मुगु–हुम्ला सडक सञ्जालमा जोडियो

 

पुस ११, मुगु । हुम्ला सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालमा नजोडिँदै मुगु सदरमुकाम गमगढीबाट हुम्लाको चंखेली गाउँपालिकास्थित दार्मसम्म सडक जोडिएको छ । सडक पुगेपछि झन्डै २ दिनको पैदल यात्रा करिब ५ घण्टामा छोटिएको छ । छायानाथरारा नगरपालिका–१ की व्यापारी ज्ञानी शाहीले दार्मसम्म सडक जोडिएपछि ढुवानी भाडा झन्डै एक तिहाइ सस्तिएको बताइन् । उनका अनुसार यसअघि प्रतिकिलो ४० देखि ४५ रुपैयाँ ढुवानी भाडा तिरेर खच्चडमा सामान दार्म पुर्‍याउनुपर्ने बाध्यता थियो । अहिले गाडीले प्रतिकिलो १५ रुपैयाँमा सामान ढुवानी गरिरहेको उनको भनाइ छ ।‘आउजाउको दूरी पनि छोटियो, ढुवानी भाडा सस्तिएपछि उपभोक्ताले पनि सुपथ मूल्यमा दैनिक उपभोग्य सामान प्रयोग गर्न पाइरहेका छन्,’ उनले भनिन्, ‘यहाँको कृषि उत्पादन पनि सजिलैसँग नेपालगन्ज र सुर्खेत पुर्‍याउन सकिएको छ ।’ उनको पसलबाट अहिले दैनिक ५ देखि २० क्विन्टलसम्म दैनिक उपभोग्य सामान खपत भइरहेको छ । त्यतिकै परिणाममा स्थानीय उत्पादन सिमी, आलु, कोदो, कागुनो, भाँगोलगायत कृषि उत्पादन गमगढी आइरहेको छ । उनले त्यहाँबाट आएको कृषि उपज सुर्खेत, नेपालगन्जलगायत सहरमा पठाउने गरेकी छन् ।

ग्रामीण पहुँच कार्यक्रमले गमगढीस्थित रेडक्रस मार्गदेखि हुम्लाको दार्म–देउलीसम्मको ६७ किमि सडक निर्माण गरेको हो । सडक खुलेपछि मुगुका विभिन्न ३ स्थानीय तह र हुम्लाको चंखेली गाउँपालिकाबीच सडक सम्बन्ध जोडिएको छ । बेलायत सरकारको आर्थिक सहयोग र ग्रामीण पहुँच कार्यक्रमको प्राविधिक सहयोगमा सन् २०१८ देखि सडक निर्माणको काम सुरु भएको थियो । झन्डै ५ वर्ष लगाएर निर्माण सम्पन्न भएको ६७ किमि सडक नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीलाई शनिबार हस्तान्तरण गरिन् । सडक निर्माणले स्थानीयको जनजीवन सहज हुने र जीवनशैलीमा सुधार ल्याउने अपेक्षा गरिएको राजदूत पोलिटले बताइन् ।

‘अब गाउँको उत्पादन सजिलै सहर पुग्नेछ, सहरको सामान गाउँमै पुग्ने भएपछि विपन्न समुदायले सडकबाट ठूलो लाभ लिनेछन्,’ उनले भनिन्, ‘सडक निर्माणमा ठूलो उपकरण पनि प्रयोग भएनन्, जसबाट झन्डै एक हजार जनाले ५ वर्षसम्म रोजगारी पाए ।’ मुख्यमन्त्री शाहीले सडकबाटै स्थानीयले आत्मनिर्भरता र समृद्ध जीवनशैलीको खोजी गर्ने बताए ।सडक निर्माण भएसँगै मुगुको रुघा, थार्प, लुम, बाम, पाइपाटा, दर्ख्यालबाडालगायत बस्ती सडकमा जोडिएका छन् भने हुम्लाको चंखेली गाउँपालिकाका पूरै बस्तीहरूसम्म सडक सञ्जाल पुगेको छ । सडक गाउँसम्मै पुगेपछि स्थानीयस्तरमा उत्पादन हुने आलु, स्याउ, ओखर, चुली, आरु, सिमीलगायत कृषि उपजले बजार पाउने अपेक्षा गरिएको हुम्लास्थित दार्मका पंखबहादुर शाहीले बताए । ‘सडकसँगै गाउँमा सुविधा पुग्यो, हाम्रा छोरानातिले सुख पाउने भए,’ ५ दशकअघि नुन–चामल ल्याउन कैलाली र बर्दियाको चिसापानीसम्म पुगेका उनले भने, ‘यस्ता दिन आउलान् भनेर कहिल्यै सोचेका थिएनौं, अहिले त मेरै घरमुनिबाट गाडी गुड्न थाल्यो ।’ दार्मकै गोरखबहादुर शाहीले सडक पुगेसँगै २ दिन पैदल हिँडेर गमगढी पुग्नुपर्ने बाध्यता टरेको बताए । उनका अनुसार हुम्ला सदरमुकाम सिमकोट जान टाढा भएपछि स्थानीय मुगु सदरमुकाम गमगढी हुँदै बाहिर जाने गरेका थिए ।

सडक निर्माणसँगै बेलायत सरकारको आर्थिक सहयोगमा मुगुको लुम, दर्खेखोला, हुम्लाको मेल्छाम र लेर्बाखोलामा पक्की पुल बनेको छ । सडक खण्डमै पर्ने मुगुको भट्टेचौरस्थित कर्णाली नदीमा भने छायानाथरारा नगरपालिकाले गत वर्ष नै पक्की पुल बनाएको थियो । अब चंखेली गाउँपालिकाका बिरामीलाई उपचारका लागि हेलिकोप्टर चार्टर गर्नुपर्ने बाध्यता टरेको दार्मका हिक्मत जेठाराले बताए । ‘अप्ठेरो अवस्थाका र अप्रेसन गर्नुपर्ने बिरामीहरू अब एम्बुलेन्स र जिपमार्फत गमगढी र सुर्खेतका सुविधासम्पन्न अस्पतालमा पुग्न सजिलो भएको छ,’ उनले भने, ‘यसअघि सडक सुविधा नहुँदा बिरामीलाई हेलिकोप्टरबाट उद्धार गर्नुपर्ने बाध्यता थियो ।’

गमगढी–दार्म सडक बनेपछि पर्यटकीय गन्तव्य चंखेली हिमालमा पर्यटकीय चहलपहल वृद्धि हुने अपेक्षा गरिएको छायानाथरारा नगरपालिका–१४ का वडाध्यक्ष जुनबहादुर बडुवाल बताए । उनका अनुसार रारा घुम्न आएका आन्तरिक पर्यटकदेखि गमगढीका स्थानीय, व्यापारी र कर्मचारीहरू जिप र मोटरसाइकलमा चंखेली हिमाल घुम्न आउने अपेक्षा गरिएको छ । सडक निर्माणअन्तर्गत कामदार ज्याला, औजार खरिद, पुल निर्माणलगायत काममा करिब दुई अर्ब रुपैयाँ बजेट खर्च भएको ग्रामीण पहुँच कार्यक्रमले जनाएको छ । कार्यक्रमले अघिल्लो वर्ष गमगढी–सोरु–तारापानीसम्म २१ किलोमिटर सडक निर्माण गरेको थियो । (इकान्तिपुर)

Translate »