरेको छु ।’ होटल व्यवस्थापन अध्ययनको क्षेत्र फराकिलो भएकाले पनि उत्पादित जनशक्ति विश्वबजारमा समेत बिक्ने उनको भनाइ छ । माध्यमिक तहमा बिजनेस अध्ययन गरेकी उनी सानैदेखि होटेल व्यवस्थापन तथा अतिथि सत्कारमा रुचि भएकाले यो विषय अध्ययन गरेको बताउँछिन् ।

होटल व्यवस्थापन सिपसँग जोडिने भएकाले रमाइलो वातावरणमा अध्ययन गर्न सकिने खोटाङकी कृपा राईको अनुभव छ । लैनचौरस्थित सिल्भर माउन्टेन स्कुल अफ होटेल म्यानेजमेन्ट कलेजमा राई चार वर्षे बिएच अध्ययन गरिरहेकी छिन् ।

उनी राम्रो कमाइका साथै सामाजिक प्रतिष्ठासमेत कायम हुने भएकाले स्नातकमा होटेल व्यवस्थापन विषय छनोट गरेको सुनाइन् । बेलायतको क्विन मार्गरेट युनिभर्सिटीको सम्बन्धनमा सिलभर माउन्टेनले ४ वर्षे बिएचएम कोर्ष सञ्चालन गरिरहेको छ । ‘मैले चार वर्षे डिग्री हासिल गरी स्नातकोत्तर तह अध्ययन गर्न क्यानडा जाने तयारी गरिरहेकी छु,’ सातौं सेमेस्टर अध्ययन गरिरहेकी राईले सुनाइन्, ‘अध्ययनपछि म आफूलाई पाँच तारे होटलमा एक कुशल ह्युमेन रिसोर्स म्यानेजरका रूपमा देख्न रुचाउने मेरो चाहना हो,’ उनले थपिन्, ‘त्यही भएर मैले सिल्भर माउन्टेन कलेज रोजें । यहाँबाट उत्पादित दाजुदिदीहरूले स्वदेशमै पनि प्रसिद्ध होटेल व्यवसायी बनेको देखेर म प्रफुल्लित भएँ।’

सिल्भर माउन्टेन कलेजका सञ्चालक तथा प्रिन्सिपल समीर थापाले बेलायतको क्विन मार्गरेट विश्वविद्यालय एक सय ४० वर्ष पुराना भएकाले पनि यसबाट दीक्षित भएका विद्यार्थीहरू विश्वबजारमै बिक्ने बताए। उनले चार वर्षे होटेल व्यवस्थापनमा मुख्य गरी कुकरी, पकाएको समग्र प्रस्तुति, आतिथ्य सत्कार, हाउस किपिङ, सेल्स एन्ड मारकेटिङ, इन्टरनेसनल होटल चेन प्रणाली मानव संसाधन व्यवस्थापन र पाहुनाको सुरक्षाबारे सिकाइने हुनाले यो विषय अध्ययनपछि कुशल व्यवस्थापक उत्पादन हुने जनाए । उनले होटेल व्यवस्थापनका उत्पादित जनशक्ति विश्वबजारमा बिक्ने भएकाले विद्यार्थीको आकर्षण बढ्दै गएको जनाए । ‘नेपालमा विदेशी तथा स्वदेशी दुवै विश्वविद्यालयहरूले व्यवस्थापन सङ्कायअन्तर्गत होटेल व्यवस्थापनका विषयहरू अध्ययन गराइरहेका छन्,’ थापाले भने, ‘यसैले विद्यार्थीलाई फराकिलो अवसर मिलेको छ । यति मात्र होइन, हाम्रो कलेजबाट उत्पादित जनशक्ति आफ्नै होटल व्यवसाय गरी सफल उद्यमी बनेको देख्दा झनै गर्व लाग्छ ।’ नयाँ बानेश्वर, बुद्धनगरमा रहेको कान्तिपुर इन्टरनेसनल कलेजका कार्यकारी निदेर्शक प्रतापराज जोशीका अनुसार होटल व्यवस्थापन सिपमूलक प्राविधिक विषय भएकाले अध्ययनपछि विद्यार्थीहरू खालि हात बस्नुपर्दैन ।

पूर्वाञ्चल विश्वविद्यालयको सम्बन्धनबाट सञ्चालित यो कलेजले विगत २४ वर्षदेखि नेपालमा निजी क्षेत्रकै पहिलो कलेजका रूपमा होटेल व्यवस्थापन विषयको पठनपाठन गराउँदै आएको छ । सिपमूलक शिक्षा भएकाले चार वर्षको अध्ययनमा अन्तिम एक वर्ष पूरै भुक्तानीमा आधारित इन्टर्नसिप गर्नुपर्ने भएकाले विद्यार्थीले न्यूनतम २५ हजार तलब पाउने गरेको उनले बताए। साथै विदेशमा समेत आकर्षक अवसर रहेकाले पनि विद्यार्थीहरूको रोजाइमा बिएचएम पर्ने गरेको उनको अनुभव छ । ‘होटेल व्यवस्थापन अध्ययनपछि उत्पादित जनशक्ति कुशल व्यवस्थापक बन्छन्,’ जोशी भन्छन्, ‘सिपमूलक शिक्षा भएकाले उत्पादित जनशक्तिहरू रोजगारीमा मात्र नभएर रोजगार दाता तथा उद्यमशील बन्छन् ।’ उनले थपे, ‘हाम्रा विद्यार्थीहरू चितवन, भैरहवा, बुटवललगायतका क्षेत्रमा आफ्नै सिप प्रयोग गरी होटेल व्यवसाय गरी उद्यमशील बनेका छन्।’

टेक्सास कलेज चावहिलका सहप्राचार्य श्यामसुन्दर श्रेष्ठले नेपाली विद्यार्थीले स्वदेशमै विश्वस्तरको शैक्षिक डिग्री सर्वसुलभ शुल्कमा प्राप्त गर्ने र प्राप्त गरेको ज्ञान एवम् सिपले उत्पादित जनशक्ति स्वदेश तथा विदेशमा समेत सक्षम हुने भएकाले होटेल म्यानेजमेन्ट विद्यार्थीको रुचिको विषय बन्दै गएको बताए । उनले यो विषयमा ४० प्रतिशत सैद्धान्तिक र ६० प्रतिशत नै प्राक्टिकल अध्ययन भएकाले विद्यार्थीलाई होटल व्यवस्थापनले आकर्षित गरेको जनाए । यो कलेजले मलेसियाको लिंकन विश्वविद्यालयको बिएचएम कोर्ष सञ्चालन गर्दै आएको छ ।

‘नेपालमा मुख्य गरी मलेसिया, बेलायतलगायत देशका होटेल व्यवस्थापन विषय सञ्चालनमा छन्, ‘सहप्राचार्य श्रेष्ठले नागरिकसँग भने, ‘विदेशी विश्वविद्यालयहरूको क्रेडिट ट्रान्सफर व्यवस्थाले विद्यार्थीलाई स्वदेश तथा विदेशमा समेत उच्च शिक्षा हासिल गर्न सहज बनेको छ ।’ उनले थपे, ‘नेपालबाट अध्ययन गरी विदेश जाने विद्यार्थीहरू पनि विभिन्न होटेलमा किचेन, सेफ, फ्रन्ट डेस्क, कफिसप, वेटरलगायत काम सहजै पाउँछन् । जसले उनीहरूको पढाइ खर्च जुटाउन सहयोग पुग्छ ।’

होटल एसोसिएसन नेपाल ९हान० का अनुसार हाल नेपालमा साना–ठुला गरी करिब २५ सय होटल सञ्चालित छन्। ती होटलमा तीन लाख जनशक्ति विभिन्न पदमा कार्यरत छन् । हरेक वर्ष १० प्रतिशत जनशक्ति खाली हुन्छ । त्यो अझै पूर्ति गर्न नसकेको तथ्यांक छ। गोल्डेन गेटका सिइओ रमेश सिलवालले होटल व्यवस्थापन अध्ययन गरेका जनशक्तिले टुरिजम, ट्राभल, सपिङ मल, एयरलायन्स, क्रुज, बैंक, मुभी थिएटरलगायत क्षेत्रमा काम गर्ने अवसर रहेको जनाए । सानो लगानीमा पनि स्वरोजगार बन्छन् । त्रिभुवन विश्वविद्यालयअन्तर्गत सञ्चालित यो कलेजबाट उत्पादित जनशक्ति पूर्ण रूपमा रोजगारीमा छन् । ‘हाम्रा उत्पादन सबै जनशक्ति विभिन्न क्षेत्रमा व्यवस्थापकीय पदमा कार्यरत छन्,’ सिलवालले सुनाए, ‘बिएचएम अध्ययनपछि सामाजिक प्रतिष्ठाका साथै आर्थिक रूपमा पनि सक्षम बनिन्छ ।’

विद्यार्थीले प्रत्येक सेमेस्टरमा इन्टर्नसिप गरेबापत आर्थिक आयआर्जन गर्ने भएकाले अध्ययनकै क्रममा शैक्षिक लगानी उठाउन सक्ने भएकाले बिएचएममा विद्यार्थी आकर्षण बढेको उनले बताए । (नागरिक)

Translate »