विकास बैंक र फाइनान्सले ब्याज घटाउने

फागुन ३०, काठमाडौं । वाणिज्य बैंकपछि विकास बैंक र फाइनान्स कम्पनीहरूले पनि चैतदेखि निक्षेपको ब्याजदर घटाउने भएका छन् । विकास बैंकहरूको छाता संगठन डेभलपमेन्ट बैंकर्स एशोसिएशनको सोमवार बसेको बैठकले चैत १ गतेदेखि निक्षेपको ब्याजदर शून्य दशमलव २५ प्रतिशत विन्दुसम्मले घटाउने निर्णय गरेको हो ।

एशोसिएशनले चैतदेखि व्यक्तिगत मुद्दतीमा १ वर्ष वा त्यसभन्दा माथि अवधिमा शून्य दशमलव १५ प्रतिशत र १ वर्षभन्दा कम अवधिमा शून्य दशमलव २५ प्रतिशत विन्दुले ब्याजदर घटाउने निर्णय गरेको छ । हाल विकास बैंकहरूले मुद्दती निक्षेपमा अधिकतम ११ दशमलव ७५ प्रतिशतसम्म ब्याज दिइरहेकोमा अब १ वर्षभन्दा माथिको मुद्दती निक्षेपमा ११ दशमलव ६० प्रतिशत र १ वर्षभन्दा कम अवधिमा ११ दशमलव ५० प्रतिशत ब्याजदर कायम हुनेछ । यस्तै बचत खाताको ब्याजदर पनि शून्य दशमलव १५ प्रतिशत विन्दुले घटाएर ६ दशमलव ६० प्रतिशतदेखि ८ दशमलव ६० प्रतिशतसम्म कायम गर्ने भएका छन् ।

यसैगरी फाइनान्स कम्पनीहरूको छाता संगठन नेपाल वित्त कम्पनी संघले पनि चैतदेखि १ वर्षको मुद्दती निक्षेपको ब्याजदर शून्य दशमलव २० प्रतिशत विन्दुले घटाएर १२ प्रतिशत कायम गर्ने निर्णय गरेको छ ।

वाणिज्य बैंकहरूले यसअघि नै चैतदेखि साधारण बचतको ब्याजदर शून्य दशमलव ४२ प्रतिशत र कर्जाको प्रिमियमदर १ प्रतिशत विन्दुले घटाउने निर्णय गरिसकेका छन् । मुद्दती निक्षेपको ब्याजदर भने चैतमा यथावत् राख्ने नेपाल बैंकर्स संघले निर्णय गरेको छ ।

राष्ट्र बैंकको निर्देशनअनुसार आगामी चैतबाट स्प्रेडदर घटाउनुपर्ने भएकाले पनि बैंकहरूले निक्षेपको ब्याजदर घटाएका हुन् । यसैगरी ब्याजदरविरुद्ध चर्को आलोचना हुन थालेपछि पनि घटाउन बैंकहरूलाई दबाब छ ।

ब्याजदरको चर्को आलोचना भएपछि राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामार्फत बैंकहरूको स्प्रेडदर घटाउने घोषणा गरेको थियो । त्यसअनुसार राष्ट्र बैंकले मङ्सिर अन्तिममा निर्देशन जारी गर्दै वाणिज्य बैंकहरूले २०७९ चैतबाट स्प्रेडदर ४ दशमलव २ प्रतिशतमा र विकास बैंक तथा फाइनान्स कम्पनीहरूले ४ दशमलव ८ प्रतिशतमा झार्नुपर्ने व्यवस्था गरेको छ । यस्तै २०८० असारबाट वाणिज्य बैंकहरूले ४ प्रतिशत र विकास बैंक तथा फाइनान्सले ४ दशमलव ६ प्रतिशत स्प्रेडदर कायम गर्नुपर्ने व्यवस्था छ ।

Translate »