नागरिकको स्वास्थ्यमा ध्यान देऊ !

चिसो बढेसँगै जनजीवन प्रभावित भएको छ । चिसोले सबैभन्दा बढी दैनिक ज्यालादारी गरिखाने वर्ग बढी प्रभावित भएको छ । हिउँदमा चिसो हुनु स्वभाविक भएपनि एक्कासी बढेको चिसोले जनजीवन प्रभावित बनिरहेको हो । पुस लागेसँगै बढ्दै गएको चिसो पुसको तेस्रो साता आइपुग्दा निकै बढेको छ । चिसोले हिमाल, पहाड, तराई सबै क्षेत्रको जनजीवनलाई प्रभाव पारेको छ । चिसो बढेसँगै गरिब र निमुखा नेपालीको जीवन कष्टकर बन्ने गर्दछ । हिमाली भागमा चिसो बढी हुने भएपनि चिसोबाट मुलुकको भित्रि मधेश क्षेत्र पनि उत्तिकै प्रभावित हुने गरेको छ । जाडो समयमा दिनभर सामान्य घाम लागेको भएपनि चिसो हावा चलेका कारण निकै जाडो महसुस गरिएको छ । चिसोले शहर भन्दा सुर्खेतका ग्रामीण क्षेत्रका नागरिको जनजीवन बढी प्रभावित बनेको छ । खासगरि पश्चिम सुर्खेतका नागरिकले चिसोकै कारणले धेरै समस्याहरु भोग्नु् परेका छन् ।

चिसोबाट उमेरगत हिसाबमा वृद्धवृद्धा र बालबालिका बढी प्रभावित हुने गर्दछन् । चिसोबाट बच्न यिनै उमेरसमूहका व्यक्तिहरुलाई सचेत बनाउनेतर्फ राज्यको ध्यान केन्द्रित हुनुपर्छ । तीनै तहको सरकार र त्यस मातहतका स्वास्थ्यसम्बन्धी निकाय र कार्यालयहरु यसबारे चनाखो बन्नुपर्छ ।  चिसोबाट बच्ने विभिन्न उपायहरु छन् । चिसोबाट आम नागरिक बच्न र बचाउन सकिन्छ । यसका लागि समुदायस्तरमा व्यापक सचेतना, सजगता र पूर्वतयारी हुनुपर्छ । चिसोबाट बढी प्रभावित बनेका र बन्न सक्ने व्यक्तिहरुलाई उचित भोजन, तातोका लागि न्यानो लुगा तथा दाउरा आदिको व्यवस्था विभिन्न तहको सरकारले गरिदिन सक्नुपर्छ । चिसोका कारण उत्पन्न हुनसक्ने प्रकोपको सामना गर्न पूर्वतयारी गर्नुपर्छ । चिसोबाट बच्न आम नागरिकले पनि सजग र सचेत भएर सोहीअनुकूलका व्यवहार गर्नुपर्दछ । यति गर्ने हो भने चिसाकै कारण ज्यान गुमाउनुपर्ने अवस्था नआउन सक्छ । चिसोबाट अति प्रभावित क्षेत्रका केही विपन्न परिवारलाई सरकारी तथा गैरसरकारी निकायले न्यानोका लागि कपडालगायत केही सामग्री उपलब्ध गराउने गरेको भएपनि त्यो पर्याप्त छैन ।

वीरेन्द्रनगरमा चिसो बढेसँगै विभिन्न खालका स्वास्थ्य समस्या निम्तिन थालेपछि जनस्वास्थ्य कार्यालयले शुक्रबार स्वास्थ्य शिविर सञ्चालन गरेको थियो । जाडो मौसममा आएको परिवर्तनसँगै ज्वरो, रुघा खोकी, निमोनिया जस्ता समस्याका बिरामीहरु बढ्न थालेपछि जनस्वास्थ्य सेवा कार्यालयले स्थानीय मंगलगढी प्राथमिक विद्यालय दीपनगरमा स्वास्थ्य शिविरको आयोजना गरेको हो । स्वास्थ्य शिविरमा आउने अधिकांशको स्वास्थ्यमा केही–न–केही समस्या देखा परेको स्वास्थ्यकर्मीले बताएका छन् । तर यो एउटा मात्र शिविर सञ्चालन गरेर राज्यले आफ्नो दायित्यबाट उम्किन पाउनु हुँदैन् । अब जिल्लाका सबै वडाहरुमा स्वास्थय शिविर सञ्चालन गरिनु पर्छ । दिपनगर शिविरमा सामान्य स्वास्थ्य जाँचदेखि नाक, कान, घाँटी, मुख, आँखा, सुगर, उच्च रक्तचाप, छला र पाठेघरको मुखमा हुने क्यान्सर जस्ता रोगहरुको निःशुल्क स्वास्थ्य चेकजाँच गरिएको थियो ।

चिसोका कारण अहिले ज्वरो, रुघा खोकी, निमोनियालगायतका समस्या भएका बिरामीहरु विभिन्न अस्पताल धाउन थालेको छन् । तीन तहका सरकार भएपनि  स्थानीय र प्रदेश सरकारको भूमिका प्रभावकारी नहुँदा केन्द्र सरकारकै मुख ताक्नु पर्ने बाध्यता छ । लोककल्याणकारी राज्यमा सरकारहरुले नागरिक समस्याप्रति बढी जिम्मेवार बन्नुको सट्टा जनप्रतिनिधिहरु गैरजिम्मेवार बन्दा समस्या उत्पन्न भएको छ । धनी र हुनेखानेका लागि चिसो मौसम रमाइलो हुने भएपनि गरिब र हुँदाखानेका निम्ति निकै कठिन हुने गरेको छ । आर्थिकरुपमा विपन्न र खाने, बस्ने राम्रो प्रबन्ध नभएका नेपालीसँग चिसोबाट बच्ने उपाय अपनाउन गाह्रो हुने गरेको छ । यसरी भोको पेटमा कठ्याङ्ग्रिएर चिसोसँग संघर्ष गर्नुपर्ने अवस्था कसैको बन्नु हुँदैन । चिसोले बढी प्रभावित बनाउने क्षेत्र र वर्गको पहिचान गरी उनीहरुलाई सचेतनासँगै सरकारले आवश्यक सहयोग गर्नुपर्छ । संघ, प्रदेश तथा स्थानीय तहका सरकारले आपसमा समन्वय तथा सहकार्य गरी विपन्न परिवारलाई चिसोबाट जोगाउन प्रभावकारी कार्य गर्नु पर्ने आवश्यकता देखिन्छ ।

Translate »