जनअपेक्षाको कसीमा रविको छवि

राजनीति न ठाँट हो न त ढाँट हो । लोकमतको पगरी गुथेर ठाँटमा सजिने र राज्यदोहन गरिरहने प्रवृत्तिका गतिहीन, नीतिहीन र ऊर्जाविहीन पुराना दलहरूका पौराणिक नेताहरूको विकल्पमा एकाएक रविको वज्र–उपस्थिति भएको छ ।

हाम्रो राजनीतिक फाँट ढाँटमा परिणत भएकाले सरकार र आम नागरिकको हित–सरोकारका मुद्दाहरूबीच खाडल पर्नाले राजनीतिक फाँटमा रविको पदार्पण हुन गएको छ । रवि स्वयंको कुनै लामो राजनीतिक विरासत वा त्यागको हिरासतमा बसेको पृष्ठभूमि पनि छैन । जनजीविकाका सवाललाई सरकारको सरोकारको विषय बनाउनमै आफ्नो व्यावसायिक जीवन समर्पण गरिरहेका जुझारु र वाक्पटु युवाको सत्तामा उपस्थिति आकस्मिक भए पनि अपेक्षित तर अनिवार्य नै हो । यस्तो अप्रत्याशित तर अपेक्षित युवा–उपस्थितिले परिवर्तनका नियमको उपादेयता र अनिवार्यतालाई पुष्टि गर्ने गर्छ । लोकाधिकारमाथि भ्रष्ट र अयोग्यको राजनीतिक एकाधिकार समाप्त गर्न समयसमयमा यस्तै ठूला रेक्टर स्केलका भूकम्पीय झट्का जान आवश्यक छ । यसले राजनीतिक उन्मादलाई सतहमा ल्याउन मदत पुर्‍याउँछ । विसंगति र विकृतिको जगमा ठडिएको राजनीतिक एकाधिकारलाई सहजै भत्काउन सकिन्छ भन्ने सन्देश दिएका छन् रविले । रविको संकल्प सुशासनको विकल्प बन्छ वा बन्दैन, युवा आँटले राजनीतिक ढाँट र ठाँटलाई परास्त गर्छ वा गर्दैन, त्यो समयले परीक्षण गर्ने विषय हो । तर, रविको उपस्थिति युवा भरोसा र भावी सन्ततिको भविष्यको सुनिश्चितताको मार्गचित्र पनि हो भन्ने हेक्का रवि स्वयंले गर्न जरुरी छ ।रवि व्यक्ति मात्र होइनन्, सुशासनका प्रतिनिधि पात्र पनि हुन् ।

उनको सफलता र असफलतामा युवा भरोसाको भविष्य जोडिएको छ । युवा आँटले राजनीतिक फाँटको ढाँटलाई परास्त गर्न सकिन्छ भन्ने सन्देशलाई यथार्थमा व्यावहारिक ढंगले पुष्टि गर्न रवि स्वंयले पनि रंग, ढंग र संगबीच सन्तुलन कायम गर्नुपर्छ । कराएर मात्र के गर्नु, यहाँ कराउनेहरू हराउने गर्छन् १ त्यसैले सरकारको संयन्त्रमै सहभागी भई केही गरेर देखाइदिने अठोटका साथ उनी महत्त्वपूर्ण जिम्मेवारीमा पदासीन भएका छन् । सुशासनका क्षेत्रमा उनले गर्ने हरेक कामको नैतिक दबाब सरकारका अन्य सहयात्रीमा समेत पर्ने नै छ । उनले सम्हालेको जिम्मेवारीको क्षेत्र कानुनको कार्यान्वयन गर्ने र आम नागरिकको डरलाई भरमा परिणत गर्ने, सुशासन र अनुशासनको पद्धतिलाई सामाजिक संस्कृतिमा रूपान्तरण गर्न सक्ने खालको भएकाले त्यसलाई इमानदारी र समझदारीका साथ निर्वाह गर्न नीति, रणनीति र कार्यनीतिबीच तादात्म्य मिलाउन पनि उत्तिकै आवश्यक छ । सुरक्षाको व्यवस्थापन लहड र सनकका भरमा गर्न सकिन्न । आफ्नो मातहतको संगठित प्रहरी शक्तिको सुसञ्चालन कसरी गर्नेस सांगठनिक संरचनाको अवतरण, कार्य प्रकृतिको वर्गीकरण र सेवाको विशिष्टीकरण केकसरी गर्ने भन्ने विषयमा यथोचित ध्यान दिन सकिएन भने जोस र जाँगरले मात्रै दिगो र परिणाममुखी परिणाम दिन सक्दैन । यसै सन्दर्भमा कानुन कार्यान्वयन गर्ने अनि रविको छवि र अभियानमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने नेपाल प्रहरीको संगठित व्यावसायिक ऊर्जालाई परिचालन गर्दा ध्यान दिनुपर्ने विषयबारे यहाँ संक्षेपमा चर्चा गरिएको छ ।

संगठित र नियन्त्रित आक्रमणको रणनीतिछिटो परिणामका लागि आक्रामक प्रहार आवश्यक छ तर प्रभावकारिता र दिगो विकासका लागि गतिलाई नीतिले पुष्टि गर्ने र परिणामलाई निरन्तरतामा परिणत गर्ने सोच र कार्यनीति अवलम्बन गर्नुपर्ने हुन्छ । कहिलेकाहीँ लोकप्रिय मुद्दालाई सार्वजनिक खपतका लागि मात्र उठान गर्दा समस्याले झनै समस्या मात्र जन्माउने गर्छ । समस्याको प्रकृति र कारण नबुझी वा एकांगी रूपमा मात्र बुझेका आधारमा गरिने प्रणालीविहीन उपायको प्रयोगले अपरिपक्वताको परिणाम मात्र हात लाग्न सक्छ । हल गर्नुपर्ने आम सरोकारका मुद्दा थुप्रै छन्, हरेक मुद्दालाई वर्गीकरण गरी कारबाहीको कारगर नीति अवलम्बन गरेर मात्र समस्यामाथि सिंगो संयन्त्रले प्रहार गर्ने रणनीति अख्तियार गर्नुपर्छ । फायर खोल्दा ब्याक फायरको सम्भावित खतराको वस्तुगत मूल्यांकन गर्नुपर्छ । अधैर्यको रणनीतिले दुर्घटना निम्त्याउन सक्छ । विगतमा आफू स्वयंले भोगेका र उठाएका आम सरोकारका अथाह मुद्दालाई रीतिथितिको साँचोको प्रयोगबाट मात्र स्थायी रूपमा हल गर्न सकिन्छ । हतारमा अन्तिम हतियार प्रयोग गरिहाल्ने रणनीतिले गर्दा आफैं अस्त्रविहीन भइएला भन्नेतर्फ सचेत हुँदै आक्रामक तर नियन्त्रित र संगठित प्रहारमा ध्यान दिनुपर्छ । प्रहार गर्न त संगठित एवं वैधानिक प्रहरीको यन्त्र र संयन्त्र छँदै छ, तपाईंले उक्त संयन्त्रलाई स्वसञ्चालित हुने आधार र वातावरण बनाउने नीति, रणनीति र कार्यनीतिमा समय दिनुहोस् । दबंग सोच र शैलीलाई संयमित–नियन्त्रित ढंगले प्रयोगमा ल्याए, केही ढिलो भए पनि, तपाईंको अभियान गन्तव्यमा अवश्य पुग्नेछ । सकारात्मक मनसाय(इन्टेन्ट) लाई विषयवस्तु (कन्टेन्ट) सँग फ्युजन गर्ने रणनीति अवलम्बन गर्न आवश्यक छ ।

संगठनको शुद्धीकरण र सुदृढीकरण

आकारमा ठूलो, सम्भावनामा भरपर्दो तर व्यावसायिकतामा विकास र विस्तारित हुन नसकेको नेपाल प्रहरीको संगठनको ढाँचा, कार्यप्रकृति, संस्कृति र पद्धतिमा विचलन आएको देखिन्छ । राज्य दुरुपयोग र राजनीतिक हस्तक्षेपले थलिएको प्रहरी संगठनलाई नयाँ शिराबाट रूपान्तरण र वैज्ञानिकीकरण गर्ने कार्ययोजना तत्काल लागू गर्नुपर्छ । राजनीतिक र प्रशासनिक नेतृत्वको संरक्षणमा पर्न नसकेकाले संगठनको चेन–अफ–कमान्ड भत्किएको छ । संगठनमा तीन खालका जनशक्ति देखिन्छन् । पहिलोमा हुनेखाने वर्गका सम्भ्रान्त व्यक्तिहरूको हालीमुहाली छ । व्यावसायिकतामा कमजोर भएर पनि सुविधाको प्राथमिकतामा जहिल्यै अटाइरहने पदाधिकारीहरूलाई निरुत्साहित गर्न सके मात्र संगठन शुद्धीकरणको मुद्दा स्थापित हुन सक्छ । दोस्रो श्रेणीमा भए वा भ्याएमा खाने किसिमका पदाधिकारीहरू पर्ने गर्छन्, जो मौकाको अनुकूलता र प्रतिकूलताका आधारमा आफूलाई परिवर्तन गर्न सक्छन् । यस्तो जनशक्तिलाई उपादेयताका आधारमा उपयोग गर्ने नीति अवलम्बन गर्नुपर्छ । तेस्रो वर्गमा गरिखाने पदाधिकारी पर्छन् । व्यावसायिकता र क्षमताका भरमा टिकेका तर राज्यले क्षमताको उच्चतम प्रयोग नगरिदिएको यो जनशक्ति कुण्ठा र पीडामा परेको छ । यिनीहरूको उत्थान हुनासाथ संगठनभित्र व्यावसायिक वातावरण आफैं तयार हुनेछ ।

नवनियुक्त, ऊर्जावान् गृहमन्त्रीले उपर्युक्त वर्गहरूको पहिचान, संरक्षण र उपयोग कसरी गर्लान्, यसैका आधारमा संगठन शुद्धीकरण र सुदृढीकरणको मुद्दाले कोर्स करेक्सनको मार्ग समात्नेछ । पब्लिक अडिटिङ र क्षमता जाँचका उपयुक्त विधिको प्रयोगबाट मात्र गरिखानेले हुनेखाने वर्गलाई प्रतिस्थापन गर्न सक्छ । व्यावसायिक जीवनलाई भाग्यभरोसामा छाड्नुपर्ने, दलीय भागबन्डाको चेपुवामा परेर पवित्र सेवालाई शक्तिकेन्द्रसामु समर्पण गर्नुपर्ने बाध्यतामा रहेका सुरक्षाकर्मीहरूको मनोबललाई नयाँ ढंगले उठाउन गुण–दोष छुट्याउने वैज्ञानिक प्रणालीको विकास गर्नुपर्छ । २०१२ सालको प्रहरी ऐन खारेज गरी संघीय संरचना अन्तर्गत प्रहरी सेवाको पुनर्गठन र पुनःसंरचनामा कसरी लैजानेस सेवावधि–पदावधिलाई नयाँ ढंगले कसरी प्रयोग गर्ने, तीसवर्षे सेवावधिलाई खारेज गर्दा मातहतका ऊर्जावान् नेतृत्वहरूको व्यावसायिक जीवनको संरक्षणलाई कसरी प्राथमिकतामा राख्ने, गोल्डन ह्यान्डसेकको नीतिको प्रयोग कसरी गर्ने भन्नेजस्ता विषयलाई संगठनको शुद्धीकरण र सुदृढीकरणको माध्यम बनाउने रणनीति अख्तियार गर्नुपर्छ ।

दपेट्ने नीतिसँगै समेट्ने रणनीति

आम अनुभूतिमा प्रतिविम्बित हुनुपर्ने सुरक्षा सेवाको प्रयोगमा सबै सरोकारवाला र सेवाग्राहीलाई समेत समेट्ने नीति अवलम्बन गर्न आवश्यक छ । आपराधिक प्रवृत्तिलाई कठोरतापूर्वक दपेट्ने नीति लागू गर्दा अप्रेसनल तहमा सबैलाई समेट्ने रणनीति लागू गर्ने अन्य मुलुकका सफल अभ्यासहरूलाई अनुसरण गर्न सकिन्छ । सामुदायिक प्रहरी, पर्यटकीय प्रहरी, प्रहरी मेरो साथीजस्ता अभ्यासलाई स्थानीय आवश्यकता अनुसार अभियानका रूपमा सञ्चालन गर्नुपर्छ । विगतमा ‘सीधा कुरा जनतासँग’ को अभियानबाट आम सरोकारका विषयसँग प्रत्यक्ष रूपमा जोडिएका गृहमन्त्रीले त्यस्ता अभ्यासलाई उपयुक्त संयन्त्रमा कसरी रूपान्तरण गर्ने भन्ने विषयमा ध्यान दिनु आवश्यक छ ।

मूर्तिकारको रणनीति

एक जना प्रसिद्ध मूर्तिकारले आफ्नो कलाबारे बोल्ने क्रममा भनेका थिए— मूर्ति त संगमरमरमा पहिलेदेखि नै व्याप्त थियो, मैले केवल छिना र हथौडाले आकारमा मात्र परिवर्तन गरेको हुँ । वस्तु वा व्यक्तिमा अन्तर्निहित सम्भावना उजागर गर्ने रणनीतिलाई मूर्तिकारको रणनीति भन्ने गरिन्छ । प्रहरी संगठन संगमरमर हो, यसमा अन्तर्निहित सम्भावनालाई मूर्तिमा कसरी रूपान्तरण गर्ने अनि कुन यन्त्र र संयन्त्रको प्रयोग कसरी गर्ने भन्ने कुरा युवा गृहमन्त्रीको सोच, शैली र संयन्त्रमा भर पर्नेछ । विगतमा गृहमन्त्री आफैं डिफ्याक्टो आईजीपी बन्न खोज्ने र सिस्टमलाई सेटिङमा सञ्चालन गर्ने प्रवृत्तिका कारण प्रहरी संगठनले आफ्नो कार्यकुशलताको उच्चतम प्रयोग गर्न नसकेको हो भन्ने धरातलीय यथार्थबारे चिन्तन–मनन गरेर आ–आफ्नो कित्ता र भित्ताबीच सुस्पष्ट सीमारेखा कोर्ने नीति अवलम्बन गर्नुपर्छ ।

अन्त्यमा, रवि आकस्मिक उपजका प्रतिनिधि पात्र मात्र होइनन्, उनी कुशासन र बेथितिको नियमित आकस्मिकताबाट आजित भएका आम नागरिकका भरोसाका वैकल्पक पात्र पनि हुन् । राजनीतिको फोहोरी फाँटमा, बालुवामा हलुवाका रूपमा, वैकल्पिक शक्तिको उपादेयता स्थापित गर्ने यो एउटा महत्त्वपूर्ण अवसर पनि हो । यो ऐतिहासिक अवसर गुमाउने छुट गृहमन्त्री रविलाई छैन । (ईकान्तिपुर)

Translate »