चीनले बन्द हिल्सा नाका खोल्यो
स्काई न्यूज /पुस १४, सुर्खेत । तीन वर्षदेखि बन्द रहेको हुम्लाको हिल्सा नाका खुलेको छ । कोरोना महामारी शुरु भएदेखि नै बन्द रहेको नेपाल–चीन सीमा हिल्ला नाका चीनले सोमबारदेखि सरसामान आयात गर्नेगरी एकतर्फी खोलेको हो । चीनले नाका खोलेपछि ८ वटा ट्रकमा सामान आयात गरिएको यारी भान्सार कार्यालयका प्रमुख रामराज जैसीले जानकारी दिए । ‘चीनबाट ८ वटा ट्रकमा सरसामान नेपालतर्फ भित्रिएका छन्,’ उनले भने, ‘ट्रक भित्र के के सामान आएको त्यो अहिले ठ्याक्कै भन्न सकिने अवस्था छैन् । ट्रकको चेकजाँच पछि मात्र थाहा हुन्छ ।’ उनले यसअघि चीनबाट दैनिक उपभोग्य सामाग्री, पेट्रोलियम पदार्थसँगै विकास निर्माणका सामाग्री आयात हुने गरेको जनाए । उनका अनुसार यारी नाकाबाट चीनले सामान निर्यात गर्न थालेको करिब ५ वर्ष पुग्न थालेको छ । उनले वर्षात ताका विग्रेका सडकहरुको मर्मत सम्भार नहुँदा नाकामा आएका सामाग्री जिल्ला सदरमुकाम सिमकोट बजारसम्म पुग्न अझै दुई दिन समय लाग्ने जनाए । राष्ट्रिय सडक सञ्जालले नछोएको हुम्लामा सुर्खेत, नेपालगञ्जदेखि हवाईमार्गबाट सामान ढुवानी गर्दा चर्को भाडाले वस्तुको मूल्य महँगो हुने गरेको छ ।
सुनसान तुम्कोट बजार
हिल्सा नाकाले धानेको नाम्खा गाउँपालिका–५, स्थित तुम्कोट बजार सुनसान छ । कोरोना महामारीका कारणले चीनले यारी नाका बन्द गरेपछि अहिले नाका खुलेपनि अझै मुचुका तुम्कोट बजार सुनसान देखिन्छ । पाँच वर्ष पहिले हिल्सा नाकाबाट दैनिक उपभोग्य वस्तुसँगै अन्य सरसामाग्री चीनबाट आयात हुँदा तुम्कोट बजारमा चम्केको थियो । तर कोरोना महामारीपछि चीनले नाका बन्द गरेसँगै तुम्कोट बजार सुनसान भएको नाम्खा गाउँपालिका–५, का स्थानीय तुण्डुम तामाङले जनाए । उनले नाका बन्द हुँदा तुम्कोट बजार सुनसानसँगै थुप्रै स्थानीय बासिन्दाको रोजीरोटी समेत गुमेको बताए । ‘नाम्खा गाउँपालिकाका प्रायः युवाहरु वर्षेनी मजदुरीका लागि ताक्लाकोट जाने गरेका थिए,’ उनले भने, ‘नाका बन्द भएसँगै ताक्लाकोट जान नपाउँदा गाउँका अधिकांश युवा बेरोजगार भएर बस्न बाध्य छन् ।’ उत्तरी नाका हिल्सा बन्द हुँदा नाम्खा गाउँपालिकामा दैनिक उपभोग्य सामाग्रीसँगै विकास निर्माणका कामहरु समेत ठप्प भएको नाम्खा–६, का वडाध्यक्ष पाल्जोर तामाङले बताए । उनले यातायात सुविधा नहुँदा चिनिया खाद्यान्नमा परनिर्भर रहेको गाउँपालिकादेखि सदरमुकाम सिमिकोटबाट दैनिक उपभोग्य वस्तु ढुवानी गर्न धेरै समस्या हुने गरेको जनाए ।
होटल तथा पसल संकटमा
नाका बन्द हुँदा हिल्सामा रहेका भन्सार, अध्यागमनलगायत कार्यालय बन्द थिए । सरकारले केही महिनाअघि चीन र भारततर्फका ३० वटा नाका सञ्चालन गर्ने निर्णय गर्दा हुम्लाको हिल्सा नाका प्राथमिकतामा पर्न सकेको थिएन । नाका खोल्न विभिन्न निकायमा आग्रह गर्दा समेत सुनुवाइ नभएको हुम्ला उद्योग वाणिज्य संघ अध्यक्ष नाम्ग्याल तामाङले जनाए । उनले नाका नखुल्दा हिल्साका झन्डै ५० वटा होटेलसँगै ४० वटा पसलहरु बन्द रहेको बताए । उनका अनुसार त्यहाँको प्रभावले सिमिकोटमा पनि २६ होटेल बन्द भएका छन् । हिल्साको व्यापार व्यवसाय पहिलेकै लयमा फर्किन धेरै समय लाग्ने उनको भनाइ थियो ।
तीन वर्षदेखि राजश्व शुन्य
तीन आर्थिक वर्षदेखि हिल्सा नाका ठप्प हुँदा यारी भान्सार कार्यालय हुम्लाको राजश्व शुन्य भएको छ । कोरोना महामारीदेखि नै चीन–नेपाल दुबै तर्फबाट सामान आयात–निर्यात ठप्प भएपछि राजश्व शून्य भएको हो । नाका बन्द भएपछि यारी भान्सार कार्यालयका कर्मचारी सदरमुकाम सिमकोट बसेर तलब खादै आईरहेका थिए । सोमबार चीनले एकतर्फी हिल्सा नाका खोलेसँगै भन्सारका कर्मचारी चीन–नेपाल सिमाना हिल्ला नाका तर्फ राजश्व संकलनका लागि जुटे छन् । भन्सार कार्यालय प्रमुख जैसीसँगै दुई जना कार्यालय सहयोगी समेत मंगलबार हिल्सा पुगेको हुम्लाका प्रमुख जिल्ला अधिकारी सीता परियारले जानकारी दिईन् ।