वर्षभरी सहुलियत मूल्य पसल

कर्णालीमा अब वर्षभरि नै सहुलियत मूल्य पसल सञ्चालन गरिने भएको छ । विश्व खाद्य कार्यक्रमको प्राविधिक सहयोगमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सहकारीमार्फत वर्षभरि नै सहुलियत मूल्य पसल सञ्चालनमा ल्याउन लागेको हो । पहिलो चरणमा सुर्खेत र दैलेखमा वर्षभरि सहुलियत मूल्य पसल सञ्चालनमा ल्याईने छन् । यसअघि सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट टे«डिङ कर्पोरेशनमार्फत चाडपर्वका समयमा मात्र दैनिक उपभोग्य खाद्य वस्तु बजार भाउभन्दा कम मूल्यमा विक्री गर्दै आएको थियो । उद्योग, वाणिज्य, तथा आपूर्ति मन्त्रालयको मातहतमा रहेको साल्टट्रेडिङ कर्पोरेसन, खाद्य व्यवस्था तथा व्यापार कम्पनी र कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको दुग्ध विकास संस्था (डिडिसी) ले देशका केही सीमित स्थानहरुमा सहुलियत मूल्य पसल सञ्चालनमा ल्याउने चलन छ । दसैं तिहार लगायत चाडबाडको समयमा बजारमा निजी क्षेत्रको एकाधिकार हुन नदिन भन्दै हरेक वर्ष सरकारले सहुलियत मूल्य पसल सञ्चालन गर्ने गरेको हो । तर, त्यस्ता पसल भने सरकारको देखाउने दाँत मात्रै हुने गरेको उपभोक्ता अधिकारकर्मीहरुको गुनासो थियो । गतवर्ष दसैंतिहारका बेला चिनीमा भएको मुल्यवृद्धि नियन्त्रण गर्न सरकार असफल भयो ।

तर, आफ्नै स्वामित्वमा रहेको साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत बिक्री हुने चिनी बिक्री वितरणमा रोक लगायो । सहुलियत पसल सहरिया उपभोक्तालाई बढी आवश्यक कि गाउँ र दुरदराजका बासिन्दालाई ? कर्णालीका सदरमुकामै मै खोलिएका सहुलियत पसलमा सबै उपभोक्ताको पहुँमा छ त ? जस्ता सवालहरु हरेक वर्ष उठ्ने गरेका छन् । सदरमुकाममा मात्र सञ्चालन गरिएका सहुलियत मूल्य पसलहरुले दिने सेवा विकट गाउँका लागि बढी प्रभावकारी हुन्छ, तर राज्यले यस विषयलाई महत्वमा राख्न सकेको देखिदैन् । अर्कोतर्फ सहुलियत मूल्य पसलका लागि भन्दै सरकारले हरेक निश्चित बजेट छुट्याउने गरेको छ । तर उक्त रकमको सही सदुपयोग भए नभएको बारे अनुगमन भएको देखिँदैन । सहुलियत पसल सञ्चालन गरेका सरकारी निकायहरुले आफूले बेचेको सामानको भुक्तानी अन्तिममा माग्ने गरेका छन । तर उनीहरुरुले दाबी गरेको भुक्तानी रकम सही वा गलत भन्ने विषयमा अध्ययन अनुसन्धान गर्नका लागि कुनै संयन्त्र परिचालित भएको देखिँदैन । यसका वावजुद पनि यसपटक खाद्य व्यवस्था तथा व्यापार कम्पनी, कर्णाली प्रादेशिक कार्यालयले भने स्थानीय उत्पादनलाई प्रोत्साहन दिनेगरी पहिलो चरणमा सुर्खेतको रामघाटस्थित भेरी पशु तथा कृषि सहकारी र दैलेखको नारायण नगरपालिकास्थित शतप्रतिशत प्रगतिशील सहकारीमार्फत वर्षभरि नै खुल्ने सुपथ मूल्य पसल सञ्चालनमा ल्याउने तयारी गरेको छ ।

यो भने सुखद पक्ष हो । कम्पनीले आयातित खाद्यान्नभन्दा स्थानीयस्तरमै उत्पादित खाद्यान्न खरीद गरे सुपथ मूल्यमा सहकारीमार्फत आम उपभोक्तालाई विक्री गरिने बताएको छ । त्यति मात्र होइन, स्थानीय कृषि वस्तुको उत्पादन बढाएर रोजगारीसँगै निर्यातलाई प्रोत्साहन दिने समेत उद्देश्य रहेको कम्पनीको भनाइ छ । संघ, प्रदेश, स्थानीय तह र सरोकारवाला निकायको समन्वय तथा सहयोगमा कर्णालीमा खाद्य असुरक्षा तथा कुपोषण हटाउन सहुलियत मूल्य पसल प्रभावकारी हुने कम्पनीको दावी छ । यो उद्देश्य यदी पवित्र हो भने पक्कैपनि यसबाट कर्णालीका उपभोक्तालाई प्रत्यक्ष लाभ पुग्नेछ । दुर्गम, ग्रामीण खाद्य असुरक्षित क्षेत्रहरूमा उचित मूल्यमा सुरक्षित तथा पौष्टिक खाद्यान्न उपलब्ध गराउनु राज्यको दायित्व समेत हुन जान्छ । आम उपभोक्तालाई लक्षित गरी खोलिने सहुलियत मूल्य पसलमा विक्रीका लागि राखिने खाद्य वस्तुको गुणस्तर, भण्डारणलगायत विषयमा विशेष ध्यान दिइनुपर्छ । उपभोक्तालाई लक्षित गरी खोलिने सहुलियत मूल्य पसल प्रदेशका गाउँ–गाउँमा खोल्न सकियो भने मात्र बजारमा व्याप्त कालोबजारी नियन्त्रण गरी उपभोक्तालाई राहत दिन सकिन्छ ।

Translate »