विकासका लागि श्रम र श्रमिकको सम्मान, श्रमिकको उत्पादकत्व बढाउनु चुनौतीपूर्ण

अर्थतन्त्रमा वस्तु तथा सेवाको उत्पादन विकासको पूर्वशर्त हो । श्रम, भूमि, पूँजी र उद्यमलाई उत्पादनका साधन मानिएको छ । यी साधनहरूको विवेकपूर्ण संयोजनबाट मात्र वस्तु तथा सेवाको उत्पादन सम्भव छ ।

उत्पादन बढ्दा आर्थिक क्रियाकलापको विस्तार हुन्छ । यसबाट आर्थिक वृद्धि, रोजगारी सृजना र व्यक्तिगत तथा राष्ट्रिय आय बढ्छ । आय बढेपछि शिक्षा, स्वास्थ्य, खाद्यान्न र अन्य जीवनोपयोगी वस्तु र सेवामा पहुँच बढ्छ । अर्थतन्त्र सबल र चलायमान बन्छ । यसरी नागरिकको जीवनयापनमा सुधार आउँछ । यही नै विकास हो, अहिलेका सचेत नागरिकको चाहना हो । विकसित दुनियाँले यसरी नै विकासका खुट्किला चढेको हो ।

विकासका लागि आवश्यक पर्ने उत्पादनका साधनहरू श्रम, भूमि, पूँजी र उद्यममध्ये श्रम जीवन्त साधन हो । यसको प्रभावकारी परिचालनले मात्र अन्य साधनको उपयोग गर्न सकिन्छ, विकासको नतिजा प्राप्त गर्न सकिन्छ । शीप र क्षमतासहित श्रम गर्ने जनशक्ति तयार गर्न सकियो भने श्रमको उत्पादकत्व बढाउन सकिन्छ । यस्ता श्रमिकले उत्पादनका अन्य साधनलाई पनि गतिशीलता दिन्छन् र राष्ट्रिय उत्पादन बढाउन योगदान गर्छन् । राष्ट्रिय आयमा श्रमको अंश बढ्छ ।

यसबाट अर्थतन्त्रको संरचनात्मक परिवर्तनमा योगदान पुग्छ । सिंगापुरलगायत देशले यही मार्गबाट देश विकासको बाटो कोरेका हुन् । दक्ष श्रमिकले देशको प्राकृतिक साधनस्रोतको अभावलाई पनि खट्किन दिँदैनन् । यसले नयाँ साधनस्रोत जुटाउन सक्छ । भारतलगायत देशले सफ्टवेयरको क्षेत्रमा गरेको प्रगति यसको पछिल्लो गतिलो उदाहरण हो । यसबाट उल्लेख्य लाभ प्राप्त गरेको भारतले अहिले पनि उच्च आर्थिक वृद्धि प्राप्त गर्दै जीवनयापनमा सुधार ल्याउन श्रमिकको शीप विकास र डिजिटाइजेशनलाई उच्च प्राथमिकता प्रदान गरेको छ ।

विकासका लागि श्रमिकको शीप विकास र सम्मानको आवश्यकतालाई धनी देशहरूले उहिल्यै बुझेका थिए । यसैको फलस्वरूप क्रमशः श्रमिकको हक अधिकार र सेवासुविधामा विस्तार गरिँदै लगिएको थियो । तर, यसको पछाडि शोषणमा परेका श्रमिकहरूले एकताबद्ध भई अधिकारका लागि गरेको संघर्षको विशिष्ट योगदान छ । यही संघर्षको परिणाम हो अन्तराष्ट्रिय श्रमिक दिवस ।

आज १३४औं श्रमिक दिवस मनाइँदै छ । नेपाल सरकारले पनि देशको विकासमा श्रमिकको योगदानलाई सम्मान गरेर आज देशव्यापी रूपमा सार्वजनिक बिदा दिएको छ । श्रम दिवस श्रमिकले उत्पादन प्रक्रियामा गरेको योगदानको कदर हो, सम्मान हो । यसका साथै नेपाल सरकारले रोजगारदाता र श्रमिकहरूसँगको समन्वयमा विगत २ दशकमा गरेका सुधारहरूले मर्यादित काम तथा श्रम र श्रमिकको सम्मान गर्ने वातावरण तयार हुँदै गएको छ ।

श्रम व्यवस्थापनका लागि नीतिगत तहमा गरिएका सुधारहरू उल्लेख्य रहेका छन् । संविधानमा गरिएको मौलिक हकको व्यवस्था, खासगरी श्रम र रोजगारीको हकको व्यवस्था, न्यूनतम ज्याला, वैदेशिक रोजगारी लगायत श्रमिकका अधिकारसम्बन्धी कानूनी व्यवस्थाले गर्दा रोजगारदाता र श्रमिकहरूको बीचको सम्बन्धमा सुधार भएको छ । व्यावसायिक स्वास्थ्य तथा सुरक्षा नीति जारी गरी कार्यस्थललाई पनि कामदार–मैत्री बनाउने प्रयास गरिएको छ ।

श्रमिकको हकअधिकारका लागि उनीहरूलाई राजनीतिक दलका सदस्यसमेत बनाएको अवस्था छ । यसको सकारात्मक र नकारात्मक पक्षको गहन विश्लेषण हुनु जरुरी छ । श्रमिकलाई शीप र क्षमताले युक्त बनाउने हो, उनीहरूलाई रोजगारी र वृत्ति विकासका अवसर प्रदान गर्ने हो । यसबाट नै उनीहरूको उत्पादकत्वमा वृद्धि हुने हो । श्रमको उत्पादकत्व बढाउने राष्ट्रिय परिलक्ष्य नै तय गरिएको छ ।

राजनीतिले नेपाली श्रमिकको उत्पादकत्व बढाउन के कस्तो योगदान गरेको छ, यसमा गम्भीर ध्यान दिनु जरुरी छ । श्रमिकको उत्पादकत्व बढाउन उनीहरूको आय–आर्जन बढाउन सकियो भने मात्र श्रम र श्रमिकको वास्तविक सम्मान हुने तथ्यमा सबै स्पष्ट हुनु जरुरी छ । यसका लागि श्रमिक पनि उत्साहित र उत्तरदायी हुनुपर्छ । जापानी कामदारहरूले आपूmले काम गर्ने कम्पनीलाई असाध्यै माया गर्ने र उत्तरदायी रहने गर्नाले नै कम्पनीहरू प्रतिस्पर्धी हुन सकेका हुन् ।

रोजगारदाताले पनि श्रमिकलाई उद्यमको अभिन्न अंगका रूपमा स्वीकार गर्नु जरुरी छ । असल श्रम अभ्यास व्यवसायको मूल धर्म हो । श्रमको शोषण अपराध हो । यसको कानूनी उपचारको व्यवस्था गरिएको छ । पूर्वीय संस्कृतिमा श्रमिक–कामदारको शोषण गर्दा शनिदेव क्रुद्ध हुने र रोजगारदाताको खती हुने पनि विश्वास छ । त्यसैले कानून र संस्कृतिको पालन गरी श्रम र श्रमिकको सम्मान गरी व्यवसाय सञ्चालन गर्दा रोजगारदातालाई पनि फाइदा हुने देखिन्छ ।

नेपालमा श्रम र श्रमिकको सम्मानका लागि देशभित्रै रोजगारीका अवसर, शीप विकास, उच्च ज्याला, सामाजिक सुरक्षा र श्रमिकको हकअधिकारको सुनिश्चितताका क्षेत्रमा अझै धेरै काम गर्न बाँकी छ । देशभित्र पर्याप्त रोजगारीका अवसर सृजना हुन नसक्दा नेपाली युवा मूलतः असुरक्षित र अमर्यादित वैदेशिक रोजगारीको चक्रव्यूहमा परेका छन् । उनीहरूलाई गुणस्तरीय शिक्षा, स्वास्थ्य, प्रविधि र शीप प्रदान गर्न सकिएको छैन जसले गर्दा श्रमको उत्पादकत्व (प्रतिकामदार उत्पादन) तुलनात्मक रूपले अत्यन्तै कम रहेको छ । न्यून उत्पादकत्व भएकै कारणले ज्याला/तलब कम भएको हो । सम्भावना रहेर पनि हाम्रा कामदारको क्षमता प्रस्फुटन गर्न नसकिएको अवस्था छ ।

विदेशी भूमिमा जोखिमपूर्ण कामले गर्दा कति नेपालीले ज्यानसमेत गुमाएका छन् । कतिको परिवार विखण्डन भई सामाजिक लागत बढेको छ । यता जग्गा बाँझो रहने जस्ता उत्पादनशील साधनको अनुपयोग बढेकाले समेत वैदेशिक रोजगारीको सामाजिक, आर्थिक र मानवीय जोखिम रहेको स्पष्ट हुन्छ ।

शीपयुक्त जनशक्तिमा परनिर्भरता बढेको छ । शीप विकाससम्बन्धी संस्थाहरू कमजोर छन् जबकि देशभित्र र बाहिरको श्रम बजारमा काम पाउनयोग्य जनशक्ति विकासका लागि बलियो शीप विकास केन्द्रहरूको आवश्यकता छ । प्राविधिक शिक्षामा भर्ना हुने दर नै घट्नुले श्रमको उत्पादकत्व नबढ्ने निश्चित छ । ७५ लाख श्रमिक रहेको देशमा करीब ५ लाख श्रमिक मात्र योगदानमूलक सामाजिक सुरक्षाको दायराभित्र आउनु पनि श्रम र श्रमिकको सम्मानको दिशामा पछाडि रहेको अवस्था हो ।

देशमा उद्योगधन्दा गर्ने वातावरणको कमी रहनु पनि श्रम र श्रमिकको सम्मानको दिशामा गम्भीर तगारो हो । उद्योगधन्दा नहुँदा देशमा रोजगारी सृजना नहुने र यसले गर्दा बेरोजगारी वा वैदेशिक रोजगारीको चक्रव्यूहका लागि आधार बन्ने भई श्रमिकको सम्मान नहुने स्पष्ट छ । यसबाट व्यापारघाटा बढ्दै वैदेशिक मुद्रा सञ्चिति पनि घटेको अवस्था हामीले सामना गरेकै रोग हो । उद्योगधन्दा नगर्ने मासिएर जान्छ भनेर यत्तिकै भनिएको होइन । अर्थतन्त्र र रोजगारीको ठूलो अंश औपचारिक क्षेत्रमा ल्याउन नसक्दा पनि असल श्रम अभ्यास ओझेलमा परेको अवस्था छ । श्रम निरीक्षण र नियमनलाई पनि थप प्रभावकारी बनाउनु जरुरी छ ।

अन्त्यमा, श्रम र श्रमिकको सम्मानविना देशले विकासको लय समात्न सक्दैन, उत्पादनका अन्त्य साधनले जीवन र गति पाउन सक्दैनन् । यसका लागि श्रम व्यवस्थापन सुधारलाई निरन्तरता दिनु जरुरी छ । मुलुकभित्र आर्थिक क्रियाकलापमा विस्तार ल्याउनु पर्नेछ र सबैका लागि मर्यादित कामको अवसर सुनिश्चित गर्नु पर्नेछ । श्रमको उत्पादकत्व बढाउन शिक्षा र स्वास्थ्यलाई गुणस्तरीय बनाउँदै शीप विकास महाअभियान चलाउनु पर्नेछ ।

वैदेशिक रोजगारीलाई थप व्यवस्थित गर्नु पर्नेछ । यसका साथै रोजगारदातामा श्रमिकप्रतिको संवेदनशीलता र श्रमिकमा पनि रोजगारदाताप्रतिको संवेदनशीलताले असल श्रम सम्बन्धको आधारलाई बलियो बनाउनेछ । असल श्रम सम्बन्धबाट देश विकासको आधार तयार हुन्छ । आज मनाउँदै गरेको १३४औं श्रम दिवसले हामी सबैलाई यसतर्फ अग्रसर गराउने छ । आर्थिक अभियान
लेखक योजना आयोगमा कार्यरत छन् । 

Translate »