सुर्खेतमा बढ्दैछन् ‘चेक बाउन्स’का मुद्धा

एउटै कसुरमा दुई वटा कानून

आकाश तारा बयक /माघ २७, सुर्खेत । चेकबाट कारोबार गर्नेको संख्या बढेसँगै चेकसम्बन्धी बेइमानी पनि बढ्दै गईरहेको छ । ऋणीहरुले खातामा पैसा नभएको चेक दिएर ऋणदातालाई झुलाउने प्रवृति बढेसँगै चेकसम्बन्धी बेइमानी बढ्दै गईरहेको हो । हिजोआज शहरमा मात्र होइन, दूरदराजका गाउँसम्म बैकिङ्ग कारोवार क्षेत्रको विस्तार भएसँगै चेक बाउन्सका मुद्दा समेत बढ्दो क्रममा रहेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार सुर्खेतमा चालु आर्थिक वर्षको साउन १९ गतेदेखि दर्ता शुरु भएको बैङ्किङ कसुर तथा अपराध अन्तर्गत पुस मसान्तसम्म ९५ वटा निवेदन परेका छन् । निवेदन परेका मध्ये ४४ वटा मुद्दा दर्ता भएका छन् ।

जिप्रकाका मुद्धा शाखाका अनुसन्धान अधिकृत पर्शुराम चौधरीका अनुसार दर्ता भएका मुद्दामध्ये ७ वटा मिलापत्र, ४ वटा धरौटीमा छोडिएको र १ जना कारागार चलान भएका छन् । उनले चेक बाउन्सका दैनिक तीन वटाको हाराहारीमा उजुरी पर्ने गरेको जनाए । ‘चेक अनादर गर्ने क्रम बढ्दो क्रममा रहेको छ,’ उनले भने, ‘अब मुद्धाको चापलाई हेर्दा छुट्टै ‘बैङ्किङ कसुर तथा अपराध अनुसन्धान’ शाखा नै खोल्नु पर्ला जस्तो देखिन्छ ।’

उनले उजुरी दिनेमा जग्गा व्यवसायी, उद्योगी व्यापारी र निर्माण व्यवसायी बढी रहेको बताए । उनका अनुसार पैसा कमाउन सजिलो बाटो रोज्दा बैङ्किङ कसुर तथा अपराधको समस्या दिनप्रतिदिन बढ्दो छ । बैङ्किङ् कसुरमा मुद्दा लागेका व्यक्तिलाई बिगो बराबरको जरीवाना र बिगो अनुसारको एक महिनादेखि १२ वर्षसम्म कैद हुने कानूनी व्यवस्था रहेको छ । पछिल्लो समय चेकलाई केही होइन भन्नेको संख्या बढ्दो क्रममा रहेकाले पनि समाजमा बैङ्किङ कसुर बढ्दै गएको चौधरीले बताए । यता जिल्ला अदालत सुर्खेतमा पछिल्लो ६ महिनामा चेक अनादर मुद्धाको संख्या ९९ सय पुगेको छ ।

ती मध्ये १२ वटा मुद्धाको फैफला भईसकेको र ८७ वटाको अनुसन्धान प्रक्रिया चलिरहेको जिल्ला अदालतका श्रेस्तेदार ठाकुरप्रसाद पौडेलले बताए । उनले गत आर्थिक वर्ष २०७८/०७९ मा २०३ वटा मुद्धा दर्ता भएकोमा १०९ वटाको फैसला भईसकेको र ९४ वटा बाँकी रहेको जानकारी दिए । ‘मानवीय आवश्यकता परिपूर्ति गर्न वा व्यावहारिक खाँचो टार्नका लागि मानिसले पैसाको कारोबार गर्छ । पैसाको कारोबारमा ब्याज पनि जोडिएर आउने हुँदा आफ्नो खाँचो टार्ने बेलामा जस्तोसुकै चर्को ब्याजमा पनि मानिसहरु पैसा लिन तयार हुन्छन्,’ उनले भने, ‘तर रकम फिर्ता गर्ने समयमा नगद पैसा बुझाउन नसक्दा अलमल्याउनका लागि चेक काटिदिन्छन् र खातामा पर्याप्त रकम नहुँदा चेक अनादर (बाउन्स) भएपछि मानिस कानूनको फन्दामा पर्छ ।’

उनले चेक अनादर (बाउन्स) सम्बन्धी कानूनी रुपमा एउटा देवानी विषयसँग सम्बन्धित बाटो र अर्को फौजदारी मुद्दाको बाटो समातेर अदालतमा न्यायका लागि जान सकिने बताए ।  ‘खातामा रकम नभएको वा भएपनि पर्याप्त रकम नभएको अवस्थामा चेक काटी कसैलाई दिएको चेक बैंकले भुक्तानी नगरेमा यसलाई अनादर वा चेक बाउन्स भनिन्छ,’ उनले भने, ‘चेक बाउन्स नियतवश वा भूलवश जेबाट भएपनि कानूनका दृष्टिमा कसुरदार हुने हुँदा चेकसम्बन्धी अपराध वा बेइमानी नियन्त्रण तथा व्यवस्थित गर्न कानूनी व्यवस्था रहेको छ ।’

उनका अनुसार चेक अनादर विनिमय अधिकार ऐन, २०३४ अन्तर्गत देवानीमा मुद्दा चल्छ भने बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गत फौजदारी मुद्धा चलाउन सकिन्छ । बैंकिङ कसुर तथा सजाय ऐनअन्तर्गत कसुर गरेको थाहा भएको १ वर्षको मितिले जाहेरी भित्र जाहेरी दिन सक्छ, यसमा बिगो खोलेमा बिगो भराई बिगोबमोजिम जरीवाना र ३ महीनासम्म कैदको दाबी गर्न सक्छ भने विनिमय अधिकार ऐन, २०३४ मुद्दा गर्ने हदम्याद ५ वर्षको रहेको पाइन्छ र यसमा चेकमा उल्लिखित रकम तथा ब्याजसमेतको दाबी गर्न सकिन्छ ।

के हो चेक बाउन्स ?
भुक्तानीका निम्ति दिएको चेक बैंकबाट भुक्तान हुन नसकी फिर्ता भयो भने त्यो ‘चेक बाउन्स’ हुनु हो । खातावालाले कसैलाई चेकमार्फत भुक्तानी दिँदा खातावालाको खातामा पर्याप्त रकम नभएमा वा चेकमा हस्ताक्षर नमिलेमा चेक बाउन्स हुने गर्छ । एउटै चेक धेरै पटक बाउन्स भएको खण्डमा त्यसलाई बैंकिङ कसुरका रुपमा लिने गरिन्छ । एउटै चेक तीन पटकसम्म बाउन्स भएका व्यक्तिलाई भविष्यमा कुनै पनि बैंकमा खाता खोल्न तथा ऋण लिन नपाउनेसम्मको सजाय हुन सक्ने कानूनी व्यवस्था पनि छ । साथै, चेक बाउन्स भएको खातावालालाई जेलको सजाय पनि हुन्छ ।

चेक बाउन्स भए के गर्ने ?
बैंक तथा वित्तीय संस्थाले खातावालाको खातामा अपर्याप्त रकम भएका कारण चेक बाउन्स गर्नुपरेमा सम्बन्धित खातावाला व्यक्ति वा संस्थालाई फोन गरी जानकारी गराउँछन् । यसरी खातामा रकम अपर्याप्त भएका कारणले फिर्ता भएको चेक पुनः बैंकमा भुक्तानीका लागि आयो र त्यतिखेर पनि अपर्याप्त रकमका कारण चेक फिर्ता गर्नुपर्यो भने कर्जा सूचना केन्द्रमा कार्वाहीका लागि बैंक तथा वित्तीय संस्थाले उजुरी दिन्छन् ।

हरेक पटक चेक बाउन्स हुँदा बाउन्स रिपोर्ट भने माग्नुपर्छ । चेक बाउन्स हुँदा बैंकले बाउन्स रिपोर्टसहित चेक फिर्ता गर्दछन् । यसरी चेक बाउन्स भएपछि सम्बन्धित खातावालालाई बैंक आफैले जानकारी दिने गर्दछ । तीन पटकसम्म पनि चेक बाउन्स भएमा भुक्तानी पाउनुपर्ने व्यक्ति वा संस्थाले नै सो कुरा उल्लेख गरी प्रहरीमा उजुरी गर्नुपर्छ । कालोसूचीमा रहेको व्यक्ति, फर्म, कम्पनी वा संगठित संस्थाले त्यस्तो सूचीबाट फुकुवा नभएसम्म आफ्नो खातामा रकम जम्मा गर्नेबाहेक अन्य कुनै पनि किसिमको बैंकिङ कारोबार गर्न पाउँदैनन् ।

Translate »