जम्मु-कश्मीरमा भेटियो लिथियम भण्डार

५.९ मिलियन टन रहेको दाबी

भारत । दुर्लभ तर भविष्यको ऊर्जासंकट टार्ने तथा ऊर्जा सञ्चितिको ठूलो विकल्प मानिएको खनिज लिथियमको भण्डार भारतमा पत्ता लागेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार बिहीवार भारतको जम्मु-कश्मीरमा ५.९ मिलियन टन लिथियमको भण्डार रहेको पत्ता लगाएको हो ।

भारतीय भूगर्भ सर्वेक्षणले जम्मु-कश्मीरको रियासी जिल्लाको सलाल-हैमाना क्षेत्रमा लिथियमको भण्डार फेला पारेको भारतीय खानी मन्त्रालयले पुष्टि गरेको छ । लिथियम रिचार्जेबल ब्याट्रीहरूको एक प्रमुख कम्पोनेन्ट हो, जसले स्मार्टफोन र ल्यापटपका साथै इलेक्ट्रिक कारहरू जस्ता धेरै ग्याजेटहरूलाई ऊर्जा दिने काम गर्दछ ।

यो खोजले ग्लोबल वार्मिङसँग जुध्न कार्बन उत्सर्जन घटाउने प्रयासको रूपमा सन् २०३० सम्ममा निजी इलेक्ट्रिक कारहरूको संख्या ३० प्रतिशत बढाउने भारतको दबाबलाई सहयोग गर्न सक्ने विज्ञहरू बताउँछन् ।

सन् २०२१ मा कर्नाटकको दक्षिणी राज्यमा थोरै मात्रामा लिथियम रहेको पत्ता लागेको थियो । यसअघि भारतीय सरकारले नयाँ प्रविधिलाई बढावा दिन आवश्यक पर्ने दुर्लभ धातुहरूको आपूर्तिमा सुधार गर्न खोजिरहेको र भारत तथा बाहिरका मुलुकमा स्रोतहरू खोजिरहेको बताइएको थियो ।

पछिल्लो समय विश्वभरि लिथियमलगायत दुर्लभ धातुहरूको माग बढेको छ । विश्वका देशहरूले जलवायु परिवर्तनलाई कम गर्न हरियालीका समाधानहरू अपनाउन खोजिरहेका छन् ।

विश्व बैंकका अनुसार सन् २०५० सम्ममा विश्वव्यापी जलवायु लक्ष्यहरू पूरा गर्न महत्त्वपूर्ण खनिजहरूको उत्खनन् ५०० प्रतिशतले वृद्धि गर्नुपर्ने बताएको छ । अष्ट्रेलिया, चिली र अर्जेन्टिनामा ठूलो मात्रामा पाइने चट्टानहरू र भूमिगत ब्राइन भण्डारहरूबाट लिथियम निकालिन्छ ।

यसअघि भारतले उक्त लिथियम अस्ट्रेलिया र अर्जेन्टिनाबाट आयात गर्दै आएको थियो । भारतको लागि यो भण्डार पत्ता लाग्नु ठूलो उपलब्धि हो । हालसम्म कोइला, पेट्रोलियम पदार्थ लगायतको अत्याधिक प्रयोगले ऊर्जाउत्सर्जनका कारण वातावरणीय सन्तुलन बिग्रिएको भन्दै विश्व समुदाय चिन्तित बनेको बेला पछिल्लो समय वैकल्पिक ऊर्जाका स्रोतको खोजी तीव्र भइरहेको छ ।

वैकल्पिक ऊर्जाका रूपमा युरेनियम, सौर्य ऊर्जा लगायतको प्रयोग भएपनि लिथियम प्रयोगले यस्ता ऊर्जा भण्डारण गर्न मद्दत पुग्नेछ । यस्तै अति उत्सर्जन गर्ने वस्तुको खपतसमेत कम हुने अपेक्षा गरिएको छ ।  आर्थिक अभियान

Translate »