रोकिएन आयातित तरकारी

कर्णालीले कृषि क्षेत्रबाट ठूलो फड्कको मार्ने सम्भावना हुँदाहुँदैपनि पूर्वाधार विकास अभावले त्यो अधुरो रहेको छ । प्रदेशमा पूर्वाधार विकास अभावकै कारणले निजी क्षेत्रले समेत लगानीको जोखिम लिन नसकेको हो । कर्णाली प्रदेश सरकार गठन भएको पहिलो वर्ष नै अर्गानिक प्रदेश बनाउने मुख्य नीति अगाडि सारिए पनि भारतीय तरकारी तथा फलफूल भित्रिने क्रम रोकिएको छैन । प्रदेश मन्त्रिपरिषद् पहिलो बैठकबाट नै सरकारले अर्गानिक प्रदेश बनाउने घोषणा गरे पनि आयातित तरकारी तथा फलफूल रोक्न भने सरकार चुकेको छ । भारतीय सीमा नाकासँग नजोडिएको प्रदेश भए पनि कर्णालीमा भारतीय तरकारी तथा फलफूल नै सबैभन्दा बढी भित्रिने गरेको पाइएको छ । चालु आर्थिक वर्षको माघ मसान्तसम्म कर्णालीमा १४ हजार ८ सय ५८ मेट्रिक टन तरकारीको कारोबार भएको छ । कारोबारको ३२ प्रतिशत तरकारी मात्र कर्णालीका विभिन्न जिल्लामा उत्पादन भएका हुन् । ६८ प्रतिशत तरकारी आयात भएको छ । कुल खपत तरकारीको परिमाणमा ५१ प्रतिशत तरकारी छिमेकी मुलुक भारतबाट मात्रै आयात भएको कृषि बजार व्यवस्थापन समितिको भनाइ छ ।

कर्णालीमा मुख्य गरी छिमेकी मुलुक भारतबाट कृषि उपज आयात आईरहेको छ । त्यसैगरी बाँके, महेन्द्रनगर, चितवन, बर्दियालगायतका स्थानबाट कर्णालीमा कृषि उत्पादन आयात भएका छन् । प्रदेशमा बाहिरबाट आयात गरी खरिद बिक्री गर्ने कृषि उत्पादनको मुख्य बजार नै वीरेन्द्रनगरस्थित सुर्खेतको कृषि बजार हो । कर्णालीमा उत्पादन अघिल्ला वर्षहरुको तुलनामा बढेपनि आयात भने घटेको छैन । अघिल्ला दुई आर्थिक वर्षको तुलनामा ०७९÷८० मा कर्णालीमा कृषि उपज उत्पादन बढ्न थालेको हो । गत आर्थिक वर्षको तुलनामा कर्णालीमा दुई प्रतिशतले कृषि उत्पादन बढेको छ । चालु आर्थिक वर्ष ०७९÷८० मा कर्णालीमा कुल ९७ हजार ९ सय ३२ क्विन्टल तरकारी जन्य कृषि उत्पादन भएको छ । विगत आर्थिक वर्षको तुलनामा यो संख्या दुई प्रतिशतले बढी हो । प्रदेशका लागि आवश्यक तरकारी, फलफूल र मसलाजन्य उपजको करिब एक तिहाई भाग मात्र कर्णाली आफैले उत्पादन गर्ने गरेको छ । चालु आर्थिक वर्षको ७ महिनामा सुर्खेतमा रहेको कृषि बजारमा भएको कृषि उपजको कारोबार तथ्यांक हेर्दा खपतका आधारमा कर्णालीमा बाहिरबाट अत्याधिक आयात भएको देखिन्छ । भारतबाट ४८ प्रतिशत र चीनबाट १२ प्रतिशत फलफूल आयात भएका छन् ।

कर्णालीको बजारमा चीनबाट स्याउ र लसुन मात्र आयात हुने गर्छ । कर्णाली आयात हुने तरकारीमा सबैभन्दा बढी प्याज नै रहेको छ । यसका साथै टमाटर, आलु, तितेकरेला, केरा, स्याउ, सुन्तला, काँक्रा, खुर्सानी र लसुन कर्णालीमा सबैभन्दा धेरै आयात गरिने कृषि उत्पादनहरू हुन् । यसरी बाहिरी देश तथा प्रदेशबाट आयातित कृषि वस्तुको बद्दो खपतले एकातर्फ महँगी बढाएको छ भने अर्कोतर्फ परनिर्भरता बढिरहेको छ । स्थानीय तथा प्रदेश सरकारहरुले कृषिको उन्नयनका लागि स्पष्ट नीति तथा कार्यक्रमसँगै निमुखा किसानका समस्या तथा मागहरु सम्बोधन नहुनु नै मुख्य समस्या हो । राज्य कोषबाट कृषकका नाममा वर्षेनी लाखौं रकम लिने वास्तविक किसान नभई ती सबै विचौलिया हुन् । यहीं कुरा सरकारले बुझ्न नसक्दा वास्तविक किसान तथा कृषिको विकास हुन नसकेको हो । अहिले आयातित तरकारीका कारणले विभिन्न प्रकारका विरामीको साम्ना गर्नु परिरहेको छ भने अर्कोतर्फ करोडौं रकम विदेश गईरहेको छ । स्थानीय र प्रदेश सरकारहरु कृषि कार्यक्रमको बजेट आफ्ना आसेपासे र कार्यकर्ताहरुलाई मात्र वितरण गरिरहेका छन भन्ने आरोप केही हदसम्म सत्य जस्तो देखिन्छ ।  फेरीपनि कृषिको विकासका लागि स्पष्ट कृषि नीति तथा कार्यक्रम बनाएर आयातित तरकारी तथा फलफुल विस्तापित गर्दै आन्तरिक उत्पादन बृद्धिसँगै खपतमा जोड दिन सक्नु पर्छ ।

Translate »