२०८३ कात्तिक ७ , शुक्रबार
Sky News Nepal
October 23, 2026

पानी नपर्दा हिउँदे बाली सुक्न थाले



माघ ३, जाजरकोट । हिउँदे बाली लगाएदेखि वर्षा नहुँदा जाजरकोटका किसान चिन्तित भएका छन् । हिउँदे वर्षा नभएपछि जाजरकोटमा यो वर्ष उत्पादनमा कमी आउने अनुमान गरिएको छ । लामो समयसम्म परेको खडेरीका कारण जिल्लामा गहुँ, जौ, केराउ, मुसुरो लगायत बालीको उत्पादनमा कमी हुने देखिएको छ । खडेरीका कारण अधिकांश क्षेत्रमा लगाइएको हिउँदे बाली सुक्ने थालेपछि वर्षभरि परिवार पाल्ने चिन्ताले सताउन थालेको बारेकोट गाउँपालिका–१ का रमेश घर्तीले बताए ।

‘आकाशे झरी नहुँदा बीउ छरेका खेतमा बाली सप्रेको छैन,’ घर्तीले भने, ‘कात्तिकमा हिउँदे बाली छरेको थिएँ । अहिलेसम्म बाली फस्टाएको छैन ।’ यहाँका किसानहरू हिउँदे खेतीमा गहुँ, जौ, केराउ मुसुरो लगायतका बाली लगाउने गर्छन् ।

आकाशे पानीको भरमा खेती गरिने जिल्लाको अधिकांश क्षेत्रमा पानी नपरेपछि सबैजसो बाली सुक्न थालेका छन् । जिल्लामा १० हजार ४४० हेक्टर जमिनमा गहुँ खेती गरिँदै आएकोमा ७ हजार ९ सय २० हेक्टर जमिनमा मात्रै मात्रै सिँचाइको सुविधा छ । सिँचाइको सुविधा नभएका ठाउँमा कतिपय किसानले गहुँ बाली समेत छर्न पाएनन् भने छरेका ठाउँमा पनि खडेरीका कारण बालीनाली सुक्न थालेको कृषि विकास कार्यालय जाजरकोटका सूचना अधिकारी टोपेन्द्र विश्वकर्माले जानकारी दिए।

हिउँदे बालीको बीउ छरेको १५र२० दिनभित्रमा पानी परे सुरुदेखि बाली राम्रो देखिन्छ । पुससम्म पानी नपरे हिउँदे खेती बिग्रने सम्भावना हुन्छ । माघको पहिलो हप्ता शुरु भइसक्दा सम्म पनि पानी परेको छैन । आकाशे पानीको भरमा खेती गर्नुपर्ने अवस्था रहेकोले उब्जनी खासै नहुने कुशे गाउँपालिका–२ का रामबहादुर सिंहले बताए।

जिल्ला कृषि विकास कार्यालय जाजरकोटका अनुसार जिल्लामा गत वर्ष १६ हजार ७ सय ४ मेट्रिक टन गहुँ उत्पादन भएकामा यो वर्ष भने समयमै पानी नपरेपछि गहुँ उत्पादनमा कमी आउने अनुमान छ । (रेडियो नेपाल)

प्रकाशित मिति : २०७९ माघ ३ गते मंगलबार
Translate »